माधव नेपालले खसाएको आकाश

२०७५ असोज १८ बिहीबार १२:३८:०० मा प्रकाशित

माधवकुमार नेपालले नेकपामा आकाश खसाएका छन् । सरकारमाथि आकाश खसाएका छन् । किनभने उनले सरकारको कार्यशैलीको आलोचना गरेका छन्, दुई अध्यक्ष(खासगरी केपी ओली)को कार्यशैलीको विरोध गरेका छन् । नेकपामा विरोध गर्नु भनेको ‘आकाश खस्नु’ जस्तै हो ।

माधव नेपालले विद्रोहको ध्वनी बजाएका छन् । र, ध्वनीभन्दा प्रतिध्वनी ठूलो सुनिँदैछ ।

कुरा छिनाएरै भन्नुपर्दा नेकपाभित्र झगडा सुरु भएको छ । नेकपाको आन्तरिक झगडा विश्लेषण राष्ट्रिय सरोकारको विषय हो । किनभने सरकारको नेतृत्व गरिरहेको पार्टी हो नेकपा । ‘झगडा विश्लेषण’ विषयक लेखमाला अन्तर्गत यो पहिलो लेख हो । 

जहाँ राजनीति हुन्छ त्यहाँ झगडा र विवाद हुन्छ । पार्टीभित्र विवाद र झगडा अवश्य हुन्छ । विवाद र झगडा नहुने पार्टीलाई ‘पार्टी’ नभनेर ‘प्रालि’ अर्थात् प्राइभेट लिमिटेड भने हुन्छ । कुनै पार्टीमा विवाद हुन्छ भने त्यो जीवन्त पार्टी हो भनी बुझे हुन्छ । कुनै पार्टीमा झगडा हुन्छ भने त्यहाँ पार्टीलाई प्रालि बनाउने प्रयास भइरहेको छ भनी बुझे हुन्छ ।

नेपाली राजनीतिको कार्यव्यवहारमा झगडा र विवाद दुई शब्दको अर्थमा अर्थपूर्ण फरक छ ।

नेपाली राजनीतिमा दलीय झगडा र विवादको प्रादुर्भाव नेपाली कांग्रेसबाट भएको हो । ०७ सालमा दलीय व्यवस्था आयो, कांग्रेस सरकारमा पुग्यो, विवाद र झगडा सुरु भयो । त्यसपछि कम्युनिष्ट पार्टीमा विवाद र झगडा सुरु भयो । यसको अर्थ यो होइन कि कांग्रेसबाट कम्युनिष्टले विवाद र झगडा सिके । कम्युनिष्ट पार्टी पहिले सरकारमा पुगेको थियो भने उनीहरुमा पनि विवाद र झगडा सुरु हुन्थ्यो ।

जहाँ सत्ता र शक्ति हुन्छ त्यहाँ विवाद र झगडा अपरिहार्य हुन्छ । यो विश्वव्यापी प्रवृत्ति हो । परिपक्व लोकतन्त्रमा विवाद हुन्छ, झगडा थोरै हुन्छ । विवाद र झगडाका दृष्टिले नेपाली लोकतन्त्र निक्कै परिपक्व भएको मान्नुपर्ने हुन्छ । किनभने विवाद र झगडा दुवैमा मर्यादाको झीनो भए पनि लक्ष्मणरेखा कोर्छन् नेपाली नेताहरु, केही अपवादलाई छाडेर ।

कांग्रेस र कम्युनिष्टको झगडा शैली

माधव नेपालले आकाश खसाए जस्तो गरिँदैछ नेकपामा । वास्तवमा उनले आकाश नै खसाएका हुन् त ? यो प्रश्नको जवाफ खोज्न नेपाली कांग्रेसतिर लाग्नुपर्ने हुन्छ ।

कांग्रेसमा मूलत तीन गुट छ । देउवा गुट, रामचन्द्र गुट र सिटौला गुट । गुटभित्र पनि उपगुट छन् । सबै गुट स्वतन्त्र छन् । अहिले कांग्रेसमा विधान संशोधन उपर छलफल चलिरहेछ । यसका लागि रामचन्द्र गुट र सिटौला गुटले बेग्लाबेग्लै भेला गरिरहेका छन् । र, खुलेआम भेला गरिरहेछन् । कांग्रेसमा गुट छन् भन्ने कुरा ‘ओपन सेक्रेट’ होइन, ओपन नै हो । नेकपामा चाहिँ गुट ‘ओपन’ छैन, ‘ओपन सेक्रेट’ छ ।

