नेपाल संवत आन्दोलनमा पद्मरत्न

२०७५ कार्तिक २५ आइतबार १३:३९:०० मा प्रकाशित

“मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा ब्यस्त छु ।” नेपालको राजनीतिक, सामाजिक सांस्कृतिक, मानवाधिकार, आदिवासी जनजाति, नेपाल भाषा, नेपाल संवत र  नेवार आन्दोलनका एक “रत्न” पद्मरत्न तुलाधरले आफ्नोे पुस्तकमा यो वाक्य लेखेका छन् ।

“रत्न”–अर्थ हिरा, मोती, मुगा, नीर, मणि, सुन, चाँदी आदि । यस्तो “रत्न” को खानी भनेको कम मात्र हुने गर्दछ । नेपालका यस्ता “रत्न”– पद्मरत्नले उक्त पुस्तकमा लेखेका वाक्यहरुलाई वैज्ञानिक रुपले विश्लेषण गर्ने हो भने सायद संसारका एक  “रत्न” को रुपमा उनी पर्ने छन् । उनले नेपाल भाषामा लेखेकाले पनि हुनसक्छ त्यो कृति त्यति चर्चामा आउन सकेन । यदि अंगे्रजी भाषामा अनुवाद गरी त्यसलाई अरु पाठक सामु पु¥याउन सके पद्मरत्न “संसारका रत्न”को कोटीमा स्थापित हुन सक्ने छन् । यसै पनि पद्मरत्न अधिकारमुखी आन्दोलनबाट संसारका अधिकांश राष्ट्रमा प्रख्यात नै छन् । तर उनको अधिकांश लेख, पुस्तक अभिब्यक्त, मौनता, रोदन, संघर्षको नेतृत्व आदिका पाइलाहरुलाई विज्ञहरुले स्वतन्त्र रुपमा विश्लेषण गरे भने यथार्थमा“संसारका मानवको जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो ।”

पद्मरत्न तुलाधरले आफ्नो कृतिमा उल्लेख गरेका सन्दर्भहरु उनको ६० वर्ष भन्दा बढी समयको अधिकारमुखी आन्दोलनको अनुभव हो । उनले गरेका आन्दोलन मध्ये एउटा आन्दोलन– नेपाल संवत आन्दोलन पनि हो । नेपालमा राणा शासन विरुद्ध भएको भाषिक आन्दोलन आजसम्म पनि जारी नै छ । नेपाल भाषालाई राणाकालमा ब्यापक दमन गरियो भने पञ्चायतकाल पनि त्यसले निरन्ता पायो । जुन दमनको विरोधमा आजसम्म पनि नेवार समुदायले आन्दोलन जारी नै राखेका छन् । त्यसताका पञ्यायती सरकारले नेपाल भाषाको आन्दोलनलाई ब्यापक दमन गरेको थियो । नेपाल भाषाको अधिकारमुखी आन्दोलनलाई ब्यापक दमन भएपछि आन्दोलन बिस्तार गर्न पद्मरत्न लगायत नेवार नेताहरुले नेपाल संवतको नयाँ वर्षमा शुभकामना (“भिन्तुना”)को माध्यमबाट नेपाल संवत ११०० मा आन्दोलनको उद्घोष गरेका थिए । पञ्चायतकालमा राजनीतिक दलहरु प्रतिबन्ध भएको कारण सांगठनिक रुपमा भेला, सभा सम्मेलन आदि अधिकारको आवाज उठाउन संभव थिएन । त्यस्तो दमनका बाबजुद पद्मरत्न तुलाधर उनका शिक्षक भाषासेवी प्रेमबहादुृर कंसाकार लगायत नेताहरुले “भिन्तुना” आन्दोलन शुरुवात गरे । 

आजभन्दा ११३७ वर्ष अगाडि शंखधर साख्वाःले नेपालमा ऋणमा डुबेका नेपालीहरुको ऋणमोचन गरी नेपाल संवत स्थापना गरेका थिए । नेपाल संवत मल्लकालमा ब्यापक प्रयोग भए पनि राणाकालमा यस सम्बतलाई विस्थापन गर्न भारतका विक्रमाद्वित्यले स्थापना गरेको विक्रम संवतलाई प्रचलनमा ल्याईयो । उक्त कदमप्रति चित्त बुझाउन नसकेर त्यसताका पनि अग्रजहरुले राणाकालमा पनि नेपाल संवतलाई प्रतिस्थापन गर्न आन्दोलन गरेका थिए । यस आन्दोलन विशेष गरी उपत्यकामा केन्द्रित भएकोले यसको नेतृत्व नेवारहरुले नै गरे । नेपालमा राणा विरोधी आन्दोलन २००७ सालमा सफल भई प्रजातन्त्र आयो । तर नेपाल संवतलाई अंगिकार गर्ने सवालमा राजनीतिक नेतृत्वले चासो दिएनन् ।

