कांग्रेस सभापति पनि बुथबाटै चुनिनुपर्छ

२०७५ असोज १६ मंगलबार १४:३२:०० मा प्रकाशित

 नेपाली कांग्रेसले तल्लो तहसम्म नै विधानका लागि सुझाव संकलन गर्न जाँदा आएका सुझाव मध्येको एउटा हो केन्द्रिय सदस्यले प्रत्यक्ष चुनाव लड्नु पर्ने । यो एउटा पक्ष हो सुधारको । पहिले केन्द्रिय सदस्य पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो । यद्यपि विधान कस्तो बन्ला भन्ने त छँदैछ तर पनि राय सुझावमा चाहिँ नेतृत्व तल्लो तहकै कार्यकर्ता पंक्तिसम्म पुग्नु पर्ने भावनाको यो एउटा प्रतिविम्व मान्न सकिन्छ । त्यसकारण पनि यो विधान यस्तो हुनुपर्छ जसले यतिबेला आफूकहाँ छु, पछि के होला भन्ने भन्दापनि नेपाली कांग्रेसलाई तल्लोतह अर्थात साधारण सदस्यसम्मलाई  कसरी सकृय  सहभागी गराउने भन्ने पक्षबाट हेरिनु पर्छ भन्ने नै यस्ता सुझावका मूल आसय हो भन्ने बुझ्न सकिन्छ । 

कांग्रेसले अहिलेसम्म कहिल्यै आफ्नो राजनीतिको संगठनात्मक नाफा–नोक्सानको पक्ष हेरेन । कांग्रेसका नेताले सधैँ आफ्नो नाफा–नोक्सानको मात्र हिसाव गरे भन्ने आरोप छ बाहिर । यतिखेर भने विधानकै सन्दर्भमा होस् त्यो समय आइसकेको छ । आफ्नो संगठनमा आमूल परिवर्तन अहिलेको आवश्यकता हो । एउटा लोकतान्त्रिक पार्टीले आफ्नो मूलभूत लक्ष्यको पहिचान गर्नुपर्छ नै । संगठनलाई पनि बढी लोकतान्त्रिक र सबैले अवसर र अपनत्व पाएको वा पाउने महशुस गराउन आवश्यक छ । संगठनलाई वास्तवमा नै नयाँ गति दिन सकियो भनेमात्र आफ्ना अवयवहरुमा  नयाँ रक्तसञ्चारका लागि धमनीहरु चुस्त र कृयाशील हुन्छन् । कृयाशील राख्नैपर्छ । कांग्रेससँग  लोकतन्त्रको भविष्य जोडिएकोछ भन्ने त यो छोटो समयको बाम शासनशैलीले नै देखायो । ती के के हुन भन्ने उदाहरण दिइरहनु नपर्ला । त्यो दलभित्रैबाट यस्ता कुराहरु प्रकट भैरहेका छन् । यस्तो बेला कांग्रेसले आफ्ना सदस्यलाई बढी सकृय र तयो भन्दा झनै बढी जवाफदेही बनाउनै पर्छ । 

यसको विकल्प छैन । अहिले चर्चामा आएको छ साधारण र क्रियाशीलपछि अब थपिने सदस्यता सम्मानित र विशेष हुने छन् प्रस्ताव भए अनुसार  । तर यो कति समयसापेक्ष छ भन्ने हेर्नुपर्छ र यसलले पार्टीमा गति भर्छ कि अर्को समस्या थप्छ भन्ने बेलैमा सचेत हुन आवश्यक छ । पार्टीमा सम्मानित र विशेष सदस्य थप्नुभनेको नयाँ तह निर्माण गर्नु हो । यसले कसलाई सम्मानित सदस्य बनाउने वा पार्टीका लागि कस्तो योगदान दिनेलाई विशेष सदस्य बनाउने हो भन्ने सुरुमै प्रश्न उठ्छ भने यसबारे सोच्नै पर्छ । यतिबेला कांग्रेसको सवैभन्दा तल्लो तहको सदस्यता भनेको साधारण र त्यसमाथिको कृयाशील सदस्यता हो । प्रस्ताव भएको यो तीन तहको सदस्यता प्रयोगमा नयाँ देखिए पनि यसको सान्दर्भिकता कति रहला र यसको व्यवस्थापन कसरी होला भन्ने प्रश्न उठ्छ नै । यस्तो प्रकारको सदस्यता नभएका कारण संगठन जाममा परेको भन्ने होइन । अहिले कांग्रेस आफ्नो संरचनात्मक सुधारमा लाग्नुपर्छ ।

