दशैंको बेला यात्रुको विश्वास जित्ने चुनौति: कहिले सुध्रिएला निगमको आन्तरिक उडान ?

काठमाडौं । काठमाडौंबाट सिमरा जान नेपाल वायुसेवा निगम (नेवानि) को आन्तरिक उडान भर्ने जहाजबाट यात्रा गर्दा १९५० रुपैंयाँमै पुग्न सकिन्छ । तर बुद्ध एयरले सोही गन्तव्यको लागि ३२१० रुपैंयाँ भाडा लिने गरेको छ । 

यत्ति ठूलो रकमको फरक भएतापनि बुद्ध एयरले सिमराको लागि दैनिक न्यूनतम ५ देखि अधिकतम ११ वटासम्म उडान भर्दै आएको छ । त्यो पनि ‘फुल अकुपेन्सी’मा । नेवानिको जहाजमा भने यात्रु पाउनै गाह्रो, पाएपनि ती यात्रुले दोहो¥याएर यात्रा गर्न रुचाउँदैनन् । 

सिमरा त उदाहरण मात्रै हो । पोखरा, धनगढी, भद्रपुर सबैतिरको कहानी उस्तै हो । 

यसको कारण खोज्न नेवानिको टिकट लिएका यात्रुहरुसँग सोध्दा सहजै उत्तर आउँछ । केहि समयअघि नेवानिको टिकटमा यात्रा गरेका यात्रु दिनेश प्रजापति भन्छन्, ‘ नेवानिले कतिबेला फ्लाइट रद्द गर्छ भन्ने ठेगान नै हुँदैन । ढुक्कसँग गन्तव्यसम्म जान पाइँदैन भन्ने तनावले गर्दा महँगोमा नीजि एयरलायन्सको टिकट लिन बाध्य छु ।’  

एउटा फ्लाइट रद्द भएपछि गाडी खोज्नुपर्ने वाध्यताको कारणले गर्दा पनि नेवानिको टिकट लिन तनाव हुने बताउँदै दिनेश प्रश्न गर्छन्, ‘काममा हिँडेको मान्छेले यस्तो अनिश्चिततामा कसरी नेवानिमा यात्रा गर्नु ?’   व्यवसायिकता प्रमाणित गर्न सकेमा आफ्नो पहिलो रोजाइमा नेवानिनै पर्ने उनले बताए । सस्तो भाडादर र सरकारी स्वामित्वको संस्था भएकोले पनि नेवानिले राम्रो गरोस् भन्ने कामना रहेको पनि उनको भनाई छ । 

नेवानिसँग हाल आन्तरिक उडानको लागि ९ वटा जहाज छन् । यीमध्ये अधिकांश ग्राउन्डेड गर्दै केहि गन्तव्यमा मात्रै उडान भर्ने र त्यसमा पनि अन्तिम समयमा आएर फ्लाइट रद्द गर्ने गलत प्रवृत्तिले सम्भावित यात्रु तथा विश्वसनियता दुबै गुमाउँदै गएको छ । 
त्यस्तै विराटनगर रुटको कथा अलिक भिन्न छ । नेवानिको आन्तरिक उडानमा विराटनगर क्षेत्र सबैभन्दा बढि चल्ने क्षेत्रमा पर्छ । तुलनात्मक रुपमा नियमित पनि रहेको यो रुटमा भने यात्रुले सधैं टिकट अभाव हुने गरेको गुनासो गरेका छन् ।

विराटनगर घर भइ काठमाडौंमा बस्ने सीता मगरले ३–४ पटक नेवानिमा यात्रा गरेको अनुभव सुनाउँदै भनिन्, ‘नीजि एयरलायन्समा भन्दा यात्रा गर्दा बढि समय लागेपनि सस्तो भएकोले म त सबैभन्दा पहिलो नेपाल एयरलायन्सकै टिकट खोज्छु । तर चाहिएको बेला टिकट नै पाइँदैन । जम्मा एउटा फ्लाइट छ, त्यसमाथि समय मिलाउन नसक्दा पनि नीजि एयरलायन्सकै टिकट लिनुपर्ने वाध्यता    छ । ’ 
नेवानिको विराटनगरको एकतर्फी भाडा हाल २२४० देखि सुरु भएर ६०८० सम्म रहेको छ । नीजि एयरलायन्सको भाडादर ४७०० देखि ७८०० सम्म रहेको छ । बुद्ध एयर र यती एयरलायन्सले विराटनगर क्षेत्रमा दैनिक न्यूनतम ५ देखि अधिकतम १० उडान भर्दै आएका छन् । त्यस्तै श्री एयरले ३ देखि ५ र सौर्यले २ देखि ३ उडान भर्दे आएका छन् । 

