भारत र चीनले बनाएन भूकम्पमा भत्किएका विद्यालय

२०७५ कार्तिक ७ बुधबार ११:५८:०० मा प्रकाशित

काठमाडौं, ७ कात्तिक । भूकम्पले भत्काएका मध्ये भारतले ७० र चीनले सात विद्यालय बनाउने जिम्मा लिएका थिए । तर, भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि दुवै छिमेकीले एउटा पनि विद्यालय बनाएका छैनन् ।

पुनःनिर्माण प्राधिकरणका अनुसार, भूकम्पमा सात हजार नौसय २३ विद्यालय भत्किएका थिए । त्यसमध्ये भारतले सात जिल्लाका ७० र चीनले सात विद्यालय पुनःनिर्माण गर्ने जिम्मा लिएको थियो ।

प्राधिकरणले भत्किएका विद्यालयमध्ये चार हजार ८९ विद्यालय पुनःनिर्माण गरेको छ । तर, छिमेकी राष्ट्र भारत र चीनको सहयोगमा पुनःनिर्माण हुने भनिएका एउटा पनि विद्यालय नबनेको प्राधिरकणले जनाएको छ ।

भारतको अनुदान सहयोगमा रसुवा, गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र काभ्रेका १०/१० विद्यालय पुनःनिर्माण गर्ने सम्झौता भएको थियो ।

ति विद्यालयको साढे तीन वर्षसम्म निर्माणको काम शुरु पनि भएको छैन् । प्राधिकरणले भारतीय दूतावासमा डीपीआर पठाएपनि निर्माणको काम शुरु भएको छैन् ।

त्यस्तै, चीनले पनि साढे तीन वर्षमा एउटा पनि विद्यालय बनाएको छैन् । उसले सात वटा विद्यालय बनाउने जिम्मेवारी लिएको थियो । चीनको सहयोगमा निर्माण हुने सात विद्यालयमध्ये काठमाडौंको भानु मावि (दरवार हाइस्कुल)को भरखर काम शुरु भएको छ ।
त्यस्तै, सिन्धुपाल्चोक, रसुवा र दोलखाका दुई/दुईवटा विद्यालयमध्ये एउटा पनि बनेका छैनन् । ति विद्यालयको सम्भाव्यता अध्ययन मात्रै सकिएको छ ।

प्राधिकरणका कर्मचारीहरुका अनुसार, दुवै छिमेकीले खासै चासो देखाएका छैनन् । ‘दुवैले ओगट्ने काम मात्रै गरे, बनाउन तिर वास्ता गरेनन्,’ एक कर्मचारीले भने ।

बरु प्राधिकरणले भूकम्पमा भत्किएका सात हजार ९२३ मध्ये चार हजार ८९ विद्यालय पुनःनिर्माण गरेको छ । अहिले एक हजार ९९० विद्यालय निर्माणधिन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

 

ताजा खबर