कोतपर्वको तयारीः जंगबहादुर माधव बन्ने कि प्रचण्ड ?

२०७५ असोज १४ आइतबार १६:५९:०० मा प्रकाशित

सत्तारुढ नेकपाको सतहमा देखिन थालेको झैझगडाको गहिरो अर्थ छ । प्रधानमन्त्री केपी ओली तथा उनको सरकार विरुद्ध भइरहेको घेरावन्दी र आक्रमणको खास अर्थ छ । अहिले जे भइरहेछ स्वाभाविक भइरहेको छैन । राजनीतिको आकाशमा कालो वादल देखा पर्न थालेको छ । यो कालो वादलले संकेत गर्छ– हामी कुनै नयाँ खालको कोतपर्वको सँघारमा छौं ।

कोतपर्व के हो ? यसमा प्रष्ट हुन जरुरी छ । बहुमतको वर्तमान सरकार ढाल्नु र अस्थिरता पुनरावृत्त गर्नु नै कोतपर्व हो । अहिले केपी ओली प्रधानमन्त्री छन्, ओलीलाई ढाल्नु नै कोतपर्व हो । ओलीको ठाउँमा शेरबहादुर देउवा, माधव नेपाल या प्रचण्डले बहुमतको सरकार चलाएका थिए भने पनि कोतपर्वको तयारी यसरी नै हुन्थ्यो । अर्थात्, नेपालमा स्थिर सरकार चल्न नदिनु नै कोतपर्व हो । स्थिर सरकार जसको नेतृत्वमा भए पनि उसलाई हटाउनु नै कतिपय शक्ति र बलिया व्यक्तिहरुको जीवनवृत्ती हो ।
विभिन्न खाले पात्र तथा शक्तिहरुलाई अहिले नेपालमा कोतपर्व चाहिएको छ । त्यस्ताहरु विभिन्न वर्गका छन् ।

सुँगुर र नेपाली नेता

स्वर्ग जान्छस् भनेर सोध्दा सुँगुरले विष्टा खान पाइन्छ कि पाइँदैन भनेर सोधेको थियो रे । विष्टाको बानी परेकालाई अरुथोक खान मन नपर्नु स्वाभाविक हो । हाम्रा धेरैजसो नेता सुँगुर स्वभावका छन् । तिनलाई अस्थिरता नभई हुँदैन । स्थिरतामा आरामसँग बस्न तिनीहरु सक्दैनन् । अस्थिरताको बानी जो परेको छ । 

हिलोमैलोमा सुँगुर फस्टाए झैं अस्थिरतामा एकथरी नालायक पात्रहरु नेता भए, अस्थिरतामा मात्र बाँच्ने बानी परेका नेता छन् । अस्थिरतामा मात्र बारम्बार आफ्नो भाग्योदय हुनसक्छ भन्ने तिनले बुझेका छन् । पाँच वर्ष कुर्ने धैर्य गर्ने बानी नेपाली नेताहरुमा लागिसकेको छैन । 

यस्ता पात्रहरुलाई कोतपर्व चाहिएको छ ।

उकुसमुकुस 

राजनीतिक स्थिरता तथा स्थिर सरकार हुनु भनेको उकुसमुकुस वातावरण हुनु हो भन्ने बुझाई एक खालका मानिसहरुको छ । तिनलाई यो उकुसमुकुसको वातावरण अन्त्य हुनुपरेको छ । उकुसमुकुस अर्थात् स्थिर सरकारको अन्त्य । केपी ओली पदच्यूत हुनु परेको छ । केपी ओली पदच्यूत हुनु नै मुलुकका सबैखाले समस्याको समाधान हो, ओली पदच्यूत भए भने बलात्कारका घटना समेत हुँदैन भन्ने मनोविज्ञान सिर्जनामा एकखाले शक्तिहरु कम्मर कसेर लागेका छन् । 
यिनलाई चाहिएको छ कोतपर्व अर्थात् केपी ओलीको बहिर्गमन ।