साधारण सदस्यको भूमिका 

 कांग्रेसको संगठनको जग भनेको यसका साधारण सदस्य हुन् । तर यो बेलासम्म यस्ता सदस्यहरु भूमिका विहीन छन् । साधारण सदस्यले आमनिर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई मत दिने बाहेक आफ्नै संगठन भित्रका कुनैपनि निर्वाचनमा समेत यिनको भूमिका हुँदैन । अहिलेको खाँचो भनेको यो तहलाई सकृय बनाउनु  हो । यो तहले जिल्लाको नेतृत्व छान्ने, कृयाशील सदस्यतामा पनि यिनको भूमिका हुने हो भने यो सदस्यताको छुट्टै आकर्षण र महत्व हुनजान्छ । 

अझ यसलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छान्ने सम्मको तहमा लाने हो भने संगठनमा एउटा नयांँ उत्साह पैदा हुन्छ । धेरै तल्लो तह जति बलियो भयो यसले वास्तवमा नै कांग्रेस संगठनका हिसावले उदार लोकतन्त्रवादी दल हो भन्ने स्थापित हुन्छ । त्यसैपनि कांग्रेस वर्ग विशेषको पार्टी होइन । अर्थात यो सबै नेपालीको साझा पार्टी हो भन्ने सन्देश तलैसम्म पुग्छ भने साधारण सदस्य पनि संगठनको काममा कृयाशील हुन्छन् । केही न केही भूमिका भयो भने वा दिइयोभने यस्ता सदस्यहरुले आफैंलाई बढी जिम्मेवारीयुक्त ठान्न थाल्छन् । त्यसको अभावमा उनीहरुको  उर्जा त्यसै खेर गएको हुन्छ । जस्तो एउटा कुनै समारोह गरिँदा त्यसको जसले जस्तो जिम्मेवारी पाएको हुन्छ उसले त्यो अनुकूलको काम गर्छ । तर जिम्मेवारी नै  दिइएन भने उसको गिन्तीको उपस्थितिबाहेक अरु हुँदैन । माथि उल्लेख भएको तीन प्रकारको सदस्यता हो भने यसलाई पनि एउटा प्रयोग नै मानौ र कम्तीमा आफ्नो संगठनका निर्वाचनमा उनलाई पनि मतदाता बनाऔं । जस्तो कम्तिमा कृयाशील सदस्यता चुन्न साधारण सदस्यले पाए भने त्यो कृयाशील सदस्य यस्ता साधारण सदस्यप्रति जवाफदेही हुन्छ । यता यसो गरिँदा संगठनमा पनि कुनै नोक्सानी हुँदैन बरु यसको ढाँचामा परिवर्तन आउँछ ।  

बुथबाटै सभापति 

माथि एल्लेख भयो– सुझव आए अनुसार केन्द्रिय सदस्य बुथसम्म पुग्नु पर्छ । यो मासवेस पार्टीको एउटा आधार हो । जव केन्द्रिय सदस्य त्यहाँसम्म पुग्नु पर्छ भने पदाधिकारी किन नपुग्ने र यसलाई अझ विस्तारित गर्न सभापति नै किन नजाने भन्ने प्रश्न उठ्छ । व्यवहारिक पक्ष होलान तर कांग्रेसको इतिहास नै छ बुथदेखि केन्द्रीय समितिसम्मको गठन र सञ्चालन हुन्थ्यो पहिले  । केन्द्रीय सभापतिका लागि बुथ कमिटीका प्रतिनिधिले मत हाल्थे ।  यो पद्धतिलाई अवलम्वन गर्ने बेला आइसकेको छ कि भन्ने तर्फ पनि हेरौं । अनुमान गरौं एउटा कृयाशील सदस्यले महाधिवेशन प्रतिनिधि छान्छ भने यो सदस्यताको ओजन कति बढछ ? अझ त्यस्तो कृयाशील सदस्य छान्ने काम साधारण सदस्यबाट भयो भने केन्द्रिय नेतृत्व छनौटमा त्यो साधारण सदस्यको पनि भूमिका हुने नै भयो । यतिवेला एकल नेतृत्वको कि सामूहिक नेतृत्वको सभापति भन्ने बहस सुरु भएको छ । पदाधिकारी मनोनयन गर्ने कि निर्वाचनबाट भन्ने पनि आएको छ । जुनसुकै पद्धति अपनाइयोस यस्तो तल्लो तहबाट नै निर्वाचन गरिँदा पनि यसले कुनै नोक्सानी पार्दैन ।

