संघीयता र मुसाको कथा

२०७५ कार्तिक १३ मंगलबार १७:२४:०० मा प्रकाशित

एकादेशमा एकजना राजा थिए । लोभी । खञ्चुवा । एकदिन उसले आफ्नो भान्छेलाई आदेश दियो– ‘यो संसारमा सबैभन्दा सुगन्धित परिकार बनाएर मेरो हजुरमा उपस्थित गर ।’ भान्छेले आज्ञा शिरोपर गर्यो । परिकार तयार भयो । त्यसको सुगन्ध राजाको नाकभन्दा पहिले दरबारका मुसाहरुको नाकमा पर्यो । मुसाको ताँती लाग्यो । राजाले गाँस हाल्नुभन्दा पहिले मुसाहरूले राजाको थालमा आक्रमण गरे । राजा रिसाए । बैठक बोलाए । सोधे– ‘यी मुसालाई तह लाउन के गर्नुपर्ला ?’ दरवारीयाहरुले भने –‘बिरालो पाल्नुपर्छ महाराज ।’ महाराजले शहराभरिका बिराला खोजेर ल्याउने फरमान जारी गरे । दरबार बिरालाले भरियो । मुसाहरु भागे । यी नयाँ आगन्तुकहरुले राजाको तकिया र तन्ना च्यातच्युत पार्न थाले । राजाले आजित भएर अर्को बैठक बोलाए ।

‘यी बिरालाले सार्है नोक्सान गरे । के गरौँ ?’ दरबारियाले भने– ‘कुकुर पाल्नुपर्छ महाराज ।’ राजाले मुलुकभरिका कुकुर बटुलेर दरबारमा ल्याए । बिराला भागे । तर कुकुरहरुले राजाको गद्दीमा बिश्ट्याउन थाले । जहा हेर्यो त्यहाँ लींड । राजाले फेरि बैठक बोलाए । ‘कुकुरले साह्रै फोहोर गरे । के गर्ने होला ?’ दरबारीयाहरुले भने–‘अब सिंह पाल्नुपर्छ महाराज ।’ 

राजाले जंगलभरिका सिंह बटुलेर दरबारमाल्याए । जता हेर्यो त्यतै सिंह लम्पसार । दरबारिया डराएर हाजिर बजाउन छाडे । कामकाज ठप्प भयो । राजा दरबार छाडेर जंगल भागे । फेरि बैठक बोलाए । ‘सिंहका कारण राजकाज चलाउन मुश्कील भयो । दरबारमा बस्नै गाह्रो भयो ।’ दरबारीयाहरुले भने–‘सिंहलाई धपाउन हात्ती ल्याउनुपर्छ महाराज ।’

 राजाले जंगलभरिका हात्ती समातेर दरबारमा ल्याए । सिंहहरु दरबार छोडेर जंगल फर्किए । तर हात्तीहरुले दरबार भत्काउन शुरु गरे । राजा फेरि आत्तिए । बैठक बोलाए । ‘हात्तीहरुले दरबार भत्काउन आँटे, अब के गर्ने ?’ दरबारीयाहरुले भने–‘मुसा बोलाउनुपर्छ महाराज, हात्तीलाई मुसाले ठीक पार्छ ।’  यो कथा हो राजनीतिक सन्देशको । नेपालमा संघीयता नामको हात्ती ठीक पार्ने मुसो कहिले आउला ? (साभार राजेश मिश्रको फेसबूक)
 

ताजा खबर