प्रतिस्पर्धीलाई चाहिएको कोतपर्व

नेकपाभित्र केपी ओलीका प्रतिस्पर्धी सबैलाई कोतपर्व चाहिएको छ । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रचण्ड लगायतका पात्रहरुलाई कोतपर्व नभई भएको छैन । ओलीले आरामसँग सरकार चलाएको देख्न यिनले सक्दैनन् । किनभने यिनीहरु पनि नेपालको पछिल्लो कालको अस्थिरताको वीष मिश्रित राजनीतिक पानी खाएका प्राणी हुन् । यी प्राणीहरुले मौका पर्नासाथ कोतपर्व मञ्चन गर्नेछन् ।

भारतलाई चाहिएको कोतपर्व

नेपालमा राजनीतिक स्थिरता आफ्नो हितमा हुँदैन भन्ने ठान्छ भारत । भारतको सात दशकदेखिको नेपाल नीतिको सारसंक्षेप :

नेपाल हिँडोस् तर नदगुरोस्
— नेपाली भोकै नमरुन् तर पेटभरी खान पनि नपाउन्
— नेपालमा रक्तपात नहोस् तर नियन्त्रित हिंसा र अशान्ति भइरहोस्
— भारत बाहेक विश्वमा अरु देश पनि छ भन्ने नेपालले थाहै नपाओस्
— नेपाल आत्मनिर्भर नहोस्, भारत निर्भर रहिरहोस्

भारतको यो नीति निरन्तर छ, यो नीतिलाई परिपुष्ट गर्न नेपालमा अस्थिर सरकार चाहिन्छ उसलाई । नेपालमा स्थिर सरकार बन्नासाथ त्यस्तो सरकारले विश्वमा भारत बाहेकका देशहरु पनि छ भन्न थाल्छ, छिमेकमा भारत बाहेक चीन पनि छ भन्न थाल्छ । यो कुरा भारतलाई हजम हुँदैन । त्यसैले ओली सरकारको बहिर्गमन भारतको आवश्यकता बन्दै गएको छ । 

भारत र चीन दुवैसँग मित्रवत् सम्बन्ध राख्छु भन्ने सरकार बन्यो भने त्यसलाई भारतले चीनमुखी सरकार ठान्छ । अर्थात्, ओली सरकार भारतीय नजरमा चीनमुखी हो । त्यसैले भारतलाई नेपालमा कोतपर्व चाहिएको छ ।

नयाँ जंगबहादुर को ?

नेपालको बहुमतको स्थिर सरकार ढालेर कोतपर्व गर्न चाहिन्छ एकजना जंगबहादुर । त्यो जंगबहादुर को हुन्छ ? धेरैको बुझाईमा त्यो जंगबहादुर प्रचण्ड हुन्छन् । 

केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निवासमा केही पत्रकारहरुलाई बोलाएर आफ्ना केही कुरा राखे । उनले प्रत्यक्ष रुपमा खासै नयाँ कुरा त केही भनेनन् तथापी सम्पूर्ण कुराकानी अफ दि रेकर्ड भने । उनले प्रष्ट संकेत गरे– आगामी दिनमा कुनै राजनीतिक उथलपुथल भए त्यसमा आफ्नो भूमिका हुने छैन । र, यो पनि भने– लेख तथा विश्लेषणमा मेरा भनाई प्रयोग गर्न सक्नुहुन्छ । 

प्रचण्डसँगको भेटघाटबाट बाहिरिएपछि बाटोमा पत्रकार देवप्रकाश त्रिपाठीले ठट्यौलो तर गम्भीर टिप्पणी गरे । उनको भनाई थियो- प्रचण्डबाट इमान र राजनीतिक स्थिरताको अपेक्षा गर्नेहरु मूर्ख हुन् ।

कुनै राजनीतिक कोतपर्व भए त्यसमा प्रचण्डको भूमिका निर्णायक हुनेछ । किनभने अहिलेको नेपाली राजनीतिको चाबी पात्र प्रचण्ड नै हुन् । प्रचण्डको भूमिका पर्दा अगाडि हुन्छ कि पर्दा पछाडि ? यो जटिल पहेली हो । अनौपचारिक कुराकानीमा उनले जोड दिएर भनेका थिए– मैले दुईटा ठूलाठूला गल्ती गरें, अब गल्ती गर्दिन । यसमा पनि देवप्रकाशको गम्भीर ठट्टा उल्लेख गरौं । उनको भनाई थियो-‘प्रचण्डको आशय के हो भने अब म पूरानो गल्ती गर्दिन, नयाँ गल्ती गर्छु ।’

