यहाँ छ उदाउँदो र अस्ताउँदो सूर्य दर्शन गर्ने ठाउँं

२०७५ कार्तिक १६ शुक्रबार १६:३२:०० मा प्रकाशित

इलामको सिद्धिथुम्का चुली । चर्चा कमाए पनि सोचेजसरी पर्यटक भित्र्याउन नसकिरहेको स्थान । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने चुली भएपनि यहाँ आइपुग्न कच्ची बाटो भएको र राजमार्ग तथा सदरमुकामबाट केही टाडा रहेकोले अहिलेसम्म कमै मात्र पर्यटक भित्रिने गरेका छन् ।

अब भने झापा र इलाम सदरमुकामबाट कार, भेन, स्कुटर जस्ता साना सवारी साधन समेत पुग्न सक्नेगरि बाटो बनिएकोले यहाँ आइपुग्न सहज भएको छ । सूर्योदय हेर्ने मुख्य मौसमको अवसर पारेर पर्यटक भित्र्याउन, सिद्धिथुम्काको प्रचार गर्न र स्थानीय आकर्षण देखाउन यहाँ आउँदो कात्तिक २५ गतेदेखि तीनदिने पर्यटन महोत्सव आयोजना गरिएको छ ।

सिद्धिथुम्काको मुख्य आकर्षण सिद्धिथुम्का चुली हो । समुद्री सतहबाट एक हजार ६९३ मिटरको उचाईमा रहेको यो चुलीबाट सूर्योदय, सूर्यास्तको दृश्य देखिनुका साथै विश्वको सर्बोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खला पनि देख्न सकिन्छ । त्यस्तै इलामका सबै भाग, झापा, सुनसरी, मोरङ, धनकुटा र पाँचथर जिल्लासहित भारतीय क्षेत्रका पनि केही भागको दृश्यावलोकन गर्न सकिन्छ । 


जम्बु र हिँगुवा प्रजातिका जङ्गलहरुको बीच सेता, ठूला ठूला दर्शन ढुङ्गैढुङ्गा रहेको चुलीबाट सूर्यको पहिलो किरण कञ्चनजङ्घा हिमालमा देखिन्छ । त्यो देखिने चाँदको दृश्यसँगै सूर्योदयका बेला सूर्य कोक्रो, सामुद्रिक छाल, घैला, टोपी सँगसँगै विभिन्न आकृतिको रुपसहित १० देखि २० मिनेटसम्म अलौकिक अनुभूति मिल्ने गरेको दृश्यावलोकन गरिसकेका पर्यटक र स्थानीयको अनुभव छ ।

सिद्धिथुम्का पर्यटकीय क्षेत्रमा चुली सँगसँगै अन्य धेरै पर्यटकीय आकर्षण रहेका छन् । चुलीमै राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले यज्ञ लगाएको यज्ञकुण्ड तथा प्रसिद्ध सिद्धिदेवी स्थानसँगै रहेको चुलीको ठूलो दर्शन ढुङ्गोलाई अनौठा जातका भमराहरुले परिक्रमा गर्दछन् । चुलीबाट साँझमा सूर्यास्त पनि मनमोहक रुपमा देख्न सकिन्छ ।


सिद्धिदेवीस्थान रहेको ढुङ्गामा स्थानीय बासिन्दाले घरमा गाई ब्याएपछि त्यस गाईको दूध लगेर चढाउँछन् । यसले पशुहरुमा आरोग्यता, समृद्धि र सिद्धि प्राप्त हुने विश्वास रहीआएको छ । सिद्धिथुम्कामा पर्यटकलाई पहिलो स्वागत गर्ने स्थल पञ्चमी बजार रहेको छ । यो यहाँको ब्यापारिक केन्द्र पनि हो । बिहीबार हटिया लाग्ने यो बजारमा पर्यटकहरुलाई राख्ने हामस्टे पनि रहेका छन् । होटल लज समेत रहेको पञ्चमी बजार आसपासका अन्य स्थानीय घरहरु पनि होमस्टेको रुपमा पर्यटक राख्न सक्नेगरि ब्यवस्थित गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।


सिद्धिथुम्कामा रहेको खान्द्रुङ गुफाभित्र ओडार र सुरुङ छ । यहाँ ढुङ्गाका बनौटहरु पनि छन् । गुफाभित्र ५० मिटर भन्दा बढी लम्बाईका पाँचवटा सुरुङहरु रहेका छन् । यहाँ बैशाखे पूर्णिमामा पद्यसम्भव र नागदेवताको पूजा गरिन्छ । यो गुफा पञ्चमी बजारबाट ५०० मिटर दूरीमा रहेको छ ।
सिद्धिथुम्काको अर्को आकर्षण अजम्बरे डाँडा हो । पञ्चमी बजारबाट आधा घण्टा पैदल हिँडेर पुग्न सकिने यो डाँडाबाट इलामका सबै भाग, कञ्चनजङ्घा हिमाल, सगरमाथा देख्न सकिन्छ । त्यस्तै सिद्धिथुम्कामै रहेको देवीथुम्का डाँडा, किराँत धर्मावलम्बीको चाड उधौली उभौलीमा पूजा गरिने साकेला थान, फाल्गुनन्द माङ्हिम, पञ्चमी बजारबाट साढे चार किलोमिटर टाढा रहेको ५० मिटरजति अग्लो दुईतले पङ्खेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किरातेश्वर शिवालय मन्दिर पनि पर्यटकका आकर्षण बन्दै गएका छन् । 

