विद्यालय भवन बनाउन प्रवासी नेपालीले दिए १२ लाख

२०७४ बैशाख १३ बुधबार १०:२६:०० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ३ वैशाख । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको रु १२ लाख १२ हजार २०० शनिबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका याम पुनको संयोजनमा १३ जनाले सो रकम सङ्कलन गरेर पठाएका हुन् ।

सहयोगदाताका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन र प्रअ रामबहादुर पुनलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

स्थानीयस्तरबाट सहयोग सङ्कलन गरेर रु तीन करोडको लागतमा ३० कोठे पक्की भवन निर्माण कार्य अघि बढाइएको छ । पहिलो चरणमा १० कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म रु ७६ लाख खर्च भएकामा रु २० लाख ऋण रहेको छ । रासस

ताजा खबर