२०१७ सालमा राजा महेन्द्रले पञ्चायत ब्यवस्था लागू गरेपछि राजनीतिक, भाषिक, सामाजिक, सांस्कृतिक आन्दोलनमा ब्यापक दमन शुरु भयो । दमनको विरोधमा पद्मरत्न तुलाधर लगायतका नेताहरुले नेपाल संवतको नयाँ वर्ष शुरु हुने कछलाथ्व पारुका दिन नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न नेपाल संवत ११०० मा सार्वजनिक रुपमा “भिन्तुना” जुलुसको आयोजना गर्ने ऐतिहासिक निर्णय नेपाल भाषा मंकाः खलः काठमाडौबाट घोषणा गरियो । त्यसबेला खलःका अध्यक्ष पद्मरत्न त्ुलाधर नै थिए ।

नेपाल संवतका सांगठनिक आन्दोलनको शुरुवात सोही दिनदेखि शुरु भयो र आन्दोलनको नेतृत्व पनि पद्मरत्नले नै गरे । नेवार समुदायको अधिकारमुखी आन्दोलनलाई सांस्कृतिक रुपबाट चेतनास्तर माथि उठाउन आव्हान गरेको शुभकामना आदानप्रदान ¥याली काठमाडौको थःहितिस्थित श्रीघः विहारबाट शुभारम्भ गरी सोही स्थानमा नै समापनि गर्ने योजना बनाएको थियो । तर न्हूँदको “भिन्तुना” आदानप्रदानको सांस्कृतिक जुलुसमा ब्यापक रुपमा नेवार नेता कार्यकर्ताहरु सहभागी हँुदा सो स्थान सानो महसुस भयो । साथै नेपाल भाषा मंकाः खलः काठमाडौको “भिन्तुना”  आदान प्रदानको प्रभाव काठमाडौंका साथै ललितपुर, भक्तपुर, थिमिसम्म पनि विस्तार भै सांस्कृतिक अभियानको शुरुवात भयो ।

नेपाल संवतको नयाँ वर्ष मनाउन उपत्यका तीन जिल्लामाा विभिन्न संघसंस्था, खलः पुचः र क्लब स्थापना गरी नेपाल संवतलाई राष्ट्रिय मान्यता मान्यता दिलाउन पञ्चायत सरकारलाई ब्यापक दवाब दिने कार्य भयो । पञ्चायती सरकारलाई ब्यापक दवाब महसुस भएपछि सरकारले नेपाल संवतका नाउँमा हुने सांस्कृतिक आन्दोलन र कार्यक्रममा समेत प्रतिबन्ध लगाउने प्रयास भयो । तर पटक पटकको दमन बाबजुद पनि नेपाल संवतको आन्दोलन उपत्यका लगायत उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरा आदि स्थानमा बिस्तार र सशक्त हँुदै गयो । सोही नेपाल संवतको सांगठनिक आन्दोलनको नेतृत्व पनि पद्मरत्न तुलाधरले गरेका थिए ।

शंखधर साख्वाः कसरी सार्वजनिक भयो

नेपाल संवतको सांगठनिक आन्दोलनको शुरुवात ने. संं ११०० शुरु भएपनि नेपाल संवतका प्रवर्तक को हो भन्ने चर्चा पनि शुरु भयो । नेपालमा प्रयोगमा रहेको विक्रम संवत भारतका विक्रमादित्यले स्थापना गरेको प्रचलनमा ल्याउनु भनेको राष्ट्रियतामाथिको हस्तक्षेप हो । त्यसकारण नेपालमा प्रादुर्भाव भएको नेपाल संवत नै ब्यवहारमा प्रयोगमा ल्याउन सकेमा राष्ट्रियता बलियो हुने बहस शुरुभयो । सो बहस बीच नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको  तथ्य बाहिर आउन थाल्यो ।

