जीवनमा के के त्याग गर्दा के पाईन्छ

२०७५ कार्तिक २४ शनिबार ०९:२२:०० मा प्रकाशित

त्यागको ठूलो चर्चा हुन्छ । त्यागबाट मोह नाश हुन्छ भन्ने मान्यता छ । तर त्याग्नको लागि आफूसँग हुनुप¥यो । त्याग्न जरुरी छ । त्याग्ने अभ्यास हुनुपर्छ । एक–एक कुरा गरेर छोड्दै छोड्दै जानु छ । किनभने अन्तिममा शिवस्वरुपमा आफूलाई लिएर जानु छ । यी बिकारहरु लिएर जान सकिन्न । मेरा कमाइहरु लिएर जान सकिन्न । किनभने मेरा प्रत्येक कमाइहरुमा अहं हुन्छ । अहंकार हुन्छ । मैले गरेँ भन्ने हुन्छ र यो अहंले अवरोध हुन्छ । त्यसैले त्याग्नुपर्छ । मेरा सबै कृत्यहरु त्याग्दै–त्याग्दै जाऊँ, सुध्द हुँदै जाऊँ र अन्तिममा मेरो कमाइ केही पनि बाँकी नबसोस् । मैले यति चाहिँ कमाएर लिएर आएँ भन्ने नै नहोस् । सबै खाली बनाऔं ।

मेरा कुनै पनि कार्य, कुनै पनि कर्मका फलहरु मेरो साथमा छैन, सबै कर्मफलहरु मैले त्यागिदिएँ । पाप त ल्याइनँ छोडेँ छोडेँ, पुण्य पनि लिएर आइनँँ किनभने पुण्य मेरो साथमा गयो भने मलाई अहं हुन्छ । यो पुण्य मैले कमाएको हो नि । मैले आफ्नो भलाइमा प्रयोग गरेको छु । यसले अहं हुन्छ । यो अहंले हामीलाई सत्यको नजिक जान दिँदैन । त्यसैले पुण्य पनि सबै त्याग्नु छ । पूजा पनि त्याग्नु छ, पाठ पनि त्याग्नु छ, मन्त्र, जप सबै कुरालाई त्याग्नु छ । अशुभलाई त त्याग्यौंत्याग्यौं, शुभलाई पनि छोड्नु छ र निर्मल, कञ्चन बन्नु छ । शिवोहम्, शिवोहम्, शिवस्वरुप ।

यदि आफू शिवस्वरुपमा उपलब्ध हुनु छ भने यी मोहका तानावानाहरुलाई त छोडेर जानुपर्छ । यी अहंकारका क्षेत्रहरुलाई त घटाउँदै–घटाउँदै जानुपर्छ । त्यसकारणले आफ्नो सबै कृत्यहरुलाई त्यागौं । तर हामीले यसलाई बुझ्न सकेनौं । जे कमाएकै छैन, त्यसलाई त्याग्न खोज्यौं । मैले सम्पत्ति कमाएको छु भने अनि न त्याग्ने । जोसँग एक रुपैयाँ छैन उसले के त्याग्ने ? कमाएकै छैन उसले के त्याग्छ ? त्यागको मजा कसरी लिन  सक्छ ? र त्यो मोहलाई कसरी काट्न सक्छ ? मोह बन्यो भने न त्यसलाई हटाउन सकिन्छ कि सकिँदैन, परीक्षण हुन्छ । मसँग धेरै पैसा छ भने म यो पैसा त्याग्न सक्छु कि त्याग्न सक्दो रहेनछु, परीक्षण हुन्छ । आफ्नो जाँच हुन्छ । त्यत्रो पैसै कमाएको छैन अनि त्यागको कुरा हुन्छ । त्याग्नुपर्छ सब त्याग । ईश्वर भेटिन्छ । कमाइ भए पो त्याग्नु ? पूजा गरेको भए पो पूजालाई त्याग्नु, प्रार्थना गरेको भए पो प्रार्थनालाई पनि छोड्नु, मन्त्र जप गरेको भए पो मन्त्रलाई छोड्नु, केही गरेकै छैन, कसलाई छोडौं ? त्यसैले धर्मको पहिलो शुरुवात पूजा, प्रार्थना हो । 