प्रचण्डसँगको कुराकानीमा भारत र चीनको विषय हुने नै भयो । केही दिन अघिको भ्रमणमा भारत खुशी भएको अनि चीन अलि बेखुशी भएको सार्वजनिक टिप्पणीलाई प्रचण्डले इन्कार गरेनन् । ओली सरकारप्रति आफू रुष्ट भएको पनि उनले लुकाएनन् अनि सुधार गर्ने ठाउँ सकिएको छैन पनि भने । 

कूल मिलाएर प्रचण्डको आशय थियो- यही रुपमा ओलीलाई अगाडि बढ्न दिइँदैन, केही हुनेवाला छ । साथमा उनले अब गल्ती नगर्ने टिप्पणी पनि नत्थी गरे । अर्थात्, पुरानो स्वभाव अनुसारकै रहस्यमय कुरा गरे । आफ्नो मुड के छ र आगामी मूभ के हुन्छ भन्ने सकभर खुल्न दिएनन् । 

तेस्रो गल्तीको तयारी

प्रचण्डको तेस्रो ठूलो गल्ती नै सम्भवत कोतपर्व ठहरिनेछ । तर, प्रचण्डले तेस्रो गल्ती गर्लान् ? त्यस्तो गल्ती आफैं गर्लान् कि अरुलाई गराउलान् ?

यहाँनेर प्रचण्डको दुई ठूला गल्ती उल्लेख गरौं । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिनु आफ्नो ठूलो गल्ती भएको उनले विगतमा पनि भनेका छन् । यसपटक चाहिँ १२ बूँदेका सरोकारवालाहरुलाई तत्कालै चिढाउनु आफ्नो गल्ती थियो भनी स्वीकार    गरे ।

को हुन् १२ बूँदेका सरोकारवालाहरु ? इशारा काफी छ । १२ बूँदे भारतले गराएको थियो । पछि प्रचण्डले भारतलाई चिढाए, अविश्वशनीय बने । शायद प्रचण्डले यही स्वीकारेका हुन् । उनको यो आशय पनि प्रष्ट थियो- अब भारतलाई रिसाउने बनाउँदिन । 

भारतलाई नेपालमा कोतपर्व नभई भएको छैन भन्ने माथि नै उल्लेख गरियो । कोतपर्वका लागि उपयुक्त नायक प्रचण्ड नै   हुनसक्छन् । उनको विगत स्वभावले पनि यही भन्छ । प्रचण्डले कोतपर्व शब्द शायद मन नपराउलान्, उनले कोतपर्वलाई ‘क्रमभंग’ या ‘छलाङ्ग’ भन्छन् होला । कोतपर्वमा प्रतिपक्षी कांग्रेसको भूमिका ताली पिट्नेभन्दा धेरै केही हुन सक्दैन । जे हुन्छ नेकपाभित्रबाट हुन्छ, जे हुन्छ नेकपा भित्रै हुन्छ । नेकपाभित्र प्रचण्ड एक्लैले कोतपर्व गर्न सक्दैनन्, यो वास्तविकता हो । अर्काे वास्तविकता के हो भने प्रचण्ड बिना पनि कोतपर्व हुन सक्दैन ।   

प्रचण्डको परिवन्द

प्रचण्डको परिवन्द के हो भने विगतमा सरकार ढालेजस्तो हुने छैन आगामी उथलपुथल । कोतपर्व सरह नै हुनेछ । आगामी कोतपर्वमा अलिकति पनि भुलचुक भयो भने प्रचण्डको सम्भवत अन्तिम ठूलो गल्ती हुनेछ । त्यसैले यसका लागि उनले अरु कसैलाई अगाडि बढाउन सक्नेछन् । ती पात्र सम्भवत माधव नेपाल हुनेछन् । ओली विरुद्ध प्रयोग गर्न सकिन्छ भनेरै प्रचण्डले वामदेवलाई पनि संसदमा भित्र्याउन खोजेका थिए तर असफल भए । 

