यात्रुलाई किन सास्ती दिंदैछ बुद्ध एयर ?

२०७५ कार्तिक २५ आइतबार ११:३६:०० मा प्रकाशित

 काठमाडौं, २५ कात्तिक । आन्तरिक उडानमा अब्बल मानिएको बुद्ध एयरले यात्रुलाई अनावश्यक दुख दिन थालेको बुझिएको छ । दुईवटा जहाजबाट हवाई क्षेत्रमा प्रवेश गरेको बुद्ध एयरले तुलनात्मक रुपमा छोटो समयमै आन्तरिक हवाइ यात्रामा लोकप्रियता आर्जन गरेको छ । उसले अपनाएको व्यवसायिक योजनाले वर्षैपिच्छे आम्दानी बढाउँदै लगेको छ भने नयाँ जहाजहरु समेत थपेर सेवा बिस्तार पनि गरेको छ ।

 तर पछिल्ला वर्षहरुमा भने बुद्धले यात्रुको सेवा र सुविधामा अलिक उदासिनता देखाउन थालेको गुनासो सुनिन थालेको छ । यसैपालीको दशैंमा एकैदिन धेरै यात्रु उडाएको कीर्तिमान बनाएको बुध्दले आफ्नो व्यवसायिक सफलता सार्वजनिक गरेको थियो । तर उसले कात्तिक २२ गते काठमाडौंबाट भरतपुर जाने यात्रुलाई सास्ती दिएको गुनासो एक पीडित यात्रुले सुनाएका छन् ।

त्यसदिन १०ः१५ को फ्लाइटबाट भरतपुर जान लागेका ती यात्रुले २ घण्टा अनावश्यक पर्खनु परेको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले बुद्धले सधैंजसो कम्तिमा पनि एक घण्टा ढिलो फ्लाइट गर्ने गरेको भएपनि त्यसदिन झण्डै २ घण्टा आफूलाई सास्ती दिएको सुनाए । उनी भन्छन्, ‘१ घण्टा अगाडि एयरपोर्ट आइपुग्नु पर्ने, अनि २ घण्टा यहाँ एयरलायन्सले कुराउने ।’ भरतपुर मात्र होइन विराटनगर, धनगढी र भद्रपुरमा पनि यहि समस्या रहेको बुझिएको छ ।

  पोखराको उडानमा भने यो समस्या तुलनात्मक रुपमा कम रहेको थाहा भएको छ । यसको खासकारण विदेशी यात्रु बढि हुनु हो भन्ने थाहा भएको   छ । नेपाली यात्रुलाई ४२०० रुपैयाँ पर्ने टिकटको मूल्य विदेशीलाई १२५ अमेरिकी डलर लिने गरेकोले पनि बढी नाफाको लोभमा बुद्धले अन्तको फ्लाइट रद्द गरेर भएपनि पोखरामा फ्लाइट थप्ने गरेको थाहा भएको छ ।  

त्यस्तै सोही दिन २ः३० को फ्लाइटमा भरतपुर जानलागेका एक यात्रुका अनुसार बुद्ध एयरले फ्लाइट रद्द नै गरेको थियो । उनले तिहार मनाउनको लागि १० दिन अघि टिकट लिएको तर एयरलायन्सले एयरपोर्टमा ३ घण्टा कुराएर अन्तिममा फ्लाइट रद्द गरेको गुनासो पोखे ।  

विगतमा यात्रु सेवामा अब्बल रहेको बुद्ध एयर पछिल्लो समय ढिलो फ्लाइट गर्ने र यात्रु कम हुनासाथ उडान नै कटौती गर्ने जस्तो नाफाखोर प्रवृत्ति देखाउने गरेको ट्राभल एजेन्सी संचालकहरु बताउँछन् ।
 

ताजा खबर