नाना पाटेकर र साजिद खानले छोडे ‘हाउसफुल-४’

२०७५ असोज २९ सोमबार १२:३६:०० मा प्रकाशित

मुम्बई । यौन दुर्व्यवहारको आरोप लागेपछि निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरले ‘हाउसफुल-४’ छोडेका छन् ।

भारतमा चलिरहेको ‘मी टू’ अभियानले नेता, कलाकार, पत्रकार, लेखकलाई चपेटामा पारेको छ । त्यही क्रममा ‘हाउसफुल-४’ का निर्देशक साजिद खानमाथि पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो । त्यही आरोपका कारण उनले हाउसफुल ४ छोडेका हुन् ।

त्यस्तै, नाना पाटेकरमाथि पनि अभिनेत्री तनुश्री दत्ताले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । त्यही आरोप कारण उनले पनि ‘हाउसफुल-४’ छोडेको जनाएको छ ।

भारतमा 'मी टू' अभियानको शुरुआत पनि तनुश्री दत्ताले नै गरेकी थिइन् । उनले नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सन् २०१० मा फिल्म सुटिङका क्रममा नाना पाटेकरले यौन दुर्व्यवहार गरेको उनको आरोप छ ।

त्यसपछि अन्य महिलाहरुले आफूमाथि भएका यौन दुर्व्यवहारका बारेमा बोल्न थालेका हुन् ।

पछिल्लो पटक भारतका केन्द्रीय मन्त्री एमजे अकबर, लेखक चेतन भगत, अभिनेता अलोक नाथ लगायत दर्जनौ नेता, लेखक, पत्रकार, निर्देशक, कलाकारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

 

ताजा खबर