आज फूलपाती, दशैंको विशेष पूजाअर्चना शुरु

२०७५ असोज ३० मंगलबार १२:२८:०० मा प्रकाशित

काठमाडौं, ३० असोज । आज फूलपाती । दशैको महत्वपूर्ण दिन । घटस्थापनादेखि विधिवत रुपमा दशैं प्रारम्भ भएपनि फूलपातीको दिनलाई महत्पूर्ण मानिन्छ । आजदेखि दशैंको रमझम तथा घरघरमा पूजाआजा शुरु हुन्छ ।

आज घरघरमा फूलपाती भित्र्याउने प्रचलन छ । टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीआदि नौ प्रकारका पातहरूलाई पूजाअर्चना गरी, नौ–नौवटाका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याउने परम्परा छ ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजा–आराधना गरिन्छ ।

दैविकालमा इन्द्रले बृत्तासुर, शिवले त्रिपुरासुर, विष्णुले मधुकैटभ र रामले रावणको बधका लागि नवरात्रमा व्रत राखेको किवदन्ती छ ।

आजदेखि दशमीको दिनसम्म भव्यतापूर्वक पूजाआजा गरिन्छ । फूलपातीका दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा–अर्चना गर्ने प्रचलन छ ।

 

ताजा खबर