त्यस्तै सिद्धिथुम्का चुली जाने बाटोको नजिकै पञ्चमी बजारबाट एक किलोमिटर माथि रहेको सानो गुफा आकृतिको ढुङ्गाको चेपबाट मानिसले फुकेजस्तो गरि तातो हावा जमिनबाट बाहिर निस्किन्छ । निरन्तर वाफ जस्तै हावा निस्कने यो अचम्मको दृश्य पनि यहाँ देख्न पाइन्छ ।


यीनै आकर्षणमा रमाउन सिद्धिथुम्काबासीले तीनदिने महोत्सव आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई निम्ता गरेका छन् । ब्यवसायिक पर्यटनको विकास गर्ने, पर्यटन गुरुयोजना बनाउन सहयोग गर्ने, स्थानीयको आयआर्जन बढाउने, पर्यटन प्रवद्र्धन दिगो बनाउने जस्ता उद्धेश्यसहित आयोजना गरिएको महोत्सवमा तीन दिन छुट्टाछुट्टै विशेष कार्यक्रमको पनि आयोजना गरिएको छ । पहिलो दिन कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती कार्यक्रमका साथ महोत्सव उद्घाटन गरिने भएको छ । त्यस्तै २६ गते राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको साँस्कृतिक कार्यक्रम गरिने छ भने २७ गते खेलकुद, साहित्यिक कार्यक्रम र सम्मान कार्यक्रमसहित महोत्सव समापन गरिने अध्यक्ष गुरागाईले बताए । 


‘आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौँ, सम्बृद्ध पर्यटनको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको आयोजना सिद्धिथुम्का पर्यटन विकास केन्द्रले गरेको हो भने देउमाई नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले संयोजन गरेको छ । देउमाई नपा ७ मा पर्ने सिद्धिथुम्का सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा अवस्थित छ । 

इलाम बजारबाट साढे ३८ किलोमिटर मोटरयात्रामा मेची राजमार्गको नेपालटार हुँदै देउमाई नपाको गाग्रे भञ्ज्याङको बाटो यहाँ आइपुग्न    सकिन्छ । त्यस्तै झापाको बिर्तामोडबाट इलामको दानाबारी, चिसापानी, सोयाक हुँदै ४८ किलोमिटर मोटरयात्रामा आइपुगिन्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म कालोपत्रे रहेको छ भने त्यहाँबाट सिद्धिथुम्काको बाटो हालैमात्र उन्नतिको सहयोगमा बनिएर साना सवारीसाधन पनि गुड्न सक्ने भएको छ । इलाम बजारदेखि नेपालटार हुँदै सिद्धिथुम्काको गाडि भाडा जीपमा २२५ रुपैयाँ र बिर्तामोडबाट दानाबारी चिसापानी हुँदै आउँदा २४० रुपैयाँमा सिद्धिथुम्काको पञ्चमी आउन सकिन्छ । 

त्यस्तै पञ्चमी आइपुग्न इलाम सदरमुकामबाट इलाम नपा ९ को भञ्ज्याङ, १२ को साङरुम्बा र ११ को सिद्धिथुम्का हुँदै सबै भन्दा छोटो दूरीबाट पनि गाडिमा पञ्चमी आइपुगिन्छ । यो बाटो मेची राजमार्गको भञ्ज्याङदेखि पञ्चमीसम्म १६ किलोमिटर कच्ची छ । सदरमुकामबाट जम्मा २२ किलोमिटरको गाडि भाडा १९० रहेको छ । 

आयोजक र स्थानीय सहयोगी संघसंस्थाहरु विद्यालय, सहकारी, उपभोक्ता समूहहरु तथा गैरसरकारी संघसंस्थाले पर्यटकलाई महोत्सवमा सहभागी भइदिन निम्ता दिएका छन् । उनीहरुले यहाँ आउन चाहने पर्यटकले ९७४२६१५१९९, ९८१७०८७२८६, ९८४२६९३५६२, ९८४४६४९९९२, ९८१५०६२४५६ र ९८६०७३७९२९ नम्बरहरुमा सम्पर्क गरेर आउँदा आउनुअघि आवश्यक पर्ने जानकारी दिन सकिने पनि बताएका छन् । (http://www.sandakpuronline.com मा रोहितचन्द्र भट्टराईको रिपोर्ट) 

ताजा खबर