हामी  समृध्दिको लडाईं लड्न जन्मिएका हौं 

२०७४ श्रावण १२ बिहीबार १२:१८:०० मा प्रकाशित

यो देशमा धेरै राजनीतिक दलहरुले देश निर्माण गर्नका लागि दशकौंदेखि प्रयास नगरेका होइनन् । उनीहरुले पनि धेरै त्याग गरेका छन् । हामीले जति नै आलोचना गरेपनि वास्तविक्ता के हो भने अहिले पनि यो देशमा गोल घरमा जीवन बिताएका, वर्षैसम्म जेल बसेका नेताहरु छन् । ती नेताहरु नभइदिएको भए आज हामी यहाँ उभिएर लोकतान्त्रिक मूल्यमान्यतालाई अंगिकार गर्ने र सुसंस्कृत राजनीतिलाई प्रवर्धन गर्ने भन्दै नयाँ दलको घोषणा गर्न सक्दैन थियौं । त्यसो हुनाले उहाँहरुका यावत कमजोरीका बावजुद यी राजनीतिक दलहरुका नेताहरु प्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

मलाई एकजना साथीले सोध्नुभयो, तपाईँहरु केको लागि जन्मिनु भयो भनेर ? उहाँले के भन्नुभयो भने पहिला जति पनि राजनीतिक दलहरु जन्मिएका थिए उनीहरुको त एउटा पथ थियो । उनीहरुको त एउटा आदर्श थियो । तपाईहरु चाहिँ किन जन्मिनुभयो भनेर भन्नुभयो । मैले उहाँलाई भने, यसको लामो जवाफ दिने हो भने त्यस्तै जवाफ बनाउनु पर्यो । प्राज्ञिक व्यक्तित्वले जवाफ दिने हो भने त्यसबारे किताब निस्कन सक्छ । तर छोटकरीमा भन्ने हो भने आज हामीले परम्परागत राजनीति गरेका जति पनि दलहरु र नेताहरु हुनुहुन्छ उहाँहरु यो देशमा अधिकार स्थापित गर्नका लागि जन्मिनु भयो तर उहाँहरुले सम्वृद्धिको नेतृत्व गर्नसक्नु भएन । हामी सम्वृद्धिको नेतृत्व गर्न जन्मिएका हौं ।

 एक शब्दमा भन्दा उहाँहरु अधिकारको लडाईँ लड्न जन्मिनु भयो । हामी सम्वृद्धिको लडाई लड्न जन्मिएका हौं । सम्वृद्धिको लडाई त उहाँहरुले पनि लड्न सक्नुहुन्थ्यो नि भनेर धेरै साथीहरुले भन्नुभयो । सम्वृद्धिको लडाई लड्न त्यति सजिलो हुँदैन्थ्यो किनभने अधिकारको लडाई लड्न त हामी बाटोमा निस्कन सक्छौं । जेलमा कैयौं साथीहरु जानुभयो उहाँहरुलाई हामीले नमन गर्नुपर्छ । संसारमा पनि   अधिकारका लागि धेरै लडाई भएको छ । अधिकार प्राप्त भइसकेपछि अधिकारलाई सम्वृद्धिमा रुपान्तरण गर्न सक्ने स्थिति सृजना गर्न सकेमात्रै त्यहाँ अधिकारको जर्गेना हुनेछ । नत्र देश सधंै गरीब र सधंै अस्थिर हँुदोरहेछ । त्यसैकारणले हामीले यो विगतको २५ वर्षे अवधिमा जे देख्यौं, त्यसमा के प्रमाणित भएको महशुस हुन्छ भने उहाँहरुले अधिकारको लडाई लड्नु भयो तर सम्वृद्धिको लडाई अगाडि बढाउन सक्नुभएन र सक्नुहुन्न ।सम्वृद्धि भनेको ती नेताहरुको बिकासँंग मात्र जोडिएको छैन ।

डा गोविन्द केसी झण्डै तीन करोड नेपालीका लागि दश एघार चोटि कयौं दिन अनशन बस्नुहुन्छ। संसारमा उहाँजस्तो मान्छे भेट्टाउन निकै कठिन छ भन्छन्,मैले त सुनेको पनि छैन । उहाँले नाजायज माग राखेको भएदेखि त्यो भिन्दै कुरा हो । यहाँ नागरिक समाज र पत्रपत्रिकाहरुबाट पनि बिरोध हुन्थ्यो होला । उहाँका त्यस्ता जायज मागहरु धेरै चोटि सरकारले पुरा गर्छु भनेर भन्यो तर पुरा भएको छैन । यो के हो भने यो देशमा गोविन्द केसीको माग पुरा हुँदैन । यो देशमा यति धेरै नागरिक समाजको दवाब हुँदाहुदै, यति सञ्चार माध्यमहरुको दवाब हुँदाहुदै सुशिला कार्की जस्तो इमान बोकेको प्रधान्यायाधीश माथी दुई घण्टाभित्र महाअभियोग लाछ । यो देशमा सारा नागरिक समाजको दवाब हुँदाहुदै पत्रकारहरुको दवाब हुँदाहुदै महिनौंसम्म जसमाथी महाअभियोग लाग्नुपर्ने त्यो माथी महाअभियोग लाग्दैन तर महाअभियोगको तरवार आफ्नै टाउको माथि बज्रिने निश्चित हुन्छ तब एकै घण्टा भित्र महाअभियोग लाग्छ ।