तर शंखधर साख्वाः को हुन, उनी कहाँको हुन, उनको अनुहार कस्तो थियो भन्ने चर्चाका बीच अन्वेषक एवं इतिहासविद् भूवनलाल प्रधानले नेपाल संवत प्रवर्तक शंखधर साख्वाः नै थिए । उनको ऐतिहासिक प्रतिमा पशुपति मन्दिरको दक्षिणपट्टि रहेको छ भन्ने तथ्य प्रमाण फेला पारे । सो प्रमाण  शंखधरको प्रतिमा कसरी सार्वजनिक गर्ने विषयमा पनि पद्मरत्न तुलाधर अध्यक्ष रहेको नेपाल भाषा मंकाः खःल काठमाडौंभित्र बहस शुरु भयो । त्यसबेला नेता तुलाधर र खलःका सचिव मल्ल के. सुन्दरबाट सांगठनिक रुपमा एउटा निर्णय गरी नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः हो । उनको प्रतिमा तस्वीर राखेर नेपाल संवतको क्यालेण्डर प्रकाशन गर्ने  जिम्मेवारी ल्याय्म्ह पुचः थिमिलाई दिइयो । 

ल्याय्म्ह पुचः थिमिलाई शंखधर साख्वाःको तस्वीर राखेर क्यालेण्डर प्रकाशन गर्ने जिम्मेवारी पाएपनि शंखधर साख्वाःको तस्वीर पशुपति भित्र पुगेर कसरी खिच्ने भनी थप चुनौति थपियो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको प्रतिमा पशुपति मन्दिरको दक्षिणमा छ भनी थाहा पाएपनि फोटो खिच्ने संभावना भएन । त्यसताका सार्वजनिक रुपमा समूह समूह भै भेला हुन नपाउने प्रतिबन्धको अवस्था थियो । तर पुचःका साथीहरुले पञ्चायती दमनको बाबजुद चुनौतिलाई सामना गरी कलाकार वत्सगोपाल बैद्यबाट शंखधर साख्वाःको तस्वीर स्केच गर्ने कार्य सम्पन्न भयो । पुलिस दमनको पनि सामना गरी शंखधर साख्वाःको स्केचलाई नेपाल संवत् ११०८ (२०४५) को क्यालेण्डर मार्फत सार्वजनिक भयो । 

पञ्चायत हटाउन नेपाल संवतको योगदान

पद्मरत्न तुलाधरले ब्यक्त गरेका थिए– “मानिसलाई आवश्यक थयार्थ, न्याय, अधिकार र स्वतन्त्रता खातिरका लागि मैले युद्धको परिचालन गरिरहेको छु ।”

पञ्चायतकालमा राजनीतिक पार्टी प्रतिबन्धित भएको अवस्थामा प्रतिबन्धित पार्टीको संगठन विस्तार र कार्यकर्ता परिचालन सा¥है कठिन कार्य   थियो । नेपाल संवतको सांस्कृतिक अभियानले नेपालका प्रमुख राजनीतिक पार्टीहरुले “भिन्तुना” आदान प्रदान मार्फत भेला हुने, संगठन बिस्तार र राजनीतिक चेतनास्तर माथि उठाउने कार्य गरेका थिए । नेपाल संवतको  सांस्कृतिक आन्दोलन देशभर बिस्तार र बिकास हुँदै आखिर पञ्चायती ब्यवस्था परिवर्तनमा समेत नेपाल संवत आन्दोलनको प्रभावले भूमिका खेल्यो । राजनीतिक दलका नेताहरुले पनि नेपाल संवतको नयाँ वर्षको सांस्कृतिक जुलुश मार्फत पार्टीको सन्देश जनता सामु पु¥याउने काम भयो । अन्तत २०४६ सालमा पञ्चायती ब्यवस्था अवसान भई बहुदलीय प्रजातन्त्र प्रादुर्भाव भयो । 

नेपाल संवत अभियानमा प्रधानमन्त्री

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल संवतको सांगठनिक आन्दोलनमा नेपाल सरकार पनि क्रमबद्ध रुपमा सहभागी गराउन नेता पद्मरत्नले भूमिका खेलेका थिए । २०४६ सालमा प्रजातन्त्र आएपनि नेपाल संवतको बिकास र बिस्तार भै नसकेको अवस्थामा नेपाल संवतको सांठगनिक आन्दोलनका नेता तुलाधरले सरकारका प्रधानमन्त्रीलाई नेपालभाषा मंकाः खलः काठमाडौंको आव्हानमा नेपाल संवतको नयाँ वर्षको अवसरमा बसन्तपुरमा आयोजना हुने सार्वजनिक कार्यक्रममा प्रमुख आतिथ्यता गराउने नीति व्यवहारमा ल्याए । सोही नीति कै आधारमा प्रजातन्त्रपछि बनेको सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी नेपाल संवतको अवसरमा “भिन्तुना” आदानप्रदान गरियो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट शुरु भएको यो अभियान त्यसपछिका प्रधामन्त्रीहरु गिरिजाप्रसाद कोइराला,   मनमोहन अधिकारी, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओलीले निरन्तरता दिइरहेका छन् ।

