चक्र दाईलाई दुई शव्द श्रद्धाञ्जली !

२०७५ कार्तिक ८ बिहीबार १४:०५:०० मा प्रकाशित

यसपटकको दशैँ अनौठो रूपमा रह्यो। १०५ वर्षका घिमिरे कुलका मूलपुरूष दशैँको टीकासम्म खुल्नेगरी स्वर्गारोहण हुनुभयो। त्यसको २ दिनपछि अर्को सानबा लोकनाथ बित्नुभयो। त्यसको चारदिन पछि चक्रप्रसाद बाँस्तोला बित्नु भयो। उहाँको स्वर्गारोहणले इतिहासका कठिन दिनको स्मरण गरायो। कठिन दिनहरूमा पनि थुप्रै बिकल्प लिएर बस्नसक्ने क्षमता थियो चक्र दाइसँग।

राजदरबार हत्याकाण्ड पछि नेपालमा अकल्पनीय घटनाहरू घटे। माओवादी हत्याहिंसाको आतङ्कले चुनावहरू हुनसकेनन्। कांग्रेस पार्टीको आन्तरिक बिवादले पार्टी फूट्यो। दाजुको वंशनास पछि राजनीतिक रूपमा राजा बन्नु भएका ज्ञानेन्द्र शाहले सम्पूर्ण शक्ति आफ्नो हातमा लिनुभयो। लोकतन्त्र समाप्त भयो।

नेपाली कांग्रेसको ११औ महाधिवेशनको समय आउदै थियो। कांग्रेसले लिनुपर्ने एजेण्डाका बारेमा नरहरि आचार्य र चक्र बाँस्तोला बहस गर्दै हुनुहुन्थ्यो। यस बहसमा भीमबहादुर तामाङ, राधेश्याम अधिकारी, शैलजा आचार्य, रामचन्द्र पौडेल, डा रामशरण महत, पूर्णबहादुर खड्का लगायत सहभागी हुनुहुन्थ्यो।

अबको अधिवेशनमा दोस्रो पुस्ता उम्मेदवार बन्नु पर्छ भनेर चक्र दाइले नरहरि दाइलाई भन्नुभयो। त्यसपछि को को बस्ने भन्ने कुरा भयो। चक्र दाइ र नरहरि दाइ, रामचन्द्र दाइ र शैलजा दिदी बस्ने तय भयो। स्थान चक्र दाइको निवासस्थान बन्यो। कुराको क्रम सुरू हुनासाथ शैलजा दिदीले भन्नुभयो रामचन्द्र दाइलाई, म नेपाली कांग्रेसको सभापति लड्ने हो। रामचन्द्र दाइले पनि तत्काल भन्नुभयो, तपाईं लड्ने भए ठिक छ, तपाईं नलड्ने भए म लड्छु।

बैठक सकिए पछि चक्र दाइले भन्नु भयो, यी दुबै चुनाव लड्दैनन्। यस समयसम्म गिरिजा बाबु फेरि सभापतिमा लड्ने नलड्ने टुङ्गो थिएन। चक्र दाइको आशय गिरिजा बाबु लड्छु भनेपछि दुबै लड्नु हुन्न हामीले दहर्याउदै ल्याउनु पर्छ उहाँहरूलाई। गिरिजा बाबु लड्छु भनेपछि शैलजा लड्नु हुँदैन, त्यसैले हामीले रामचन्द्रजीलाई दर्याउनु पर्छ चक्र दाइले भन्नु भयो। बैठकहरू क्रमशः चल्दै गए।

राजनीति एजेण्डा नरहरि दाइले संविधानसभा, संघीय लोकतान्त्रिक गणराज्य प्रस्तावका रूपमा केन्द्रीय कार्यसमितिको बैठकहरूमा पठाउनु भयो। गिरिजा बाबुले सभापतिमा उठ्ने इच्छा जाहेर गर्नु भयो। गिरिजा बाबु अधिवेशनमा सभापतिको उम्मेदवार हुने भएपछि शैलजा दिदी नलड्ने हुनुभयो। चक्र दाइ, नरहरि दाइ र रामचन्द्र दाइको चक्र दाइको निवासमा ठैठक भयो। रामचन्द्र दाइलाई सभापतिको उम्मेदवार बनाउन। रामचन्द्र दाइ निस्किसकेपछि चक्र दाइले नरहरि दाइलाई सोध्नुभयो। रामचन्द्रजी अडिन सक्नु हुन्छ। नरहरि दाइले भन्नु भयो, अडिन त उहाँ आफैं तयार हुनुपर्छ, हामीले अडाउने कुरा भएन। चक्र दाइले भन्नु भयो, हामीले दह्रो पनि बनाउँदै ल्याउनु पर्छ। यसमा चक्र दाइ र नरहरि दाइको कुरा मिल्यो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनमा राजनीतिक प्रस्तावका रूपमा संविधानसभा र लोकतान्त्रिक गणराज्यको प्रस्ताव पारित गर्यो। यो प्रस्ताव नरहरि आचार्यको भएपनि गिरिजा बाबु समेत सहमत हुनुभयो। यो एजेण्डा बोक्ने बैकल्पिक सभापतिको उम्मेदवारका रूपमा रामचन्द्र दाइलाई चक्र दाइ र नरहरि दाइ अघि सार्न खोज्दै हुनुहुन्थ्यो। 