आन्तरिक विमानस्थलमा काठमाडौं पछि सबैभन्दा व्यस्त विमानस्थल विराटनगर नै हो । तर पनि यस्तो चल्तीको एयरपोर्टमा फ्लाइट थप्नेमा नेवानिको तत्परता देखिँदैन । केहि समय अगाडि साताको ३ दिन दैनिक २ उडान भर्न गरेको योजना ‘गैर जिम्मेवार’ कर्मचारी र व्यवस्थापनको कारण तुहिएको जानकारहरु बताउँछन् ।

यहि प्रवृत्तिले एक समय राम्रो चल्न थालिसकेको धनगढी रुटमा अहिले नेवानिले यात्रु पाउन मुश्किल छ । भद्रपुर जस्तो चल्तीको क्षेत्रमा समेत सातामा ३ दिन मात्र उडान भर्दै झारा टार्दै आएको नेवानिले आन्तरिक उडानलाई कति बेवास्ता गरेको छ भन्ने स्पष्टै हुन्छ । 

  दुइ दशकअघि २ वटा जहाजबाट आन्तरिक उडान थालेको बुद्ध एयरले विभिन्न क्षमताका जहाज थप्दै अर्बांैको व्यापार गरिसक्यो भने यती र श्री एयरलायन्स पनि त्यहि मार्गमा अग्रसर देखिन्छन् । तर नेवानिको व्यवस्थापन आन्तरिक उडान तर्फ मासिक १ करोड भन्दा बढि घाटा भएको तथ्यांक सार्वजनिक गर्दै निसंकोच बसिरहेको देखिन्छ । 

केहि नयाँ कर्मचारीमा नेवानिलाई प्रतिस्पर्धी बनाउनु पर्छ भन्ने भाव भएकोले अझै नेवानि प्रतिको विश्वास यात्रुहरुमा बाँकी रहेपनि केही स्वार्थी कर्मचारीले भने गुप्तरुपमा नीजि विमान कम्पनीको हितमा काम गर्ने गर्नाले पनि नेवानिको यो हविगत भएको कर्मचारीहरु नै सुनाउँछन् । 

हालसालै चिनियाँ जहाज हार्बिन वाई–१२ जहाजले पर्यटकिय चाप भएको लुक्ला क्षेत्रमा परीक्षण उडान समेत गरिसकेको छ । विगतमा मेघौली र सिमरा जस्ता सुरक्षित गन्तव्यमा पनि नउडाइ चिनियाँ जहाजमा भएको कमजोरीको बखान गर्ने गरेको भएपनि हाल यी जहाजको प्रयोग गर्ने तयारी नेवानि व्यवस्थानको नयाँ नेतृत्वले गरिरहेको बुझिएको छ । 

हालै पुनः नियुक्त भएका कार्यकारी अध्यक्ष मदन खरेलले चिनियाँ जहाजहरुको बारेमा नकारात्मक भ्रम फैलाइएको र आन्तरिक उडानमा सुधार गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । हवाई व्यवसायमा कुशल व्यवस्थापकको परिचय बनाईसकेका खरेलले निगमको आन्तरिक संगठनमा पनि क्षमतावान अधिकृतलाई विभागीय जिम्मेवारी दिएर निगमको खस्किँदो साख जोगाउने पहल सुरु गरेको बुझिएको छ । हालै उनले निगमका निर्देशक युवराज अधिकारीलाई अर्थ विभागको जिम्मेवारी सुम्पिएको थाहा भएको छ । 
निगमको खस्किँदो साख बचाउँदै भरपर्दो सेवा दिन सबै क्षेत्रमा आवश्यक सुधार गर्न कार्यकारी अध्यक्ष खरेलले गृहकार्य सुरु गरिसकेको बताईएको छ ।

विमान खरिद प्रकरणमा भएको ठूलो आर्थिक घोटाला,सेवामा गिर्दो साख र निगमका विमानले दिने सेवालाई अविश्वसनीय देखाउन एजेन्टका रुपमा भूमिका निर्वाह गर्ने कामचोर कर्मचारीलाई उपयुक्त व्यवस्थापन गर्न सकेमा मात्र नेतृत्व परिवर्तनको पुष्टी  हुनसक्नेछ । नवनियुक्त कार्यकारी अध्यक्ष खरेलले यी समस्या समाधान गरी निगमलाई व्यवसायिक हवाई सेवा दिन सक्षम बनाए भने उनको उपस्थितिको खास अर्थ लाग्न सक्छ । होइन भने निगम डुवाउन र क्षमतावान कर्मचारीमाथि डण्डा वर्षाउन त कंसाकार नै पर्याप्त थिए भनेर हवाई यात्रुले चर्चा गर्नेछन् ।

ताजा खबर