कांग्रेसमा गुटलाई पूर्ण मान्यता छ, गुटगत भागवण्डा औपचारिक रुपमै हुन्छ । लाग्छ– कांग्रेस भनेको पार्टी नभएर गुटहरुको महासंघ हो ।
कांग्रेसमा कुनै गुटले भेला बोलायो अथवा कोही नेताले आफ्नै गुटका नेता विरुद्ध बोल्यो लेख्यो भने कुनै आपत्तिको विषय मानिँदैन । आकाश खस्दैन । शेरबहादुर देउवा सभापति छन्, उनी प्रधानमन्त्री हुँदा पनि पार्टीभित्रबाट चर्काे विरोध हुन्थ्यो, त्यस्ता विरोधको संगठित र सुनियोजित प्रतिकार गरिँदैन । विरोध गर्नेले विरोध गर्छ, सुन्नेले सुन्छ, नसुन्नेले सुन्दैन । यस्तै छ कांग्रेसको चलन ।

अहिले माधव नेपाललाई खुईल्याउन ओली पक्षधर कार्यकर्ताहरुले राम्रै मेहेनत गरिरहेको देखिन्छ । तर, कांग्रेसमा अलि फरक हुन्छ । गुटहरुको आपसी सम्वन्ध र गुटका नेताहरुलाई अरुले गर्ने व्यवहारका केही रोचक उदाहरण छन् कांग्रेसमा ।

गिरिजाको फोटो र खाँण

देउवाले कांग्रेस फुटाउँदा तरुण दलका अध्यक्ष थिए वालकृष्ण खाँण । गिरिजाप्रसादको कित्ता छाडेर खाँण देउवातिर लागे । गिरिजा कांग्रेसले बेग्लै तरुण दल बनायो । तर, खाँण अध्यक्ष रहेको तरुण दलको केन्द्रीय कार्यालयमा गिरिजाप्रसादको फोटो राखिएको थियो । खाँणले फोटो झिक्न मानेनन् । एउटा जमातले गिरिजाप्रसादको फोटो निकाल्नुपर्छ भन्यो, खाँणले त्यो जमातलाई हपारेर फोटो निकाल्न अस्वीकार गरे ।

पछि पार्टी एकीकरण भयो, देउवाकै गुटमा रहे खाँण, कोइरालातिर लागेनन् । कोइरालाको सधैं विपक्षमा रहे तर मर्यादाहिन विरोध खाँणले कहिल्यै गरेनन् । 

पार्टी फुट्दा विश्वप्रकाश शर्मा थिए नेविसंघ अध्यक्ष । देउवाको पार्टीले बनाएको नेविसंघमा किशोरसिंह राठौर अध्यक्ष बने । दुई पार्टीको तिक्त सम्बन्ध थियो तर त्यसले व्यक्तिगत सम्वन्धमा असर गरेन । राठौरको नेतृत्वमा नयाँ नेविसंघ बनेपछि केन्द्रीय कमिटिका धेरैजनालाई लिएर विश्वप्रकाश गए देउवा पार्टीको नेविसंघको केन्द्रीय कार्यालय । 

विश्वप्रकाश पुग्दा किशोर सिंह अध्यक्षको आसनबाट उठे । सम्मानपूर्वक विश्वप्रकाशलाई आफ्नो आशनमा बस्न आग्रह गरे । विश्वप्रकाश नम्रतापूर्वक ‘यो ठाउँमा तपाईंको आसन त्यही हो, मेरो आशन यही हो’ भन्दै सोफामा बसे । रमाइलो छलफल गरेर फर्कियो विश्वप्रकाशको टोली । 

