स्टेफन हकिङको ह्वीलचेयर लिलामीमा

२०७५ कार्तिक ६ मंगलबार १२:४८:०० मा प्रकाशित

वासिंगटन । विश्व विख्यात वैज्ञानिक स्टेफन हकिङले प्रयोग गर्ने सामान लिलामीमा राखिने भएको छ ।

उनको साइन्टिफिक पेपर, विद्यावारिधीको शोधपत्र लिलामीमा राखिन लागेको हो । त्यस्तै, उनको हाइटेक ह्वीलचेयर, ‘द सिम्पसंस’ कार्टुन(शोका लागि लेखेको स्क्रिप्ट पनि  लिलामीमा राखिने छ ।

सोमबार लिलामीको घोषणा गरिएको हो । उनले प्रयोग गरेका २२ सामान अनलाईनमा मार्फत लिलाम गरिने छ । उनका सामानको करोडभन्दा बढीमा लिलामी हुने अनुमान गरिएको छ । ति सामानको करोड भन्दा माथि नै शुरुआति बोली लाग्ने जनाएको छ ।

यस सम्बन्धी जानकार थमस वेनिङले लिलाम गरिने रिसर्च पेपर हकिङले पीएचडीको अध्ययनका दौरान तयार गरेको बताए ।

सन् १९६५ मा क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन गरिरहेका बेला लेखेका पाँचवटा रिसर्च पेपरमध्ये ‘प्रोपर्टी अफ एक्सपेन्डिङ युनिभर्स’को मात्रै औसत १।५० लाख पाउन्ड अर्थात दुई करोड २४ लाख भन्दा बढी हुने थमसले बताए । थमसले भने, ‘यो पेपर हकिङले हातले नै लेखेका हुन र त्यसमा दस्तखत गरेका छन् ।’

क्याम्ब्रिजमा भर्ना भएपछि उनले आफ्नो विरामीका विषयमा जानकारी पाएका थिए । जुन न्यूरोसम्बन्धी एएलएस रोग थियो । जसका कारण उनी २२ वर्षकै उमेरमा हिडडुल गर्न नसक्ने भएका थिए । त्यसपछि उनी भोइस जेनेरेटिङ’ कम्प्युटर र हाइटेक ह्वीलचेयरको सहारामा काम गर्थे । 

त्यही, उनले प्रयोग गरेको ह्वीलचेयर लिलामीमा राखिएको हो । यसको कम्तिमामा पनि १० देखि १५ हजार पाउन्ड अर्थात १६ देखि २५ लाख रुपैयाँसम्म बोली लाग्ने अनुमान गरिएको छ । लिलामीबाट आएको रकम स्टेफ हकिङ फाउन्डेसनमा जम्मा गरिने जनाएको छ ।

त्यस्तै, उनको किताब पनि लिलामी हुने छ । उनको जीवनी ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’को उनले औठाछाप लगाएको किताब लिलामीमा राखिने छ । त्यो किताब खरिद गर्नेलाई उनको जकेट पनि दिइने जनाएको छ ।

हकिङकी छोरी लुसीले भनेकी छन्, ‘उनलाई मन पराउनेहरुले यो लिलामीबाट उनका असल काम आफूसँगै राख्न सक्ने छन् ।’

हकिङको ८ जनवरी, १९४२ मा बेलायतमा जन्म भएको थियो । उनी १४ मार्च, २०१८ मै दिवंगत भएका थिए । (एजेन्सीहरुको सहयोगमा)

ताजा खबर