यस्तो व्यवस्थाका लागि निर्वाचन असजिलो होला भन्ने प्रश्न उठला तर हामीसँग यसका उदाहरण छन् । भरखरैमात्र केन्द्र र प्रदेशको निर्वाचन एकैपटक गरिएको थियो । फरक हो त्यो आम निर्वाचत हो र यो चाहिँ दलको तर कुरा त उही नै हो नेतृत्वकोे छनौट नै । वडावडामै नेतृत्व छनौटको वुथ रहेभने त्यसले नेपाली कांग्रेस प्रति आम तहकै ध्यान आकर्षण गर्ने हुन्छ । त्यसै भएर होला महामानव वीपी कोइरालाले नेतृत्व छनौटको यस्तो पद्धति बसाउन खोज्नु भएको । यतिखेर देश दुइ विचारको ध्रुवमा छ  । एउटा बाम र अर्को लोकतान्त्रिक पद्धतिको । यस्तो ध्रुव अझै विस्तार हुने देखिन्छ । त्यस्तो बेला काग्रेसले आन्तरिक नेतृत्व छनौटमा पनि सर्वाधिक लोकतान्त्रिक पद्धति अपनायो भने वास्तवमा नै लोकतान्त्रिक अभ्यासको यो एउटा नमूना हुन जान्छ । सैध्दान्तिक रुपले पद्धति स्वीकारियो भने यसलाई कसरी व्यवहारमा उतार्ने भन्ने त्यसभित्रबाट खोजी हुन थाल्छ नै । 

कृयाशीलताको निश्चितता 

कांग्रेस उदार लोकतान्त्रिक दल हो भने नेताले क्रियाशील सदस्य बनाउने र तिनै सदस्यले नेता चुन्ने परिपाटीको  अन्त्य गर्नुपर्छ । मतदाता आफुले बनाउने र तिनै मतदाताबाट आफु चुनिने अहिलेको पद्धतिमा परिवर्तन गरियो भने यसले संगठन विस्तार र नेतृत्व छनौटमा आधारभूत परिवर्तन ल्याउँछ जो अहिले खोजिएको कुरापनि यही हो । विभिन्न ठाउँ आएका स्वतन्त्र सुझावमा पनि यी कुरा आएका छन् ।  नेपाली कांग्रेसको सिद्धान्त स्वीकार गर्ने, तोकिएको उमेर पुगेका र कांग्रेसको विधानअनुसार अयोग्य नठहरिएको सबै नेपाली यसको सदस्य हुन पाउनुपर्छ । पार्टीको सदस्यता खुला हुनुपर्छ भन्नुको तात्पर्य जस्लाई जतिबेला मन लाग्छ सदस्य हुनपाउने भन्ने हैन । पार्टीले आफ्नो सिद्धान्त, नीति र सदस्यले तिर्नुपर्ने शुल्क तथा पालना गर्नुपर्ने आचरणसमेत स्पष्ट खोलेर सार्वजनिक सूचना जारी गर्ने र निश्चित् अवधिभित्र परेका आवेदन छानबिन गरी सदस्यता पाउने वा नपाउने निर्णय गर्ने व्यवस्था मिलाउनुपर्छ । कुनै व्यक्तिले सदस्यता पाउने वा कसैले नपाउने निर्णय पनि पारदर्शी हुनुपर्छ ।

क्रियाशील सदस्यका हकमा त झन् स्पष्ट पारदर्शी व्यवस्था गरिनुपर्छ । अनिमात्र संगठनमा नयाँ सोच र व्यक्तिलाई ठाउँ हुन्छ । अहिलेको अवस्था कस्तो छ भने एउटा वुथको कृयाशील सदस्यता केन्द्रले स्वीकृत गरेपछिमात्र प्राप्त हुन्छ । यो एउटा मतदाताको पहिचान जस्तै हुन गएर यस्तो सदस्यता दिनेबेला नेतृत्वको कस्तो घम्साघम्सी चल्ने गरेको छ भन्ने विगतले नै देखाइसकेको छ । साधारण सदस्यले कृयाशील सदस्यता छान्ने हो भने यो पाटो सर्वाधिक लोकतान्त्रिक पद्धति अनुसार आफैं टुंगो लाग्ने छ । 

