आईजी सा‘पलाई प्रश्न

२०७५ असोज २८ आइतबार १४:१८:०० मा प्रकाशित

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट ५को बेलुका अपहरण भएर भोलिपल्ट अगष्ट ६ मा मृत शरीर फेला परेको थाहा भयो । उक्त दिन अगष्ट ६ सोमबार नै प्रहरी सापले २ जना अपहरणकारीलाई गोलीले उडाईं दिनु भयो भन्ने पनि सुनियो । अनि खाली हात खुट्टा रहेका ती अपहरणकारीको हातमा पेस्तोल भिराई दिने काम पनि गर्नु भएछ फोटोमा देखियो । प्रहरीले उक्त कार्य गरेर ठूलै आतंकबादीलाई मारें भन्ने पनि सोच्दा हुन् । होईन प्रहरीले समाजमा नियम कानून उलंघन गरेको उजुरी परेमा कानून उलंघन गर्नेलाई पक्राउ पुर्जी जारी गरेर या अन्य अपर्झट अवस्थामा सिधै पक्राउ गरेर समय सीमाभित्र प्रमाण जुटाएर कानून अनुसार कार्वाहीका लागि सिफारिस गर्नुपर्ने होईन र ? कि तपाईंहरुलाई आजको जस्तो परिस्थितिमा सिधै गोली ठोकेर मारि दिनु भन्ने अघिल्लो संविधानले अधिकार दिएको थियो ? परिवारका सदस्यहरुले केहि न केहि राहत भएको महशुस गर्नुभयो   होला । तथापि सो कार्य उचित भने लागेन । 

यहि सेप्टेम्बर २४ तारिखमा पोखरामा अर्की एक नाबालिकाको बलत्कार पश्चात भोलिपल्ट २५ तारिखमा उनको मृत शरीर पत्ता लाग्यो । भक्तपुरमा ईन्काउण्टर गर्ने प्रहरी साप त्यस दिन पोखरामा भएको भए अर्को ईन्काउण्टर गर्ने थिए कि ? परिवारको सदस्यले अपराधीलाई मृत्यु दण्डको माग गरेको अवस्था छ । 

शान्त नेपाली समाजको लागि मृत्यु दण्ड कदापि सुहाउँदो हुने छैन । यहाँको प्रहरी प्रशासनले बेलाबखतमा देखाउने गरेका हर्कत हेर्दा यहि जुलाई २७ तारिखमा बलात्कार पश्चात मारिएकी १३ वर्षकी बालिका निर्मला पन्तको केशमा पनि एकजना दिमागको विरामी दिलिप सिङ् बिष्ट नामक व्यक्तिलाई पक्रिएर उक्त घटनाको जिम्मा लिन लगाएको भन्ने पनि सुनियो र डिएनए नमिलेकोले पुन रिहा भएको पनि सुनियो । यदि भक्तपुरको ईन्काउण्टर टिम नै उता खटाई दिएको भए दिलिप सिङ बिष्टको के हालत बनाउँथे होला ? उपस्थित नै नभएका बाबुको हस्ताक्षर अग्रिम रुपमा मिलाउन सक्ने सापहरुलाई मान्नै पर्छ तपाईंहरुलाई । 

यहि अक्टोबर ५ तारिख गत शुक्रबारको घटना यहि काठमाण्डौको मूलपानीमा जुवा खेल्ने घरमा प्रहरीले सर्च गरेर पक्राउ गर्न खोज्दा २ जना भने झ्लाबाट होकी कहाँबाट हाम्फालेर मृत्यु भयो भन्ने पनि सुनियो । ३ जना घाईते अनि धेरै जनालाई पक्रिएको भन्ने पनि सुनियो । बिचरा जुवा खेलेर गरेको अपराधले आफ्नो ज्यान नै फाल्न बाध्य पार्ने प्रहरी साप हो तपाईंहरु खुशी हुनुहुन्छ ? मलाई त उक्त घटनामा मृत्यु भएका व्यत्तिलाई सम्झँदा निकै चित्त दुखेको छ ।

केहिदिन अगाडि एकजना ठूलै सापले दशैंमा पारिवारका सदस्यलाई नयाँ एक थान टेलेभिजन र उक्त टेलेभिजन राख्ने दराजको व्यवस्था गर्दैगर्दा राती ८ बजेतिर पक्राउ परे भन्ने पनि सुनियो । उक्त सापले यस भन्दा अगाडि त्यस्ता कार्य कति पटक गर्नु भएको थियो होला ? 

प्रहरीको जागिर भनेको पनि मज्जाको जागिर रहेछ त । अनुसन्धान पनि आफु अनुकूल गर्न मिल्ने, कसुर नगरेकोलाई पनि हो भन्न बाध्य पारिदिने, विना आधार गरिएका त्यस्ता गलत कर्मको बारेमा पनि कुनै पश्चातापनै नहुने, कता कताबाट रकम असुल्न पनि मिल्ने, मानिसलाई जहाँबाट पक्रिएर लगे पनि खुलाउन नपर्ने, ठूला सापले अराएको काम हस् साप भनेर गर्दा पछि ती साना सापको चाहिं गल्ति देखिने, सापहरुले अनावश्यक ठाउँमा बुट बजार्न पनि मिल्ने अलि बढिनै भएन र साप !  
 

ताजा खबर