देउवाको निवासमा रामचन्द्र गुटका मानिसहरु प्रशस्त देखिन्छन् । सभापति भएकाले देउवाकोमा जान परेकाले होला भनिएला । त्यसो होइन, रामचन्द्र गुटका नेताहरुकोमा पनि देउवा गुटका मानिसहरु पुग्छन्, सिटौलाकोमा पनि पुग्छन् । जिल्लाबाट राजधानी आएका कांग्रेसीहरु सामान्यतया सबै गुटका नेताहरुकोमा ‘घरदैलो’ गरेर फर्कन्छन् । कांग्रेसको अघोषित संस्कृति यही हो ।

ओली, प्रचण्ड र बाबुराम

नेताकोमा ‘घरदैलो’ गर्न गएका कांग्रेसजनले चाकडी बजाउनु एउटा कुरा हो, तर, नेताको पनि मनग्ये आलोचना गर्छन्, सामनेमै । नेकपाका नेताहरुलाई कार्यकर्ताले भेटेर आलोचना गर्न सम्भव छ ? यो प्रश्न विचारणीय छ ।

केपी ओलीलाई सामनेमा कसैले आलोचना गर्दैनन्, ओली आलोचना सुन्न सक्दैनन्, दागा धर्छन् भन्ने जगजाहेर छ । अर्का कम्युनिष्ट नेता (हाल कम्युनिष्ट होइनन्) डा. बाबुराम भट्टराई त झन आलोचना गर्नेलाई शत्रु नै ठान्छन् । कतिपय माओवादी नेताहरुको भनाई छ– प्रचण्ड अध्यक्ष नभएर बाबुराम अध्यक्ष थिए भने जनयुद्धमा दोब्बर मानिस मारिन्थे, बाबुरामले विरोधी कसैलाई बाँच्न दिँदैनथे ।

र, प्रचण्ड चाहिँ आलोचना सुन्न सक्छन्, उनी निकटहरुका अनुसार कार्यकर्ताहरुले तपाईंको यो काम गलत भयो भनेर निर्धक्क र ठाडै भन्न   सक्छन् । आलोचना सुन्ने मामिलामा कांग्रेस नेताहरु जस्तै छन् प्रचण्ड ।

कल्पना गरौं– प्रदीप गिरी कांग्रेसमा नभएर नेकपामा थिए भने के हुन्थ्यो ? उनी उहिल्यै पार्टीबाट निकालिन्थे, अहिले शायद ‘स्वतन्त्र बुद्धिजीवी’  हुन्थे । प्रदीप गिरीले आफ्नै पार्टी कांग्रेसको आलोचना र आफ्ना नेताहरुलाई खुईल्याउन कुनै कसर बाँकी राख्दैनन् । नेकपामा प्रदीप गिरी टिक्न सम्भव छ ?

अहिले कांग्रेसको सरकार छ र माधव नेपाल कांग्रेसका नेता हुन् भन्ने कल्पना गरौं । माधवले यसरी नै सरकारको आलोचना गर्दा आकाश खस्थ्यो ? खस्दैनथ्यो । 

ओली र प्रचण्डको आलोचना गरे वापत योगेश भट्टराईले मुखमा आएको मन्त्रीपद गुमाउनुपर्यो । मुखभित्र पसिसकेको सुनुवाई समितिको सभापति पद पनि गुमाउनुपर्यो । राजनीतिमा विरोधीलाई बाँकी राखिँदैन, यसलाई धेरै अस्वाभाविक मान्न पनि हुँदैन तर कांग्रेसमा यतिविध्न चाहिँ हुँदैन । 
अहिले विश्वप्रकाश शर्मा कांग्रेसका प्रवक्ता छन् । मौका पर्नासाथ उनी देउवाको पनि विरोध गर्छन्, पार्टी लाइन बाहिर गएर पनि निजी बिचार राख्छन् । नेकपामा यसो गर्न सम्भव छ ?

तथापि, कांग्रेसको झगडाले कांग्रेस खायो, कम्युनिष्टको झगडाले कम्युनिष्टलाई खायो– यो बेग्लै कुरा हो । 

माधव नेपालको विद्रोह

समाजमा एकबाट अर्काेले सिक्छ, एकको संस्कृति अर्काेले अपनाउँछ । राजनीतिमा पनि यस्तै हुन्छ र हुनु पनि पर्छ । कांग्रेसमा झगडा र विवादको जुन संस्कृति छ, विरोध पचाउने जुन संस्कृति छ त्यो नेकपाले किन सिकेन ? किन त्यसको प्रभाव नेकपामा परेन ?

