रारामा रमाउने मौसम शुरु

२०७५ कार्तिक ७ बुधबार १३:३०:०० मा प्रकाशित

जुम्ला, ७ कात्तिक । रारामा रमाउने मौसम शुरु भएको छ । र दशैंको शुरुआतसँगै पर्यटकको आगमन पनि बढेको छ ।

कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

अलिहे दैनिक सरदर एक हजार पाँच सय पर्यटक रारा पुग्ने गरेका छन् । दैनिक तीन सय मोटरसाइकल, एक सय ५० जीप तथा १० बस आउने गरेको गोठीजिउला प्रहरीचौकीका हबल्दार दीर्घराज अधिकारीले बताए ।

राराको हुटुमा डाँफे होटल तथा हेरिटेज होटल, माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलको क्षमताभन्दा बढी पर्यटक हुने भएकाले कोही त्रिपालमा, कोही गाडीमा र कोही आगो बालेर रातभरी रमाउने गरेका छन् ।

रारा जाने बाटोको नाग्मदेखि रारासम्मको यात्रामा वर्षामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने हुने गरेको छ । यो मौसम भने उपयुक्त भएको स्थानीय बासिन्दाले बताए ।

ताजा खबर