चितवनमा  ८० करोडको बहुदेश्यीय धाम बन्दै

२०७५ कार्तिक २३ शुक्रबार १०:०४:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । 

भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ । 

यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए। निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उनको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा ८० लाख विनियोजन गरिसकेको छ । स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए। 

। साना–साना योजनाबाट मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको र यसका करीब ८० करोड लाग्ने अनुमान गरिएको छ । 

विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन् । 

गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ । ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडोमा कैलाश पर्वतको स्वरूप रहेको स्थानमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिने छ । मूर्तिसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ । 

दौडिन र साइकल चलाउन सकिने गरी तलाउको वरिपरि पाँच किलोमिटरको प्याराफिट बनाइने र त्यसमा आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिँदैछ । तलाउको छेउमा हात्ती, जरायोजस्ता जनावरका झुण्डका मूर्तिहरु पनि निर्माण गरिने छ । तलाउमा डुङ्गा सयरको व्यवस्था गरिने छ । यसअघि विसं २०६४ यता सो क्षेत्रमा ८० लाख खर्चेर दुई सभाहल, शौचालय, मठमन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष चुकेले बताए। 

सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर छन् । गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने र धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीयस्थलसँग जोडेर एकीकृत विकास गर्ने समेत योजना रहेको उनको भनाइ थियो । 

गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिकस्थल हो । पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रूपमा गणेशस्थान स्थापित भएको स्थानीयवासीले बताए । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशस्थान क्षेत्रलाई देवघाटपछिको दोस्रो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको बताईन् । मुख्य शहरी क्षेत्रको कोलाहाल छलेर उक्त ठाउँमा पुगेपछि छुट्टै शान्तिको अनुभूति हुने गरी विकास गरिने उहाँको भनाइ थियो । गणेशस्थान क्षेत्र नारायणगढ र भरतपुरको निकट छ । गणेशस्थान नजिकै बागेश्वरी र देवघाट क्षेत्रसमेत छ । 

उक्त समितिका अध्यक्ष चुकेले गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरी गरी सर्वसाधारणबाट सहयोग जुटाउन लागिएको बताए। महायज्ञबाट २० करोड हाराहारी सङ्कलन हुने अपेक्षा गरिएको छ । यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको हो । (राससमा नारायण अधिकारीको रिपोर्ट) 

ताजा खबर