शुरुमा मन्दिर स्थापना गर्नुपर्छ । पूजा गर्नुपर्छ । अनि पूजा छोड्न पनि मजा आउँछ । अनि परीक्षण गरौं आफूलाई, म पूजा छोड्न सक्छु कि सक्दिनँ । पूजाले मलाई खिचेको त छैन, एउटा बन्धन त भएन । पहिले मलाई अवगुणहरुको बन्धन थियो । नराम्रा कामहरुले बाँधिएको थिएँ । म पहिला दानवीय कर्मको बन्धनमा थिएँ । अब म सत्वगुणहरुको बन्धनमा त परिनँ । अब म देवताहरुको बन्धनमा त परिनँ । आखिर बन्धन त बन्धन हो । अशुभको बन्धन पनि बन्धन नै हो, शुभको बन्धन पनि बन्धन नै हो । त्यो दुईटैले बाँध्छ । दुईटैमा हामी अड्किएर बस्छौं । यो शुभबाट पनि हट्यौं, आपूmलाई कञ्चन निर्मल बनायौं, कुनै पनि प्रकारको मेरो कमाइ रहेन, अशुभको कमाइ गरेको थिएँ, त्यसलाई त छोडिदिएँ, त्यागी नै दिएँ, अब अशुभ मलाई चाहिएन ।

म कसैको अपमान गर्दिनँ । कसैको चित्त दुःखाउँदिनँ । कसैलाई दुःख दिन्न । यो त मैले छोडिदिएँ । अब अरुलाई सुख दिने, सबैलाई भलाइ गर्ने, अरुको मान, सम्मान, इज्जत गर्ने मेरा स्वभावहरु थिएँ, यसबाट पनि मैले केही पाएँ । राम्रो गरेको छु भन्ने अहंकार बन्यो । यसलाई म छोड्न सक्छु कि सक्दिनँ ? परीक्षण गरौं । नराम्रो छोड्न अति सजिलो हुन्छ । राम्रो छोड्न अति नै कठिन हुन्छ । सबै कुरा त्यागेर गुरुको शरणमा पर्न गाह्रो त छ, तर पनि सजिलो छ । तर गुरुलाई छोडेर जान अति कठिन छ । सबै कुराहरुलाई त्यागेर भगवान्को शरणमा पर्न सजिलो छ । भगवानलाई त्याग्न अति नै कठिन छ । 

सबैभन्दा ठूलो बन्धन हो यो, अब यहाँबाट कसरी पार हुने होला ? यो भगवान्को, गुरुको मोहबाट कहिले मुक्त हुने होला ? र जुन दिन हामीले गुरुको मोहलाई पनि छोड्यौं, भगवान्को मोहबाट पनि मुक्त भयौं, अब मैले केही कमाएँ, मेरो कमाइ भन्ने साथमा जाँदै गएन, कुनै कमाइ छैन । अब मेरो कमाइ छैन, कर्मफल छैन, अब केको अहंकार ? 

पूर्ण रुपमा अहंकारको विसर्जन नै मुक्ति हो । कुनै चीजले हामीलाई बाँधेको छ भने अहंले बाँधेको छ । अहंकारबाट मुक्ति नै मुक्ति हो । अन्तिम अहंकारको म भक्त छु । म भगवान्को भक्त छु र मैले खूब भगवान्को पूजा गरेँ, प्रार्थना गरेँ, मैले केही शुभ गरें राम्रो गरें, यो राम्रो गरेको कारणले यो फल, यो सुख भोगिराखेको छु । यहाँबाट कडा अहंकारको जन्म हुन्छ । यो सबै राम्रो जति मेरो कमाइ हो । अब यहाँ ईश्वरको के काम ? सब कमाइ त मेरो हो । मै गर्न सक्छु । यहाँ प्रयास मात्रै महत्वपूर्ण भयो । यहाँ त प्रश्नहरुको ठाउँ नै रहेन र प्रयास पहिलो हो । प्रसाद अन्तिम हो । तर जसले प्रयास गरेन उसले प्रसादचाहिँ पाउँदैन । एक–एक श्रेणी भएर जानुपर्छ । पहिला खूब प्रयास गरौं अन्तिममा सबै प्रयासलाई त्यागिदिऔं । त्याग । अब प्रसादको प्रतीक्षा गरौं । सम्पूर्ण प्रकारका मेरा कमाइहरुलाई म त्याग्न सक्छु । यति हिम्मत छ, यति आँट छ भने यति मात्रै परमात्मा ज्ञानमा उपलब्ध हुन सक्छ । परम सुख आनन्दमा डुबुल्की मार्न सक्छ । यो त्याग गर्ने हिम्मत छ कि छैन ? जबसम्म मोह छ, कहाँको धन, जबसम्म म हुन्छु, त्यहाँसम्म ईश्वर हुँदैन । जहाँ म समाप्त हुन्छु अनि ईश्वर शुरु हुन्छ ।

