३३ किलो पहेंलो धातु कता छ सरकार ?

२०७५ असोज २१ आइतबार ११:३४:०० मा प्रकाशित

सरकार हामी जनताले कुनै बिषय उठाएर प्राथमिकतामा राख्दा राम्रो हुन्छ भन्ने धारणा राखौं भन्यौं भने ७ महिना अगाडि के हेरेर बसेका थियौ भन्नुहुन्छ । मेरो हिसाबमा सन् २०१८ फेब्रुअरी १५ तारिखमा गठन भएको नयाँ सरकारको आयु अझै कसरी ७ महिनामै सीमित रहेको हो ? अव भविष्यमा ५ वर्षसम्म पनि विगतका २० वर्षसम्म जनता भन्ने विचराहरुले के हेरेर बसेका थियौ भनेर हाम्रै कमजोरी मात्र उठाएर यस्को हिसाब मिलान गर्ने मनसाय हो यहाँहरुको ? विगत २० वर्ष हाराहारी जनतालाई तड्पाउने पार्टी पनि सरकार तपाईंकै एकाघरका शेयर धनी भैसक्नु भएको छ ।

जनताले केहि बिषय उठाउने वित्तिकै सरकारका कार्यकारी नै सिधै झगडा गर्न उत्रनु हुन्छ । यहाँले गरेको राम्रो काम एउटा उदाहरण दिन सक्नु हुन्छ ?

५ वर्षसम्म यहि सरकार रहन्छ भन्ने पनि फेरि एक पटक कानमा करेन्ट लाग्ने गरी झन्कियो । ए महासय, त्यो तपाईंको सरकारको बिषय तपाईंको अस्वभाविक रुपमा एकता भएका, कुनै पनि सिद्धान्त नमिल्ने पार्टीका कारिन्दालाई सुनाउनुहोस् । हामीलाई त्यो सुन्न पनि आवश्यक छैन । त्यस बिषयमा ३ वर्ष अगाडि नै कतिजना मिलेर कति हो बजेट खर्च गरी लेखेर घोषणा भैसकेको संविधानमा उल्लेख भएको कुरा अलिअलि बुझेकाहरुलाई कुनै अर्थ राख्दैन ।

धरहरा बनाउनु पर्छ भन्यो भने यो सरकारले ७ महिना अगाडि भूकम्प निम्त्याएर धरहरा भत्काएको हो र भनेर कार्यकारी जवाफ दिनुहुन्छ । रानी पोखरी किन अझै नवनाएको भन्यो भने ७ महिनामा हामीले रानीपोखरी भत्काएको हो र भनेर सिधै झम्टनु हुन्छ । काठमाण्डौका खाल्डाखुल्डीका कुरा आउँदा हामीले ७ महिनामा पारेको खाडल हो र भन्नु हुन्छ । यस सरकारले गर्न खोजेको र आँटेको चाहिं केहो ? कलंकीमा धूलो उड्यो भने, यो सरकारले गएर धूलो उडाएको हो र भन्नु हुन्छ ।

कञ्जनपुरमा एकजना नानीले वलात्कार भए पश्चात मृत्यु भएको घटना सबै नेपालीलाई राम्रोसँग जानकारीमा छ । यस बिषयमा विगत २ महिना देखि लगातार दोषीलाई कार्वाही होस भनेर जनताहरुले माग गरिरहेका छन् । अव त्यो घटनामा पनि सरकार स्वयंले घटाएको घटना हो र भनेर उम्कन मिल्ला र सरकार ? उचित र सुहाउँदो जवाफ दिन ढिला भएन सरकार ? धिक्कार छ सरकार हजुरहरुलाई ।

सरकार तपाईंहरुलाई आजसम्म त जम्मा ७ महिना भएकोले खास उपलव्धि देखाउन गाह्रो भएको हो भनेर भन्नु भएको छ मलाई पनि राम्रो सँग थाहा छ तर तपाईंहरुको हिसाबले अवका दिनमा गर्न खोजेका कामहरु के के हुन् ? जान्न ज्यादै उत्सुक छु है । जनतालाई बताउन मिल्छ र  सरकार ! को जनता भन्नु हुन्छ की ? हामी जनतालाई सहनका लागि कुनै समस्या छैन । हामीलाई राजनीतिका नाममा जति हजार मारे पनि सहन सक्छौं ।

राजनीतिको नाममा जो जति धनि भएर जतिसुकै आलिसान महलमा बसे पनि हामी जनतालाई सहन बानी परिसकेको छ । जुन राजनीतिज्ञले आजसम्म आर्जन गरेको सम्पत्ती र श्रीमतिको नाममा पहिल्यै रहेको दाईजोको बारेमा पनि हामीलाई मतलव छैन । कुनै नेताले हामी जनताले थाहा नपाउने गरी जुन क्षेत्रमा लगानी गरेर त्यसको मुनाफा जहाँ राखे पनि मतलव छैन । तपाईं राजनीति गर्नेहरुको सम्पत्तिको बारेमा पनि हामी सबैलाई थाहा छ ती सबै सम्पत्ति विचरा तपाईंहरुले श्रीमतिको दाईजो मार्फत प्राप्त गरेको हो भन्ने कुरा हामी जनतालाई राम्रोसँग थाहा छ ।

हामी जनताहरु सीमा भन्दा बढिनै सहन सक्ने क्षमता भएका छौं जस्तो लाग्दछ त्यो पनि विना कुनै सोचाई पत्याई दिन्छौं । तर सरकार हामी जनतालाई तपाईंहरुले धेरैनै हेपेको विषयमा थोरै भए पनि ज्ञान हुनुपर्ने होईन र ? जनता दुखी छन् भनौं भने यो सरकारले दुखी बनाएको हो र भन्नु हुन्छ ।

निर्मला नानी मरिन भन्यो भने यो सरकारले मारेको हो र भन्ने सोच्नु भएको होला । सरकार तपाईंहरुको लागि को निर्मला ? को सम्झना ? को कहाँको ? कति एउटै घटना उठाएको ? भन्ने लाग्दो हो, अव भने त्यो ३३ किलो सुनको बारेमा बल्ल सुनसान भएको थियो होला, अव यी नानीहरुको पनि नाम नआए ढुक्क हुन्थ्यो भन्ने लागेको होला । दशैं आईसक्यो, तिहार अनि छठ आउँदैछ भनेर जनतालाई किन होस नआएको भनेर थर्काई दिनुस् अव त । 


 

ताजा खबर