‘देश तनावमा छ जनाव’

२०७५ कार्तिक १ बिहीबार २२:५५:०० मा प्रकाशित

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् । बुधबार बडादशैंको महाअष्टमीका दिन शक्तिपीठ दर्शन गर्न फन्को मार्दै गर्दा पलाञ्चोक भगवतिमा प्रशन्न मुद्रामा धुप बाल्दै गरेको देखिएकी राष्ट्रपति भद्रकाली मन्दिरको मुख्यद्वारमा पुग्दा उनको अनुहार मलिन देखिन्थ्यो ! 

थकानले हो त ? हुन पनि सक्छ । तर थाक्नेगरी त धपेडी भएको थिएन, सेनाकी परमाधिपति उनको सवारी हेलिकप्टरबाट व्यवस्था गरिएको थियो । राष्ट्रपतिको मुहारबाट अचानक प्रशन्नता खस्नेगरी देशमा त्यस्तो के भएको थियो होला र ? 

प्रश्न राष्ट्रपतिको शक्तिपीठ भ्रमणको मात्र होईन । राष्ट्रको प्रमुख व्यक्तित्वको मुहारमा प्रशन्नता रहनु र नरहनुमा सिंगो देश र देशवासीको प्रशन्नता गाँसिन पुग्छ । त्यहाँ अर्थ लाग्न सक्छ । जस्तो कि व्यक्तिको शरीरको शिरानमा रहने शीर र मुहारमा प्रशन्नता देखिनु अथवा निराशा झल्किनुमा उसको अवस्था पढ्न सकिन्छ । महाअष्टमीका दिन राष्ट्रपतिको अवस्था यही कारणले पनि अर्थपूर्ण भएको हो । त्यसो भए के देशको अवस्था तनावमा छ त ?

भद्रकाली परिसरमै मुख्यालय रहेको नेपाली सेनाले हालै देशको सार्वभौमसत्तामाथि कसैले धम्की दिएको आभास हुनेगरी त्यस्तालाई नछाड्ने चेतावनी सन्देश दिएको छ । देशको महत्वपूर्ण र ऐतिहासिक अंगले सार्बजनिक रुपमै यस्तो सन्देश दिँदा पक्कै पनि देशलाई कसैले दखल दिन दुस्प्रयाश गरिरहेको छ कि भन्ने आम मानिसलाई परेको छ । 

यही दिन पूर्व राजा ज्ञानेन्द्र शाहको परम्परा भन्दा अलिक चर्को शैलीको शुभकामना सन्देश आयो । उनले व्यवस्था बदलिँदैमा केही अर्थ नभएको प्रष्ट भाषामा औंल्याएका छन् । जननिर्वाचित शक्तिमा आसिन सरकारको उपस्थिति ज्यादा हलुका भैरहेका बेला पूर्व राजाको लगभग राजनीतिक भाषाको सन्देश आएकामा खासै टिकाटिप्पणी पनि भएको पाईएन । यसको पनि खास अर्थ छ होला ।

अर्कोतिर, यही सातामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नारायणहिटी संग्रहालय भ्रमण पनि अलिक चर्चाको घानमा पिसिएको देखियो । पुरातत्व विभागका महानिर्देशको भूमिकालाई प्रधानमन्त्रीले ओभरल्याप गरेको भनेर टिप्पणी गरेको पनि सुनियो । पुरातात्विक महत्वको श्रीपेच प्रदर्शन गरिएको कार्यक्रम प्रधानमन्त्रीकै हातबाट उद्घाटन गर्ने हैसियत राख्दैनथ्यो भन्नेहरुलाई सोझो जवाफ दिने शव्दहरु पाईंदैनन् सायद । 

