तिलिचोमा लेक लागेर मृत्यु

२०७५ कार्तिक ७ बुधबार १५:३२:०० मा प्रकाशित

बेँसीशहर, ७ कात्तिक । अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का एक पदयात्रीको मृत्यु भएको छ ।

मनाङको तिलिचो ताल घुम्न गएका ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक हुन् ।

तिलिचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको साथीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । उनीहरु पोखराबाट ४ कात्तिकमा सात जना सहित  मनाङको यात्रामा निस्केका थिए ।

तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि आज बिहान हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । गण्डकी अस्पताल पोखरामा परीक्षणका लागि अधिकारीको शव लगिएको बताइएको छ । रासस

ताजा खबर