नेवानिले संखुवासभामा पनि उडान भर्ने

२०७५ कार्तिक ११ आइतबार १२:२३:०० मा प्रकाशित


काठमाडौं, ११ कात्तिक । नेपाल वायुसेवा निगम (नेवानि) ले पहाडी क्षेत्र संखुवासभाको तुम्लिङटारमा पनि उडान भर्ने तयारी गरेको छ ।

पछिल्लो समय आन्तरिक उडानमा गन्तव्य बढाउँदै लगेको नेवानिले उडान भरेमा संखुवासभाबासीलाई ठुलो राहत हुने स्थानियहरु बताउँछन् । हाल बुद्ध एयर र यती एयरलायन्सले यस क्षेत्रमा दैनिक १/१ उडान भर्दै आएका छन् ।

नेवानिले ५ वर्ष अघि संखुवासभामा उडान भर्ने गरेको भएपनि जहाजको अभावमा यो क्षेत्रको उडान कटौती गरेको थियो । पछिल्लो समय चीनीयाँ जहाजहरु आएपनि नेवानिले आन्तरिक उडानलाई बेवास्ता गर्दै आएको थियो ।

नेवानिको उपस्थितीले स्थानीयलाई आर्थिक सहुलियत हुने तथा जहाजको टिकट नपाइने समस्यामा राहत हुने विश्वास गर्दै संखुवासभा घर भइकी उर्मिला तामाङ भन्छिन्, ‘ संखुवासभा आउन वा जान १५–२० दिन अगाडि टिकट लिएमात्र हो, नत्र अकस्तामात् घर जान वा कोही बिरामी भइ काठमाडौं आउनु पर्दा जहाजको टिकट नै पाइँदैन ।’

उनि थप्छिन्, ‘मैले आजसम्म जहाज खाली उडेको देखे–सुनेको छैन, तैपनी एयरलायन्सहरुले फ्लाइट नथपेको देख्दा अचम्म लाग्छ । नेवानिको जहाज उड्न थाले हामीले विकल्प पाउँछौं ।’  

बुद्ध र यती एयरलायन्समा हाल संखुवासभाको हवाइ भाडा एकतर्फी ६२०० रहेको छ । तामाङ भन्छिन्, ‘यस्तो महँगो भाडा भएपनि भनेको बेला टिकट पाइँदैन । नेवानिले उडान भर्न थाले सस्तो टिकट पनि पाइन्थ्यो ।’

नेवानिले यसअघि विराटनगरबाट पनि संखुवासभाको लागि उडान भर्ने गरेको थियो । हाल उक्त फ्लाइटलाई पनि निरन्तरता दिने तयारी गरेको नेवानिले बताएको छ । तथापी यस क्षेत्रको लागि उडान तिहारपछि मात्रै संचालन हुने बताइएको छ ।

निजी क्षेत्रका एयरलायन्सहरु सुरक्षित गन्तव्यमा मात्र उडान भर्न अग्रसर हुने गर्दा पहाडी भेगका जनताहरु मारमा पर्दै आएका छन् । पहाडी क्षेत्रमा उडान भर्न जोखिम हुने भएकोले पनि विशेष गरी बुद्ध एयर यस क्षेत्रमा जाने गरेको छैन । सुरक्षित गन्तव्यमा एकछत्र राज गरेको बुद्ध एयरले पहाडी क्षेत्रलाई उपेक्षा गरेको छ । त्यस्तै यती एयरपनि पहाडी क्षेत्रमा नगएपनि यतीको भगिनि संस्था तारा एयरले भने पहाडी क्षेत्रमा उडान भर्दै आएको छ ।

 

ताजा खबर