यसै क्रममा एक दिन अन्य थप केही केन्द्रीय सदस्य सहित राधेश्याम अधिकारीको घरमा बैठक भयो। यस बैठकमा सभापतिको उम्मेदवार तय गर्ने थियो। डा रामशरण महतले भन्नु भयो, गिरिजा बाबुको बिकल्पमा अर्को हुनु हुँदैन। यसै पछि रामचन्द्र दाइले भन्नु भयो, अरू थप केन्द्रीय सदस्य सहितको टिम भए मात्र आफू उम्मेदवार बन्ने अन्यथा नबन्ने। यसपछि भीमबहादुर दाइले भन्नु भयो, टिम त तपाईंले बनाउने हो, हामी तयारै छौ। यो बैठक बिना निष्कर्ष सकियो। यता तर्फ अब हिजोदेखि तयार गराउँदै आएको भनेको सभापतिको उम्मेदवार सकियो।

अर्को दिन बैठक राधेश्याम अधिकारीको घरमा भयो। यस बैठकमा चक्र दाइले नरहरि दाइलाई भन्नु भयो। तपाईंको एजेण्डा यसै छोड्नु भएन तपाईं नै सभापतिमा लड्नु पर्यो भन्नु भयो। गगन थापा लड्न तयार भए महामन्त्रीमा लडे पनि हुन्छ भन्नु भयो। नरहरि दाइ र गगनजीका बिचमा अधिवेशन सम्बन्धी कुरा हुँदै आएको भए पनि यस किसिमबाट कुरा भएको थिएन। चक्र दाइले मलाई पूर्णबहादुर खड्कालाई फोन गर्न भन्नुभयो। पूर्ण दाइ अरू केही बैठकमा सहभागी पनि हुनु भएको थियो। पूर्ण दाइले मलाई ढिला भयो भन्नुभयो। अन्ततः नरहरि दाइ सभापतिमा उठ्ने निर्णयका साथ बैठक सकियो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पहिलो संविधानसभाको निर्वाचन घोषणा पत्र बनाउन चक्र दाइलाई संयोजकत्वमा नरहरि दाइ लगायतको समिति बनायो। नरहरि दाइ,  कृष्ण खनाल, अनिरुद्ध गौतम, पुरञ्जन आचार्य लगायत हामी गणराज्य अभियन्ताहरूले पनि कांग्रेसको घोषणापत्र बनाएका थियौं। गणराज्य अभियानको टिमले चक्र दाइसँग समय लिएर पार्टी अफिसमा गयौं। घोषणा पत्र निर्माण समितिका संयोजकलाई घोषणा पत्र निर्माण समितिका सदस्य एवं लोकतान्त्रिक गणराज्य अभियानका संयोजक नरहरि दाइले गणराज्य अभियानले बनाएको घोषणा पत्र हस्तान्तरण गर्नुभयो। पार्टीले बनाएको घोषणापत्र समितिले लोकतान्त्रिक गणराज्य नेपालले बनाएको घोषणलाई अझ स्पष्ट पार्दै निर्माण गर्यो। 

नेपाली कांग्रेसको १२औ महाधिवेशनका लागि नयाँ काग्रेस बनाउने कार्यक्रम सहितको भीमबहादुर तामाङ र नरहरि आचार्यको टिम बन्यो। यसलाई यो रूपमा निकाल्न पनि चक्र दाइको मुख्य भूमिका थियो। आज कांग्रेस हिँडेको बाटो निर्माणमा एक महत्वपूर्ण व्यक्ति चक्रप्रसाद बाँस्तोला हुनुहुन्छ। उहाँ आफ्नो कामले अमरत्व प्राप्त गरेको व्यक्ति हुनुहुन्छ। 

चक्र दाइको अभाव अरू कसैले पुरा गर्न सकिने होइन। तथापी, उहाँले देखाएको बाटोमा हामी कांग्रेसजन हिडौ, सहस्र बिकल्प बोकेर हिडौं ।

भाउजू कुसुमको समर्पण स्तुत्य रह्यो। जीवनको मूल्य र समर्पण भाउजूले सिकाउनु भएको छ। परिवारमाथि परेको यो बज्रपात सहन गर्न सक्ने क्षमता परमेश्वरले प्रदान गरून्।

भाउजु, छोरीहरू र परिवारमा समवेदना !

यिनै दुई शव्द श्रद्धाञ्जली चक्र दाइलाई !

ताजा खबर