नागपञ्चमी , नागराज र श्रुहित

२०७४ श्रावण १२ बिहीबार १३:१९:०० मा प्रकाशित

मलाई सानैदेखि नागपञ्चमी मन पर्छ । 

विहानै घरको दैलोमाथि नागका कलात्मक चित्रहरु टाँसेको देख्दा खुब मन पथ्र्यो । हजुरआमा छँदा गोबरले टाँस्न लगाउनु हुन्थ्यो । मलाई गोबरले टाँसेको पटक्कै मन नपर्ने त्यसैले पिठो मुछेर टाँस्ने गर्थें । त्यो क्रम आजसम्म छँदैछ ।

मेरी आमा मलाई कर्मकाण्ड पढाउन चाहनुहुन्थ्यो । मलाई भने त्यसमा कहिल्यै रुची भएन ।

बुबा कहिलेकाहीं बेद, भागवत पढ्न जानुहुन्थ्यो । आफ्नै व्यवसायमा फुर्सद नहुने भएकाले मामाघरमा र अरु सिमित ठाउँमा मात्र उहाँ कर्मकाण्ड गर्नुहुन्थ्यो । आफ्ना यजमानको घरमा कुशेऔंशीमा कुश लगिदिने र नागपञ्चमीमा नाग टाँसिदिने काम त बुबाले गर्नै पथ्र्यो । तर बुबा व्यस्त भए समस्या हुन्थ्यो । त्यस्तो बेला इच्छा विपरित म जान्थें । नाग टाँसेपछि यजमानले सिदा र दक्षिणा दिन्थे । दक्षिणा पाउँदा त रमाइलो लाग्थ्यो तर सिदा बोकेर घर जान भने सारै दिक्क लाग्थ्यो । अझ कुनै साथीले जिस्काएर ‘टपरे’ भन्ने हुन कि भन्ने पीरलो हुन्थ्यो ।

त्यतिबेला धेरैजसोले हातले नागको चित्र बनाउँथे । अहिलेको जस्तो बजारमा नागको फोटो किन्न पाइदैनथ्यो ।

एकदिन कान्छाबुबाले नाग छाप्ने काठको छापा लिएर आउनु भएछ । त्यसपछि त हातले नागको चित्र लेख्ने झञ्जटै सकियो । नागपञ्चमीको केहीदिन अघि सेतो कागज र रातो मसी किन्ने र कान्छाबुबाको घरमा गएर नाग छाप्नु मेरो अघोषित ड्युटी नै हुन्थ्यो । पछि पछि त चरिकोटका धुलिखेले साहुहरुको पसलमा पनि नाग टाँसी दिन्थें । उनीहरुले दिएको दक्षिणा मेरो पकेट खर्च हुन्थ्यो ।

कामको सिलसिलामा चरिकोट छाडेको १९ वर्ष भयो ।

केही बर्ष पोखरा बस्दा मलाई छोरेपाटनको गुप्तेश्वर महादेव मन्दीरमा रहेको नागको मूर्ति विशेष लाग्थ्यो ।

म त्यहाँ दर्शन गर्न गैरहन्थें । नागका मूर्तिहरु किन किन मलाई आकर्षक लाग्छन् ।

२०६३ सालतिर काठमाडौंको महावौध्दमा एकजना व्यापारीसँग परिचय भयो । उनको नाम थियो — नागराज । 
उनलाई म सर्पको फणा जस्तो हात बनाएर जिस्काउँथें । बदलामा उनी सधैं मस्तसँग हाँस्थे । यो क्रम लगातार पाँच बर्षसम्म चल्यो । 
संयोग पनि गज्जबै भयो ।

२०६८ साल साउन २० गते विहान घरमा धुमधामसँग नागको पुजा गरियो । दश बजेतिर मेरो कान्छो छोरा श्रुहितको जन्म भयो ।   
त्यही साँझतिर नागराज हस्याङफस्याङ गर्दै मकहाँ आईपुगे। सधैंजस्तै उनलाई हातले सर्पको फणा बनाएर जिस्काएँ । उनले तत्कालै जवाफ दिए, अब मलाई नजिस्काउ । तिम्रै छोरा नागपन्चमीमा जन्मियो । अब उसैलाई जिस्काउ ।

त्यस दिन देखि उनलाई मैले जिस्काउन सकिन ।

अचेल नागराज नेपालमा छैनन् । खै किन हो उनले नेपाल छाडे।

यतिबेला म उनै नागराज सम्झिरहेको छु र मनमनै प्रश्न गर्छु –  नागराज दाइ , मलाई त अझै तपाईलाई नै जिस्काउन मन छ ? आउने होइन नेपाल ?

 


 

ताजा खबर