१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

२०७५ कार्तिक ५ सोमबार १५:१७:०० मा प्रकाशित

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा भइरहेको छ ।

२ कात्तिकमा रावण सेलाउन रेलको लिकमा ति नेपाली आमा मिनादेवी पनि पुगेकी थिइन् । उनी अमृतसरमा बिभिन्न कार्यक्रममा खाना पकाउने काम गर्दै आएकी थिइन् । ५५ वर्षीया मिनादेवीको नेपालको ठेगाना भने खुलाएको छैन् ।

जब सबै धुमधामका साथ रावणलाई सेलाउदै थिए, त्यही बेला आएको रेल किचेर अगाडी बढ्यो । जसमा ६२ जनाको मृत्यु भएको छ भने एकसय ५० जना घाइते भएका छन् ।

तर, १० महिने बालकलाई भने मिनाले सेकेन्डभरमै बचाइन् । उनले टाइम्स अफ इन्डयासँग भने कसरी शिशुलाई बचाइन बताएकी छन् ।

दशहरामा मिनासँगै एक युवक उभिएका थिए । ति युवकले बालकलाई बोकेका थिए । मिनाले भनिन्, ‘रावण दहन गर्दा एक जना मेरो छेउमै बच्चा बोकेर उभिइरहेका थिए । जब रेल मान्छेहरुलाई किचेर आयो ति युवक र बच्चा पछारिए । तर, मैले बच्चालाई भूइमा झर्न दिइन, आकाशमै समातेँ ।’

जसले गर्दा ति बालक सुरक्षित रहे । त्यहाँ रेलले किचेर तथा ठक्कर दिएरमात्रै होइन, भागदौड गर्दा पनि कर्यौ सामान्य घाइते भएका थिए । ति बालक रेलको अगाडी मात्रै होइन, लिक भन्दा बाहिर परेका भएपनि मान्छेको भागदौडबाट किचिन सक्ने थिए ।

त्यसपछि बालकका आमाबुवालाई राती खोजी गरेको उनले बताएकी छन् । उनका परिवारजन खोज्न थालेको पनि सुनाइन् । उनले भनिन्, ‘आधारातीसम्म केही जानकारी नपाएपछि प्रहरीमा गएर रिपोर्ट लेखाएँ ।’

दोस्रो दिन मिना बच्चालाई बोकेर सिभिल अस्पताल पुगिन् । जहाँ घाइतेहरको उपचार भइरहेको थियो । त्यसमध्ये कोही बच्चाका आमाबुवा छन की भन्ने खोजी गरेको उनले बताइन् । त्यहाँ बच्चाको पनि स्वास्थ्य परिक्षण गरियो ।

त्यसपछि एक जना महिला न्यायाधीशले ति बालककलाई आश्रय दिएकी छन् ।  मिनाले भनिन, ‘मलाई आशा छ, बच्चाका आफन्त कोही न कोही मिलिहाल्लान । कोही नमिले मै पाल्न तयार छु ।’

बालककी आमा घाइते, बोक्ने व्यक्तिको मृत्यु

खुशीको खबर भारतीय प्रहरीले बच्चाको परिवार पत्ता लगाएको छ । बच्चाको नाम विशाल रहेको जनाएको छ ।

प्रहरीका अनुसार, बच्चाकी आमा राधिका घाइते भएकी छन् ।  उनको अमृतसरकै निजी अस्पतालमै उपचार भइरहेको छ । उनी सख्त घाइते रहेको प्रहरीले जनाएको छ ।

दुःखको खबर, जुन व्यक्तिले बच्चालाई समाति राखेका थिए, उनको मृत्यु भएको  जनाएको छ । रेलले लागेर पछारिएका उनको त्यही मृत्यु भएको प्रहरीको भनाइ छ । ति व्यक्ति बालकका बुवा हुन या अरु नै खुलेको छैन् ।

 

ताजा खबर