कम्युनिष्टहरुको अनेक किसिमको प्रभाव कांग्रेसमा पनि परेको देखिन्छ । कम्युनिष्ट पार्टीजस्तै क्याडर बेस्ड पार्टी बनाउनुपर्छ भन्ने धारणा कांग्रेसमा बिकसित भएको देखिन्छ । यसका लागि केही प्रयाश पनि भएका छन् । तर, कम्युनिष्टको विवाद र झगडा शैली कांग्रेसले सिकेन, कांग्रेसबाट पनि कम्युनिष्टले सिकेनन् । 

कांग्रेस र कम्युनिष्टको चुनाव लड्ने शैली उस्तै छ, लुटिखाने शैली उस्तै छ, पद र पैसाका लागि मरिहत्ते गर्ने शैली उस्तै छ । पार्टीभित्रको सामन्ती शैली पनि उस्तैउस्तै छ तर विवाद र झगडा व्यवस्थापनको शैली उस्तै छैन । कम्युनिष्ट पार्टीभित्र फरक मत र आलोचनालाई आकाश खसेको रुपमा बुझ्ने परम्परा यथावत छ ।

माधव नेपाल पार्टी प्रमुख भइसकेका नेता हुन्, पूर्व प्रधानमन्त्री हुन् । नेपाली राजनीतिक चलनमा आफ्नो ठाउँ जसले लिन्छ उसको खुट्टा तानिन्छ, विरोध गरिन्छ । माधव नेपालले पनि त्यही गरेका हुन् । ओली र प्रचण्डभन्दा माधवले आफूलाई किन कम ठान्छन् ? ठान्दैनन् । कुनै दृष्टिले पनि कम होइनन् । अनि, ओली सामु किन लम्पसार पर्छन् ? पर्दैनन् । 

कम्युनिष्टहरुमा झगडा र विवाद हुँदा रमाइलो ‘डबल स्टाण्डर्ड’ देखिन्छ । उनीहरु आफू सत्ता (पार्टी या सरकारको) मा हुँदा पार्टीभित्र विरोधको शैली जनवादी हुनुपर्छ, पार्टी पद्धतिमा रहेर विरोध हुनुपर्छ भन्छन् र कारवाहीको डण्डा चलाउँछन् । आफू सत्तामा नभएर भित्तामा पुराइएको बेला चाहिँ विरोधको शैली नेपाली कांग्रेस भित्रको जस्तो हुनुपर्छ भन्छन् । 

झगडाको तेस्रो पक्ष

नेकपाभित्रको यो झगडाको एउटा मात्र आयाम छैन, बहुआयामिक छ । यो झगडा नै हो, विवाद होइन । कम्युनिष्ट पार्टी भित्रको विवाद जब सतहमा आउँछ तब त्यसको स्वरुप विवादको हुँदैन, त्यसले झगडाको रुप लिइसकेको हुन्छ । कांग्रेसमा विवाद हुनासाथ बाहिर देखिन्छ, कम्युनिष्टमा चाहिँ विवादले झगडाको रुप लिएपछि मात्र बाहिर देखिन्छ । 

माधव नेपाललाई थिचोमिचो भएकै हो तर गुटगतत चोचोमोचो कतातिर मिल्दै जान्छ त्यसै अनुसार यो झगडाको स्वरुप आगामी दिनमा परिवर्तन हुँदै जानेछ । केपी ओलीले माधव र प्रचण्ड गुटलाई मिल्न नदिने प्रयास गर्न सक्छन् । प्रचण्डले पनि माधव र ओलीलाई फुटाउने दाउपेच गर्नु स्वाभाविक हो । 

नेकपाभित्र झगडा सुरु भइसकेको छ । झगडाको झिल्को देखिइसकेको छ । यो झगडालाई डढेलो बनाउन उद्यत अनेक देशी विदेशी तत्वहरु ढुकेर बसेका छन् । ती तत्वहरु कति खेल्न सक्छन्, नेकपा भित्रका गुटका नेताहरु कुन हदसम्म गोटी बन्न तयार बन्छन्, त्यसले नै आगामी झगडाको स्वरुप निर्धारण गर्नेछ । 
 

ताजा खबर