तिहारमा ‘ग्रिन पटाखा’ आउँदै

२०७५ कार्तिक ८ बिहीबार १३:१२:०० मा प्रकाशित

काठमाडौं, ८ कात्तिक । दशैं सकिएसँगै तिहार नजिकिएको छ । दाजुभाइ, दिदीबहिनीको पर्वका रुपमा लिइने तिहारमा फूल, माला, दीयोसँगै पटाखामा पनि अनिवार्य जस्तै हुन्छ ।

लक्ष्मीपूजाको दिनदेखि नै पटाखा पट्काउन शुरु हुन्छ । यो वर्षको तिहारमा भने ‘ग्रिन पटाखा’ आउने भएका छन् ।

भारतको सर्वोच्च अदालतले यससम्बन्धी फैसला सुनाएसँगै नेपालमा पनि ‘ग्रिन पटाखा’ आउने भएका हुन् । सर्वोच्च अदालतले तिहारमा पटाखाको बिक्री वितरणमा बन्देज नलगाउन आदेश गरेको छ । यो आदेशसँग नेपालमा पनि भारतबाट सहज रुपमै पटाखा भित्रिने छन् ।

भारतीय अदालतले भनेको छ, ‘तिहारमा केही सर्त सहित पटाखा पट्काउन पाइने छ ।’ जसमा ‘ग्रिन पटाखा’ मात्रै बिक्री वितरण गर्न पाइने जनाएको छ । यो आदेशसँगै भारतमा ‘ग्रिन पटाखा’को उत्पादन शुरु भएको छ । अन्य पटाखामा भने बेचिविखनमा कडाइ गरिने छ ।

तिहारको समयमा नेपालमा भारतबाटै पटाखा आउने भएकाले प्रायः ‘ग्रिन पटाखा’ नै आउने छ । ग्रिन पटाखा ल्याउन भारतीय सुरक्षा अधिकारीहरुले पनि खासै रोकटोक गर्ने छैनन् ।

भारतमा उत्पादन थालिएको ग्रिन पटाखा यस अघिका पटाखा जस्तै हुन्छ । भारतको पर्यावरणसम्बन्धी अनुसन्धान गर्ने संस्था निरीले यसको खोजे गरेको हो । जुन पट्काउदा वातावरणमा कम प्रदुषण हुन्छ । सामान्य पटाखाको तुलनामा ४० देखि ५० प्रतिशत कम हानिकारक हुने जनाएको छ ।

निरीकी प्रमुख वैज्ञानिक डा.साधना रायलुले यसमा हानिकारक ग्यास कम निस्कने बताइन् । ‘यसमा पनि प्रदुशण त हुन्छ तर, कम हुन्छ । हानिकारक ग्यास पनि कम निस्कन्छ,’ उनले भनिन् ।

उनका अनुसार, सामान्य पटाखा जलाउँदा नाइट्रोजन र सल्फर ग्यास धेरै निस्कन्छ । त्यसको तुलनामा ग्रिन पटाखामा कम निस्कन्छ । अझै पनि हानिकारक ग्यास कम गर्ने प्रयास भइरहेको डा.रायलुले बताइन् ।

भारतीय वैज्ञानिकहरुले चार किसिमका ग्रिन पटाखामा बनाएका छन् । पहिलो, जलाएपछि पानीका कण उत्पन्न गराउँछन् । जसले सल्फर र नाइट्रोजनलाई घुलाउन सघाउछ । यसलाई ‘सेफ वाटर रिलिज’ नाम दिइएको छ ।

त्यस्तै, दोस्रो थरीले सल्फर र नाइट्रोजनको उत्पादन कम गर्छ । स्टार क्रयाकर नाम दिइएको यो खाले पटाखामा अक्सिडाइजिङ तत्व प्रयोग गरिएको हुन्छ ।

तेस्रो थरी पटाखामा एल्मुनियमको कम प्रयोग गरिएको छ । सेफ मिनिमल एल्मुनियम नाम दिइएको यो पटाखामा समान्यका तुलनामा ५० देखि ६० प्रतिशत कम एल्मुनियम प्रयोग हुने गरेको छ ।

त्यस्तै, चौथो प्रकारको ग्रिन पटाखालाई अरोरा क्रयाकर्स नाम दिइएको छ । यो जलाउदा हानिकारक ग्यास कम उत्पादन हुने जनाएको छ । यो हेर्दा पनि सुन्दर किसिमले बनाइएको छ । (एजेन्सीहरुको सहयोगमा)

ताजा खबर