दशैं आएछ !

२०७५ असोज २३ मंगलबार ११:१९:०० मा प्रकाशित

 असारे चपेटालाई

साउने झरीले

स्याहारसुसार गरी चिटिक्क पारेर

नाटकघरको पर्दा सर्लक्क खोले जसरी

आँखाले हेर्दा देखिने

हिमाली शीरमा हरिया पहाड हाँसेका

मन्द हावाले बालीहरुमा

चुम्बन गरिरहेको फाँट

शरद्को बिहानीले किरण छर्दा

वर्णन गर्न नसकेर

उकुसमुकुस भएको मेरो मन

बल्ल थाहा पाउँछ

प्राकृतिक छटामा दशैं आएछ !

चराचुरुङ्गीका चिर्बिर् चिर्बिर् आवाजसँगै

केटाकेटीका खुशीका गीतहरु

फूलहरुको सुवासमा मिसिएर

प्राकृतिक पवनले

गाँउ गाँउ र शहर शहर डुल्दा

रंगीचंगी भएका बजारसँगै

खुशी र मिलनको संयोग दशैं आएछ !

आमाले दशैंलाई भनेर राखेको

बोटमै पहेंलो अनि पटपट भएर

पाकेको काँक्रो टिपेपछि

खल्पी हालेर

तामाको अचारसँगै मिलाएर राखेको

बोतलको लस्कर देखेपछि

थाहा भयो दशैं आएछ !

छरछिमेकी सबै मिलेर

रातो माटो र कमेरो खनेर

घर पोतेर चिरीच्याँट्ट हुँदै गर्दा

आफ्ना आफ्ना घर पुग्ने

बाटाहरुको झाडी फाँड्दै

खाल्डा खुल्डी पुरेर नयाँ झैं भएको

सधैं हिँड्ने बाटोमा

केटाकेटी उफ्रँदै कराउँदै गर्दा

मन झसङ्ग हुन्छ

साँच्चै दशैं आएछ !

बुवाले दुःखले जोडजाम गरेर

दक्षिणाको लागि दिनभर लाइन बसेर

घरमा ल्याउनु भएको नयाँ पैसा

एक चोटी छुन पाउँदा

आनन्द हुने फुच्चे

दशैंको नयाँ लुगा

बुवाको आदेशले

फूलपातीको दिन लाउन पाउने भन्दै

प्रत्येक दिन

घण्टैपिच्छे

फूलपाती आउने दिन गन्दै

औंला भाँच्छ

जसले सबैलाई सजक गराउँछ

दशैं आएछ !

शहरका प्रत्येक छतबाट

छर्लङ खुलेर नीलो भएको आकाशमा

गाँउका आँगन आँगनमा

रंगीचंगी फूलेका

सयपत्री, लालगट्टी, मखमली, गोदावरी जस्तै

खुशी र उमंगको उचाईमा

प्रतिस्पर्धा गरिरहेका

सप्तरंगी इन्द्रेणी भन्दापनि

सुन्दर देखिने चंगासँगै

मनका पिडाहरु

जमीनमा छाडेर

खुशी र उमंग नीलो गगनमा

फिरफिर फिरफिर गर्दै उड्दा

थाहा हुन्छ

गाँउघर अनि शहर सबै ठाँउमा

दशैं आएछ !

शहर पढ्न गएका छोराछोरी गाउँ फर्किए

बिदेश गएको छोरो

हर्ष र उल्लासको पोको बोकेर

पाँच बर्षपछि टुप्लुक्क

आँगनको छेउमा देखिन्छ,

लाहुर गएका पल्लो गाउँका दाई

हातमा क्यामेरा बोकेर

नयाँ गाउँ पुगे जसरी

खिचिक खिचिक फोटो खिच्दै गए,

शहरमा काकाका छोरा र छोरी

बर्षांै पछाडि

नेपालको दशैंको झझल्को मेट्न

अमेरिका र अष्ट्रेलियाबाट

एकसाथ मिलनको

नयाँ युग लिएर आउँछन्

मिलन, जमघट र खुशीको उत्सव लाग्छ

त्यसैले त दशैं आएछ !

घामले धर्तिमा

पाइला टेक्नु अगाडि नै

गाउँका प्रत्येक घरबाट आउने

ढिकीका भक्¥याङ भक्¥याङ आवाज

जाँतोका घुईँ घुईँ आवाज

चिउराको वास्ना

वातावरणमा फैलिँदै गर्दा

रापिलो घाममा

डाँडाको छेउमा बसेर

केटाकेटीले खोजेर सुकाएको बाब्यो

बूढापाकाले पोया मिलाएर बाटेको लठ्ठा

तन्नेरीहरुले लिङ्गा जोडेर

लिङ्गे पिङ बनाएपछि

फर्कायो फर्कायो भन्दै

कुरुरुरुरु चचहुई चचहुई सुनेपछि

लाग्छ दशैं आएछ !

टिकाको साइत कुरेर

नौ दिनदेखिका

पहेंला लामा जमरा

हाम्रा शीर पर्खिरहेको देखेर

पाकेका केराको वास्नासँगै

सबै कुराको मिश्रणले

सुशोभित वातावरणमा

मन फुर्लुङ फुर्लुङ भएछ

अनि त दशैं आएछ !

    ***********

- इलाम नगरपालिका

वार्ड नं. ५, तोरीबारी

हाल,अष्ट्रेलिया

ताजा खबर