यता अघिल्लो साताबाट अलिक सेलाएको जस्तो लागेको राजनीतिक घटना थियो बामदेव गौतमको संसद छिर्ने छटपटी । उनले यसका लागि धेरै निर्वाचन क्षेत्रका नक्शा पल्टाए,त्यहाँबाट निर्वाचित सांसदलाई कोट्याए । अनि काठमाडौं भित्रिए । काठमाडौं भित्रिएपछि आफ्नै दल र सर्बसाधारणबाट चुटिएपछि उनी दुइ कदम पछि हटेर बसेका देखिन्छन् । गौतमको छटपटीलाई लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालतिर पनि मानिसहरुले कर्के नजर लगाए । तर उनी पनि तर्किएपछि सबैले प्रश्न गरे आखिर बामदेव गौतमको पृष्ठभागमा चिमोट्ने को थियो त,जसले गर्दा उनी जुरुक्कै उठे ?

नम्बर दुइ सहितका प्रदेशहरुमा असन्तुष्टी जारी छ । दुइको असन्तुष्टी त बुझ्न कठिन छैन । अरु प्रदेश पनि उस्तै देखिँदा पनि केन्द्र सरकार त्यसलाई सम्बोधन गर्न असमर्थ देखिन्छ । किन ? 

पर्वहरुको माझमा परम्परा झैं महंगी र कालोबजारी फस्टाएको छ । सरकारका सरोकारवाला एजेन्सीहरु अनुगमन गरिहेका छन् कि दशैं खर्च जुटाईरहेका छन् छुट्याउन नसकिने गतिविधि देखिन्छ । यसमा पनि सरकारको उपस्थिति फिका देखिन्छ ।

वास्तवमा परिवर्तनको प्रभाव एउटा सीमान्त व्यक्तिको जीवनमा रुपान्तरण भएर देखिनुपर्ने हो । विडम्बना आजसम्म त्यो देखिन सकेको छैन । सरकारहरु बदलिने र पदहरुमा व्यक्तिको अनुहार फेरिने वा दोहोरिने बाहेक यसअवधिमा साधारण नागरिकको जीवनमा कुनै तात्विक फरक पाउन सकिँदैन । कथा फेरिएको छ तर व्यथा उही छ, उस्तै छ । 

शक्तिको आसपास बस्नेहरु नै शब्दहीन जस्ता देखिन्छन् । विरोध गरिहाल्न पनि जात जाने भय,समर्थनमा बोल्न ओठ उघ्रिन सकस । यस्तो देखिन्छ सिंहदरबार र बालुवाटार ओहोर दोहोर गरिररहेका वैतनिक कार्यकर्ताहरुको भावदशा ! आखिर किन यस्तो भैरहेको छ त ? प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका लच्छेदार अन्तर्वार्ताहरु र सार्बजनिक मन्तव्यहरुमा पनि यी प्रश्नहरुको जवाफ पाईंदैनन् ।

यता जनता अक्क न बक्क ! दिएको छ दुइतिहाईको समर्थन । गाउँ देखि केन्द्रसम्मै मतदानबाट निर्वाचित संस्थाहरु निर्माण भैसकेका छन् । अब त फटाफट काम गरे त भैगो नि ! जनता यस्तो ठानिरहेका छन् । तर दुइतिहाईको तागत यसै खेर जाने हो कि भन्ने भयले तिनै जनता छट्पटाएका छन् । क्यै गरी यो दुर्लभ तागत यसै स्खलित भएर बग्यो भने के होला ? जनतामा यस्तो चिन्ता व्याप्त देखिन्छ । जनता तनावमा रहनु भनेकै देश पनि तनावमा पर्नु हो । र यही नै सबैभन्दा ठूलो चिन्ताको बिषय पनि हो । देश तनावमा छ भन्ने कुरा माथिका प्रसंगहरुमा एकछिन घोत्लिँदा प्रष्ट हुन्छ । अब के गर्ने ? देश तनावमा छ जनाव !

यस्तोमा पनि भन्नैपर्ने छ– बडा दशैंको मंगलमय शुभकामना !!!
    
 

ताजा खबर