स्वतः कृयाशीलता  

साधारण सदस्य पार्टीमा प्रवेश गर्ने समयमै निर्धारित प्रक्रिया र सर्तअनुसार स्वतः क्रियाशील सदस्यता पाउने वा नपाउने व्यवस्था गरियो भने कृयाशील सदस्यताका लागि कुनै नेताको पक्षपाती हुन पर्दैन । यसले त्यसपछिका प्रकृयाहरुमा उसको सही विवेक प्रयोग हुने ठाउँ दिन्छ । यसरी प्रकृया पुरा गरेर आएको एउटा सदस्यले सदस्यले केन्द्रीय सभापति चुन्न पायो भने संगठन आफंै विस्तार हुन जान्छ र त्यस्तो सभापतिसँग यो तहका कार्यकर्ताको प्रत्यक्ष सम्पर्क बन्न थाल्छ । यसैले २०१५ सालमा जस्तै तल्लो तहको संरचना (अहिले वडास्तरको)मै सभापतिको चुनावमा मतदान गर्ने व्यवस्थाको पनि चर्चा भएको होला । विभिन्न संघसंसथाहरुले अहिले पनि यस्तो अभ्यास गरिनै रहेका छन् भने लोकतान्त्रिक राजनीतिक दलले यस्तो सर्वाधिक लोकतान्त्रिक पद्धति अपनाउँदा अरुका लागि पनि यो उदाहरणीय बन्दछ ।

अहिलेको अवस्था कस्तो छ भने महासमिति र महाधिवेशन प्रतिनिधि छनौट भए सँगै एक प्रकारले त्यसपछिको नेतृत्व कसको हुने छ भन्ने अनुमान सुरु भैहाल्छ । एउटा कुनै व्यक्ति साधारण सदस्य बन्न खोज्यो भने मापदण्ड पुरा भएपछि उसको कृयाशील सदस्य बन्ने बाटो खेल्नु पर्छ । यस्तो व्यवस्थाले अग्रिम रुपमानै मतदाताको पहिचान हुने गरेको अहिलेको व्यवस्थालाई अन्त्य गर्ने छ र त्यो साधारण सदस्य कामको आधारमा कृयाशील बन्ने छ । त्यस्तो बेला कृयाशील दिने नेतृत्वले उसमाथि विशेष गुन लगाएको भन्ने ठाउँ रहँदैन । यहीँ बाट सुरुहुन्छ उसको विवेकको स्वतन्त्र प्रयोग हुने संस्थागत ठाउँ खडा हुने भनिएको पनि ।

विधान अनुसार काम नहँुदा के हुने ? 

कांग्रेसमा विगत समयदेखिनै एउटा परिपाटी जस्तै बनेको छ विधानमा तोकिएको काम तोकिएको समयभित्र नगरिँदा पनि हुने अवस्था । जस्तो महाधिवेशन सम्पन्न भएको एउटा निश्चित समयभित्र प्रस्तावित निकायहरु खडा भैसक्नु पर्ने, महासमितिको बैठक वर्षदिनमा बस्नै पर्ने, भातृ संस्थाहरुले एउटा निश्चित समयमा आफनो महाधिवेशन गर्नु पर्ने आदि । यी कुरा भएनन् भने त्यसको जिम्मेवारी कस्ले लिनेभन्ने नै भएन । फलस्वरुप केन्द्रले दुइमहिनाभित्र गर्नुपर्ने काम दुइवर्षमा पनि नगरिएका जस्ता उदाहरण दोहोरिँदै गएका छन । त्यसैको सिको भैरहेकोछ भातृस्थामा पनि । हुँदै जाँदा पाँचवर्षमा दुइवटा अधिवेशन हुनुपर्ने ठाउँमा एउटा पनि नभएको र दुइकार्यकाल सकिएर अझबढी समय लम्विँदापनि तदर्थमै चलिरहेको अवस्था आए पटकपटक । त्यसकारण तोकिएको समयमा तोकिएको पदाधिकारीले काम नगर्दा उसले के दण्डसजाय भोग्नु पर्ने हो त्यो कुरा विधानमानै स्पष्ट लेख्न आवश्यक भएको मानिएको हो ।
(लेखक नेपाली कांग्रेसका निवर्तमान सांसद तथा दुइ कार्यकाल ललितपुरका जिल्ला सभापति हुन्)

ताजा खबर