जाने होईन त गोसाइँकुण्ड

२०७४ श्रावण ११ बुधबार १७:२८:०० मा प्रकाशित

रसुवा, ११ साउन । रक्षाबन्धनको अवसरमा गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । पवित्र तीर्थस्थल मानिएको गोसाइँकुण्डमा डुबुल्की मारेपछि शरीरको रोगव्याध हट्ने र घरपरिवारमा सुखशान्ति बढ्ने विश्वासका साथ वर्षेनी यस पर्वका अवसरमा तीर्थयत्रीको भिड लाग्ने गरेको हो ।

गोसाइकुण्डमा स्नान पछि भगवान् शंकरको पूजा र र वरदान माग्न निलाद्री पर्वत पुग्ने परम्परा रहेको पुरोहित टंकप्रसाद ढकाल बताउँछन् ।

विगतमा गोसाइँथान पुगी घर फर्कन ६ महिनासम्म लाग्ने गरेकामा अहिले यातायातको सुविधाले गर्दा काठमाडौंदेखि धुञ्चेसम्म बस र धुन्चेबाट दुई दिनको पैदल यात्रापछि गोसाइँकुण्डमा सहज रुपले पुगी धुञ्चे फर्किने गरेको अनुभवी यात्रुहरु बताउँछन् । जनैपूर्णिमाका दिन विभिन्न स्थानका देवी–देवता गोसाइँथान पुग्ने र पूर्णिमाका दिन कुण्डमा पूजा गर्दा तिनको दर्शन पाइने धार्मिक विश्वास छ ।

गोसाइँकुण्डको यात्रा गर्नुपूर्व घरका कुलदेवतासँग बिदा माग्ने र वेत्रावतीको उत्तरगयाधाममा केश मुण्डन गरी गंगा पूजा गरेर साथीहरुका साथ ओम नमोशिवाय जप्दै सुलाद्री पर्वतको आरोहण सकेपछि टेकेको लौरीसमेत चराउनुपर्ने मान्यता रहिआएको छ ।

काडमाडौँबाट मोटरमा हिँडेपछि त्रिशूलीको स्वादिलो खाना, धैबुङको दही चिउरा र धुन्चेको बासले सबै यात्रुमा उमंग छाउने र धुञ्चेबाट हिँडेपछि स्वच्छ हावा चल्ने जंगलका फेदमा रहेका होटलको बास र भोजनले थप उत्साह हुने चन्दनवारीका होटल व्यवसायी पासाङ घ्यूर्मी तामाङको भनाइ    छ ।

लौरी विनायकभन्दा माथि वनस्पति नभएका कारण लेक लाग्ने भएकाले गुल्कोज पानी प्रशस्त पिउने र चिकित्सकको परामर्शअनुसार औषधिलगायत अदुवा, लसुन, कागती सेवन गर्दै जाँदा सहजरूपले पुग्न सकिन्छ । जनैपूर्णिलाई केन्द्रित गरीे अत्यधिक भक्तजन आउने भएकाले यात्रुको चापलाई मध्यनजर राखी गोसाइँकुण्ड, चोलाङपाटी, लौरी विनायक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र बासस्थानका लागि होटेलका साथै अस्थायी छाप्रो समेत बनाइएको छ । यसैगरी बाटो मर्मत, सरसफाइ र स्वयंसेवक परिचालनसमेत भईरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीप यिमले बताए।

विरामी परेका यात्रुको प्राथामिक उपचारका लागि हिमालय उद्घार संघ, जिल्ला जनस्वास्थ्य कार्यालय र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना, जिल्ला रेडक्रस सोसाइटी र स्काउट समेतको संस्थाले सहयोग गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

स्थानीय प्रशासनले गोसाइँकुण्ड मेलाको निरन्तर अनुगमन गरिरहने भएकाले यात्रुलाई वेत्रावतीको रसुवा प्रवेशद्वारदेखि नै गोसाइँकुण्डसम्म कुनै समस्या नआउने बताइएको छ । रासस 

ताजा खबर