शुभकामना दिने परम्पराको थालनी भएपनि सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता भने दिएन । संयोगवश नेपाल संवत ११२० (२०५६) मा ल्याय्म्ह पुचः थिमिको १५ औं स्थापना दिवसको अवसरमा प्रकाशित “ल्याय्म्ह” मध्यपुर थिमि चिनारी पुस्तकको विमोचन समारोहमा सहभागी हुन पुगेका नेपाली कांगे्रसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले समारोहमा बोल्दै घोषणा गरेका थिए– मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन पहल गर्ने छु । उनले घोषणा गरेको केहि दिनमा नेपाल संवत ११२० कछलाथ्व दशमी (२०५६)मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषदले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई “राष्ट्रिय विभूति” को मान्यता दिने निर्णय गर्यो । 

संक्रमणकालमा शंखधरको प्रतिमा 

त्यसताका नेपालमा २०५१ सालदेखि माओवादी द्वन्द चलिरहेको ६ वर्ष पुगेको थियो । द्वन्द बीच पनि नेपाल संवतको आन्दोलनले भने आफ्नो गति लिइरह्यो । सरकारले शंखधर साख्वाःलाई “राष्ट्रिय विभूति” घोषणा गरेपछि  मध्यपुर थिमि नगरपालिकाको बोर्ड बैठकले साख्वाःको प्रतिमा स्थापना गर्ने निर्णय गरी बजेट ब्यवस्था गरियो । उक्त निर्णय अनुसार प्रतिमा स्थापना गर्न नगरपालिकाले जनस्तरलाई जिम्मेवारी दियो । जनस्तरलाई जिम्मेवारी दिइपछि नेपाल संवत ११२१ (२०५८) मा राष्ट्रिय विभूति शंखधर प्रतिमा स्थापना गर्न जग राख्ने कार्य भयो । जुन समय भनेको माओवादी द्वन्दको कारण देशमा संकटकाल घोषणा भैरहेको थियो । त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।

तर पनि नेपाल संवतको आन्दोलनले द्वन्दको परवाह नगरी तीन महिनाभित्र जनस्तरबाट नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा नेपाल संवत ११२२ कछलाथ्व पारु (२०५८ मंसीर २)का दिन प्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण गरे । शंखधर साख्वाःको प्रतिमामा माल्यार्पणको शुरुवात पनि भयो ।

त्यस समयमा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा स्थापना गर्ने कार्यमा मात्र सीमित भएन २०६० सालमा सरकारबाट राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा अंकित हुलाक टिकट पनि प्रकाशन भयो । त्यसबेला नेता तुलाधरले भनेका थिए– अव हरेक वर्ष नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा मल्र्यापण गरी नेपाल संवतको नयाँ वर्ष शुभारम्भ भएको सन्देश दिनुपर्दछ । त्यस माल्र्यापण कार्यक्रमको शुरुवात भने ने. संं ११२४ मा  नेपालभाषा मंकाः खलःको अध्यक्ष रुपमा तुलाधरले नै गरे ।

जनस्तरबाट थिमिमा प्रतिमा स्थापना गर्न गठित  प्रतिमा निर्माण समिति भने ने. संं ११२५ (२०६२) देखि राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, थिमि भक्तपुरको नामबाट नेपाल संवत र शंखधर साख्वाःको योगदानबारे प्रचार प्रसार भैरहेको छ । प्रतिष्ठानका सल्लाहकारका रुपमा पद्मरत्न रहिरहेकै थिए । उनले नेपाल संवत आन्दोलनको सांगठनिक नेतुत्व गरेकाले उनको योगदानको कदर गरी ने. सं. ११३२ (२०६८) मा प्रतिष्ठानबाट “शंखधर सम्मान” प्रदान गरियो । तर उक्त सम्मान उहाँले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने चिन्ता शुरु भयो । २०६२÷६३ को जनआन्दोलन पछि गठित गणतान्त्रिक सरकारले २०६७ सालमा राष्ट्रपतिबाट प्रदान गरिने नेपालरत्न र राष्ट्र गौरब पछिको सबैभन्दा अग्रपंक्तिको मानपदवी समेत तुलाधरले बहिष्कार गरेका थिए । तर ती मानपदवी बहिष्कार गरेपनि प्रतिष्ठानको “शंखधर सम्मान” भने तुलाधरले स्वीकार गरे । सो सम्मान प्रतिष्ठानद्वारा आयोजित ने.संं ११३२ (२०६८)मा समारोहमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदान गरेका थिए । 

