काठमाडौका ८० प्रतिशत घर नक्सा विपरीत

२०७४ श्रावण १४ शनिबार ०६:२९:०० मा प्रकाशित

काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकामा ८० प्रतिशत घर नक्सा विपरीत रहेको काठमाडौ महानगरपालिकाले जनाएको छ । निर्माण भइसकेका अधिकांश घरहरु नक्सा पासअनुसार नहुने, खाली ठाउँ नराखिने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरीत रहेको महानगरले जनाएको छ ।  
नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । 

धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्नका लागि १८ जना वडाका र १० जना केन्द्रका इन्जिनीयर खटिएका छन् । कामपामा दैनिक १० देखि १५ सम्म आवासीय र व्यावसायिक भवन निर्माण हुने गरेका छन् । निर्माण भएका केही घर मात्र कामपाले पारित गरेका नक्सानुरुप भएका तर धेरै आवासीय भवन नक्सानुरुप नभएकाले इन्जिनीयरलाई नियमित रुपमा निर्माणस्थलम खटाउन थालिएको कामपाका इ राम थापाले बताए । 


यसअघि कामपाले घर निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो । यसअघि निर्माण भइरहेका स्थानमा कोही व्यक्तिले उजुरी गरेमा मात्र कामपाले निगरानी राख्ने गरेको थियो । अब भने नियमित अनुगमन गर्ने र नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोकिने तथा अन्य कारबाहीको प्रक्रियासमेत अघि बढाइने छ । रासस 

ताजा खबर