ठुलो दुर्घटनाबाट जोगियो हेलिकप्टर

२०७५ कार्तिक ५ सोमबार २१:३८:०० मा प्रकाशित

सोलुखुम्बु, ५ कात्तिक । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए ।

काठमाडौँबाट लुक्ला आएको अर्को हेलिकप्टरको कारणले उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । आज बिहान ११ः४५ बजेको समयमा अवतरण गरिएको हेलिकप्टर नजीकै अर्को हेलिकप्टरसमेत अवतरण गराउने क्रममा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

अवतरण गरी राखिएको उक्त हेलीको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको उक्त हेलिकप्टरलार्ई काठमाडौंबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौँ लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । रासस

ताजा खबर