वाइडबडी विमानले पाएन नयाँ गन्तव्य

२०७५ कार्तिक १३ मंगलबार १६:२९:०० मा प्रकाशित

काठमाडौं, १३ कात्तिक । नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले नयाँ गन्तव्य पाएका छैनन् । दुइटै वाइडबडी विमानले पुरानै गन्तव्यमा उडान गरिरहेका छन् ।

निगमले  ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ वाइडबडी विमान भित्र्याएको थियो । तिहार लगत्तै नयाँ गन्तव्यमा व्यवसायिक उडान गर्ने निमगले जनाएको थियो । तर, अहिलेसम्म नयाँ गन्तव्यको टुंगो लागेको छैन् ।

वाइडबडीलाई चीन, जापान, दक्षिण कोरिया, साउदी अरेबियामा व्यवसायिक उडान गर्ने लक्ष्य राखेको थियो । यि नयाँ गन्तव्यको टुंगो नलाग्दा पुरानै गन्तव्यमा उडान भइरहेको निगमले जनाएको छ । नयाँ गन्तव्यका लागि द्विपक्षीय छलफल भइरहेको निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।

अन्नपूर्ण १४ असारमा र मकालु विमान १० साउनमा काठमडौं अवतरण गरिएको थियो । अन्नपूर्णले १६ साउनदेखि कतारको दोहामा व्यावसायिक उडान शुरु गरेको थियो भने मकालुले भदौदेखि बैंककमा उडान गरिरहेको छ ।

यससँगै नयाँदिल्ली, बैङ्गलोर र मुम्बई, हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा निगमले उडान गर्दै आएको छ ।
निगमका बोइङ नाइन एसिबी–५७५, वाइडबडी ‘ए’ ३३०–२०० र एयरबस ३२० सिरिजका दुई जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको २४ अर्बमा खरीद गरेको हो । त्यस्तै, नौ विमानले आन्तरिक उडान गरिरहेका छ ।

अब निगमले पूँजी विस्तार बृद्धि गर्ने जनाएको छ । निगम संचालक समितिले पूजी बृद्धि गर्ने निर्णय गरेको हो । जसका लागि सरकारसँग २० अर्ब मागेको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ वटा वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

ताजा खबर