यो देशमा अहिले पनि लगभग ७० प्रतिशत बिद्यार्थी फेल हुन्छन् । यदी ७० प्रतिशत बिद्यार्थीहरु फेल हुने हो भने कुनै पनि बिकसित देशमा शिक्षामन्त्रीको राजीनामा मात्र होइन सरकार नै ढल्ने अवस्था पनि आउँछ । तर हामीलाई पचीसक्यो । यो देशमा एक कक्षामा बाह्र–तेह्र जना बिद्यार्थी भर्ना हुन्छन् तर स्कुल छोड्ने बेला र जाँच दिने बेलामा पाँचजना मात्र हुन्छन् । हामीलाई कति सजिलो छ ।

यस्ता यति धेरै उदाहरणहरु छन् ,यति धेरै कुराहरु छन् । यो कुरा सुसंस्कृत राजनीति दिन सक्ने नेतृत्वले कहिँ पनि गर्दैन र अहिले निरन्तर रुपमा भएको भएकै छ हामीले जति गरेपनि । त्यसकारणले मैले भन्न खोजेको के हो भने हो उहाँहरुले अधिकारको लडाई लड्नु भयो अब हामी समृद्धिको लडाई लड्छांै किनभने नेपाल यति साधनसम्पन्न देश हो । मैले बारम्बार धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, यति सानो काठमाण्डौ उपत्यकाभित्र सातवटा बिश्व सम्पदामा सुचिकृत स्थानहरु छन् । हामीले खै मार्केटिङ गर्न जानेको । हामीसँग लुम्विनी छ । लुम्विनीमा दश बाह्र हजार पर्यटकहरु जान्छन् त्यसको आधा त नेपाली नै हुन्छन् । के पाँच छ हजार पर्यटक भित्र्याउन सक्ने क्षमता मात्र हो त लुम्विनीको । हामीसँग पशुपति छ । सीमापारी एक अर्व हिन्दू छन् । हामीले त्यसलाई मार्केटिङ गर्न जानेका छैनौं । संसारको सबैभन्दा ठूलो स्तुपामध्ये हामीसँग बौद्ध स्तुपा छ । त्यसलाई हामीले मार्केटिङ मात्र गर्न जान्यौ भने त्यो बेल्जियमको म्यागेजिक ब्रिक अथवा फ्रान्सको आइफल टावरको काम त्यसले नगर्ला भन्न सकिँदैन ।

हामी एउटा यस्तो स्थितिमा छौं कि आज मात्र एउटा रिपोर्ट निस्कियो त्यो रिपोर्टका अनुसार बिदेश जाने हाम्रा युवाहरु ३० हजार रुपैयाँ जम्मा गर्नका लागि दिनको १६ देखि १७ घण्टा काम गरिरहेका छन् । हामी नेपालीहरुले गर्व के को लागि गर्ने । हामीले कसको अगाडि गर्व गर्ने । ३० हजार कमाउनका निम्ति परिवारबाट टाढा पठाएर हामीले काम गराइरहेका छौं भने हामीले कसको लागि गर्व गर्ने । त्यसकारणले यसबारे जति चर्चा गरे पनि पुग्दैन । हामीले धेरै चर्चा गरिसकेका छौं । हाम्रो उदेश्य के हो भने हो यो देशमा अधिकार प्राप्त भयो तर सम्वृद्धिको हिसाबमा हामीले अधिकारको प्रयोग गर्न सकेनौं भने न त यो देशमा शान्ति आउँछ न त यो देशमा साँच्चैको अधिकारले राम्रोसँग जडा नै गाड्नसक्छ।

म अहिलेका राजनीतिज्ञहरुको धेरै आलोचना गर्न चाहन्न तर वास्तविक्ता के हो भने साझा पार्टीबाट उठाएका शहरी बिकास विज्ञ इमानका प्रतिक किशोर थापालाई हामीले राजधानीमा उम्मेदवार बनाउँदा उहाँले भन्नुभयो दुई वर्षमा यहाँ रेल ल्याउने कुरा होइन । यति समयमा त यसको डिटेल प्रोजेक्ट पनि बन्दैन भन्नुभयो । तर जसले दुई वर्षमा रेल ल्याइदिन्छु भन्नुभयो उहाँले जित्नुभयो र किशोरजीले हार्नुभयो । मैले एउटा अन्तर्वार्तामा पनि भने कि यो राजधानीले मुहार फेर्ने मौका गुमायो ।

अब यो देशले मुहार फेर्ने मौका नगुमाओस् भन्ने हाम्रो चाहना हो । त्यो चाहनाको लागि तपाईहरु र सारा यो देशका नागरिकहरुको बिश्वासको मत नै चाहिन्छ । यो सुन्दर काठमाण्डौको गौरव हामी स्थापित गर्न चाहन्छौ । नेपालको गौरवलाई हामी पुनस्र्थापित गर्न चाहन्छौं । हाम्रो जीवनकालमा यो देशको सम्वृद्धि सम्भव छ ।

(विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रले साउन ११ गते पार्टी एकिकरण कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश)

ताजा खबर