नेपाल संवतलाई राष्ट्रिय मान्यता

पद्मरत्न तुलाधरले पटक पटक भनेका थिए–  “नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिनुपर्दछ भनी हामीले आवाज उठाएको बषौं भैसक्यो, सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा त गर्यो तर नेपाल संवतलाई राष्ट्रिय मान्यता दिएको छैन ।” कतिपयले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नु नै नेपाल संवतलाई मान्यता दिइएको सरह हो भनी ब्याख्या गरे । नेता तुलाधर भने त्यस कुरामा सन्तुष्ट थिएनन् । त्यहि क्रममा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई वर्खास्त गरी शासन सत्ता आफैंले सम्हाले । नेपालमा माओवादी जनयुद्धसँगै राजनीतिक दलहरुले राज्य पुनसंरचना सहितको समावेशी लोकतन्त्र माग गरी जनआन्दोलन शुरु गरे । जनआन्दोलन चरम उत्कर्षमा पुग्यो देशमा लामो समय कफ्र्यु जारी भयो । उक्त कफ्र्यु तोड्ने कार्यमा मानवाधिकारीवादी र नागरिक आन्दानेलनका नेताका रुपमा तुलाधरले नेतृत्व गरे । उहाँ लगायत नेवाः देय् दबूका अध्यक्ष मल्ल के. सुन्दरसँगै धेरै मानवाधिकारीवादी र नागरिक अगुवाहरुलाई महाराजगञ्जबाट गिरप्mतार गरी भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी क्याम्पमा बन्दी अवस्थामा राखियो । उपत्यकामा नेवार नेता कार्यकर्ताहरु पनि आन्दोलनमा ब्यापक सहभागिता जनाउँदै सडकमा प्रदर्शन गरे ।

जेलमा नेपाल भाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधर र नेवाः देय् दबू का अध्यक्ष मल्ल के सुन्दरले भेट गर्ने जिम्मेवारी नेपाल संवतका अभियन्ताको रुपमा मैले निर्वाह गर्नुपर्ने भयो । त्यसबेला नेता तुलाधार र नेता मल्ल के. सुन्दरले राज्य पुनसंरचना सहितको समावेशी लोकतन्त्र सफल बनाउन जारी गरेको प्रेस विज्ञप्ति लिएर म बाहिर आएँ । पत्रपत्रिकमा प्रेस विज्ञप्ति पु¥याउन गएँ । अन्ततः जनआन्दोलन सफल भइ लोकतन्त्र पनि आयो । अन्तरिम संविधान जारी भयो । गणतन्त्र स्थापना भयो । गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत ११२८ (२०६५) मा नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्राप्त भयो । यस कार्यमा पनि पद्मरत्नको भूमिका महत्वपूर्ण  रह्यो ।    

  पाठ्यक्रममा नेपाल संवत

गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतबाट सार्वजनिक रुपमा प्रधानमन्त्रीको लेटर प्याडमा नेपाल संवत प्रचलनमा ल्याउने भनी घोषणा गरेका थिए । उनले पाठ्यक्रममा पनि समावेश गर्ने घोषणा गरे । घोषणा कार्यान्वयन नभएपछि ब्यापक रुपमा तुलाधरले प्रधानमन्त्री कोइरालाको आलोचना गरे । अन्तत ने. सं. ११३१ (२०६७) मा नेपाल संवत र शंखधर साख्वाःको बारेमा पाठ्यक्रममा समावेश भयो । देशका प्रधानमन्त्रीहरुले पनि नेपाल संवतको नयाँ वर्षको उपलक्ष्यमा दिइने शुभकामना सन्देशमा नेपाल संवतको तिथि प्रचलन शुरु भयो । यस अभियानमा पनि पद्मरत्नको योगदान अबिष्मरणीय रहेको छ ।

त्यसकारण नेपाल संवतको सांगठनिक आन्दोलनमा उनको योगदान भनेको उनले अनुभवको आधारमा ने. संं ११३२ मा लेखेको पुस्तकमा जस्तै– “मेरो जन्म मृत्युको विरुद्ध युद्धको एक घोषणा हो । आजसम्म म यही न्याय र सत्यताका लागि गरिरहेको युद्धमा ब्यस्त छु । यस युद्धमा अवश्य पनि म नै जित्ने छु– यहि आशामा हो म बाँचिरहेको छु ।”

(लेखक श्रेष्ठ पत्रकार तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका सचिव हुन् । )
 

ताजा खबर