अहिले म जस्तो अवस्थामा छु, यस्तो अवस्थामा मेरो र ईश्वरको भेट हुनै सक्दैन । कहिल्यै भेट्दैन र म भनेको के हो ? अहिले म जसलाई म भन्छु, यो सबै अहंकार हो । ‘म’ अहंकारबाट बनेको छ । यो अहंकार र ईश्वरको कहिल्यै भेट हुँदैन । जसरी अँध्यारो र उज्यालोको कहिल्यै भेट हुँदैन । जसरी उज्यालोको नजिक अँध्यारो आउन सक्दैन । त्यसैगरी परमात्माको नजिक अहंकार जान सक्दैन र मैले शुभ काम गरेर, मैले भगवान्को पूजा प्रार्थना, ध्यान गरेर मैले भगवान्लाई पाएँ भन्ने हो भने उसले भगवान्लाई त पाउँदै पाउँदैन । यो कुनै पनि कर्म अहंकारले गर्छ । मैले गरेर के पाउँछु ? जति पनि कामहरु हुन्छ, अहंकारले गराउँछ । कर्म गराउने नै अहंकार हो । अहंकार सकियो कर्म पनि सकियो । केही कर्म रहँदैन अनि ईश्वरको दुनियाँ शुरु हुन्छ ।

यसको अर्थ बाहिरबाट गर्ने काम रोक्नु भनेको हैन, मनले गर्ने काम रोक्नु भनेको हो, मेरो मनको अहंकार रोक्नु भनेको हो । आफ्नो  कर्मबाट अहंकार आउने हैन, अहंकार मनको भावबाट, बिचारबाट आउने हो । मैले गरेँ, मैले कमाएँ भन्ने भावबाट अहंकारको जन्म हुन्छ । त्यसैले त्यागको महत्व छ । तर त्यसले त्याग गर्न सक्छ, जुन व्यक्तिसँग छ, कमाइ गरेको छ । पहिला त खूब खूब कमाइ गर्नु छ । शुभकर्म गर्नु छ, पूजा गर्नु छ, प्रार्थना गर्नु छ, ध्यान गर्नु छ, गुरुको शरणमा जानु छ । सब कुरा गर्नु छ । गरिसकेपछि अहंकार नबनोस् भनेर आपूmले गरेका शुभकर्महरु पनि स्वाहा । होम गर्न तयार हुनुपर्छ । मैले गरेका सबै शुभकर्महरु यज्ञमा आहुति दिएँ । पहिला हरेक दिन यज्ञ गर्ने परम्परा थियो । भगवान्को पूजा ग¥यौं, स्तुति–वन्दना ग¥यौं, अनि होम ग¥यौं । यज्ञ ग¥यो, छोडिदियो । यज्ञको अर्थ थियो मैले गरेको सबै कर्महरु, धर्महरु पनि म लिएर जान्न, जे–जे गरें, जति शुभ गरें, ती सबै स्वाहा । होम गरौं । सबैलाई आहुति दिऔं । जसले आफूले गरेका पुण्य कर्महरुलाई पनि आहुति दिन जान्यो, यही व्यक्ति कर्मबन्धनबाट मुक्त भयो ।

हैन भने पहिला नर्कले समातेको थियो, पछि स्वर्गले समात्छ । पिँजडा त पिँजडा हो पहिला फलामको पिँजडा थियो, अब सुनको पिँजडा भयो । जो मानिस जेलमा छ, म सुनको जेलमा छु भनेर अहंकार गर्नुको के अर्थ भयो र ? फलामको होस् कि सुनको होस् जेल त जेल हो । यसैगरी यो सबै जेलबाट व्यक्ति मुक्त हुन सकोस्, त्यसैले यो त्यागको महिमा शुरु भयो । त्यागबाट समर्पण जन्मिन्छ । समर्पणबाट भक्ति जन्मिन्छ । जहाँ भक्ति, त्यहीँ ईश्वर प्रकट हुन्छ । यदि हामीलाई ईश्वरसम्मको यात्रा गर्नु छ भने पहिला खूब–खूब कर्म, कर्मबाट आएको फल त्याग्नु, कर्मफल त्याग पछाडि समर्पण, समर्पण पछाडि भक्ति, भक्ति पछाडि धर्म । 

हामी सबैलाई पनि आफ्नो अहंकारप्रति सजग हुने अवसर मिलोस् । हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस् ।

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतार गरिएको सामग्री)  
 

ताजा खबर