किन सुस्तायो सौर्य एयरलायन्स ?

२०७५ कार्तिक १६ शुक्रबार १२:१०:०० मा प्रकाशित


काठमाडौं, १६ कात्तिक । नेपाल हवाइ बजारमा प्रतिस्पर्धा गर्न ३ वर्षअघि आक्रामक रुपमा आएको सौर्य एयरलायन्स अहिले सुस्ताएको छ ।  

निजी एयरलायन्समा खासै प्रतिस्पर्धामा नभएको अवस्थामा एउटा जहाजबाट उडान सुरु गरेको सौर्यले बुद्ध र यती एयरलायन्सको मनोमानी केहि हदसम्म तोड्दै प्रतिस्पर्धा सुरु गराउन सफल भएको थियो ।

सुरुको २ वर्ष यात्रुहरुमा राम्रै छाप छोडेपनि पछिल्लो समय कमजोर व्यवस्थापन र लगानी अपेक्षित बजार लिन नसकेको भन्दै नियमित रुपमा उडान रद्द गर्ने तथा उडान कटौती गर्ने जस्ता समस्याबाट गुज्रेपछि कम्पनीको शाख पनि गिर्दै गएको थियो । त्यसमाथी धनगढि जाने क्रममा जहाज चरासँग ठोक्किए पछि केहि दिन जहाज ग्राउन्डेड हुँदा सौर्य थप घाटामा गएको थियो ।

यसरी आर्थिक संकटमा पर्दै गएपछि सौर्य एयरलायन्सलाई पुरानो लगानीकर्ताले चीनमा व्यवसाय गर्ने श्याम अधिकारीको समुहलाई ६५ करोडमा बिक्री गरेको थियो । अधिकारी समुहले उक्त रकममा ५५ करोड बैंक ऋण सकारेको थियो भने १० करोड कर्मचारीको तलब र विमानस्थलको बक्यौता सकार्ने सम्झौता गरेको थियो । अधिकारीको समुहमा श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थी पनि रहेका छन् ।

नयाँ व्यवस्थापन आएपछि तीनवटा नयाँ सिआरजे–७०० जहाज थप्दै गन्तव्य बढाउदैं जाने लक्ष्य राखेको यो कम्पनी अहिले सुस्ताएको छ । दशैं तथा तिहार जस्तो हवाइ टिकटको उच्च माग हुने समयमा पनि सौर्यले खासै राम्रो व्यापार गर्न सकेन ।  

सौर्य भन्दा पछि आएको श्री एयरलायन्सले नेपालको आन्तरिक उडानमा यात्रुहरुमाझ राम्रो शाख कमाइराख्दा सौर्य भने खस्कँदो अवस्थामै रहेको छ । नयाँ लगानीकर्ता आएपछि आक्रामक रणनिती आउनुको साटो विगत जस्तै सुस्त रुपमा अघि बढेको छ ।

सौर्यले विगतमा दैनिक ३ उडानसम्म गर्ने गरेको विराटनगरमा अहिले २ उडान मात्र गर्ने गरेको छ भने, दैनिक न्यूनतम २ उडान भर्ने गरेको नेपालगंज, भैरहवा र भद्रपुरमा १ उडान मात्र गरिरहेको छ । त्यस्तै धनगढिमा पनि विगतमा दैनिक २ उडान सम्म गरेको सौर्यले अहिले त्यस क्षेत्रको उडान नै बन्द गरेको छ ।

उडान कम गर्नेमात्र होइन सौर्यले एयरपोर्टको वक्यौता तिर्न पनि आनाकानी गरिरहेको छ । करिब ३ करोड ७५ लाख बक्यौता रहेकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पटक पटक ताकेता गर्दा मुश्किलले १ करोड ७० लाख तिरेपनि अझै २ करोडभन्दा बढि बक्यौता रहेको छ ।

बक्यौता तिर्न अटेर गरेको भन्दै विमानस्थलले सौर्यको उडानलाई हाल दैनिक डेढ घण्टाको दरले कटौतीगर्ने बताएको छ । अहिलेलाई ७ दिनको म्याद दिइएको र आठौं दिनदेखि सौर्यलाई कारबाही सुरु गर्ने विमानस्थलले जनाएको छ । अझै अटेर गरेमा विस्तारै उडान कटौतीको समय बढाउँदै लगेर पूर्ण रुपमा उडान बन्द गराउने योजना रहेको पनि विमानस्थलले जनाएको छ ।   

सौर्य व्यवस्थापनले नयाँ जहाज खरिद प्रक्रियामा रहेको र ति जहाज आएपछि बजारमा आक्रामक रुपमा प्रवेश गर्ने बताइरहेको छ । तथापी व्यवसायीहरुको यो समुहको व्यवस्थापन यसरी फितलो देखिनु र सुस्ताउनुको पछाडि लगानीकर्ताको विवाद रहेको गाइगुइँ सुनिन थालेको छ ।

 

 

ताजा खबर