लेनिनले भनेका थिए- शत्रुको शत्रु मित्र । प्रचण्ड र माधव नेपाल यही कारण एक ठाउँ आउन सक्छन्, मिलेर कोतपर्वको तयारी गर्न सक्छन् । यसमा माधव नेपाल सजिलो ठाउँमा छन्, प्रचण्ड अप्ठेरो ठाउँमा छन् । माधवलाई पार्टी अध्यक्ष नबनेर फरक पर्दैन तर प्रचण्डको हकमा पार्टी अध्यक्ष नबनी भएको छैन । एउटा बलियो राजनीतिक सुरक्षा घेरामा नबसी या पार्टीमा बलियो पकड नबनाई प्रचण्ड नामको व्यक्तित्व कायम रहन सक्दैन । उनी जुन पृष्ठभूमिबाट आए, त्यो पृष्ठभूमि हेर्दा पार्टी अध्यक्ष बन्नैपर्ने बाध्यकारी परिस्थितिमा छन् प्रचण्ड ।  

जबकि माधवलाई प्रधानमन्त्री मात्र बने पनि पुग्छ, प्रचण्डको हकमा बरु प्रधानमन्त्री पद पर्खँदै गरौंला, पार्टी अध्यक्ष चाहिँ बन्नैपर्छ भन्ने अवस्था छ । पार्टी अध्यक्ष बन्न दुई वर्ष कुर्नु छ । सहमतिमा पार्टी अध्यक्ष पद पाइएला भन्ने प्रचण्डलाई खासै विश्वाश भएको देखिँदैन । सहमतिका लागि वाध्यकारी अवस्था सिर्जना गर्न अर्थात्, चुनाव नगरी अध्यक्ष पद हात पार्न अहिले देखि नै वातावरण बनाउनुपर्छ भन्ने प्रचण्डलाई लागेको हुनुपर्छ । यही कारण उनले भारत र चीनको दौडाहा गरे । यही कारण भित्रभित्रै अतिरिक्त कियाकलापहरु गरिरहेछन् । 

बादल बाक्लो हुँदैछ

प्रधानमन्त्री पदबाट ओलीलाई अहिले अविश्वाशको प्रस्तावबाट हटाउन सकिँदैन तर अर्काे सजिलो उपाय छ । ओलीले नमान्दा नमान्दै पनि प्रचण्डले उपेन्द्र यादवको पार्टीलाई मन्त्रिमण्डलमा घुसाए । जुन दिन उपेन्द्रले मन्त्रिमण्डल त्याग्छन् त्यसको ३५ दिनभित्र ओलीले संसदमा विश्वाशको मत लिनुपर्ने हुन्छ । त्यो अवस्थामा कोतपर्व मञ्चन हुनसक्छ ।

प्रचण्ड र माधव मिलेको अवस्थामा ओलीलाई अल्पमतमा पार्न सक्छन् । तर, ओलीलाई हटाउन जति सजिलो छ हटाएपछि उत्पन्न हुने परिस्थितिको सामना गर्न त्यति नै गाह्रो हुनेछ । ओली सरकारले गतिलो काम गरेको छैन तर यो सरकार विगतका अल्पमतको त्रिशंकु सरकारहरुभन्दा कैयन दृष्टिले गतिलो छ । यस्तो सरकार किन ढाल्ने ? यो प्रश्नको जवाफ अविष्कार गर्दै लैजानु पर्ने हुन्छ । र, ओली सरकारलाई नालायक ठहराउन अनेक ढंगले तिलम्सी प्रचारबाजी भइरहेको पनि छ । तिललाई पहाड बनाउने परिपंच चलिरहेको पनि देखिँदैछ । एउटा ठोस वातावरण बनाइसकेपछि कोतपर्व मञ्चन हुनेछ । 

र, यो सबै भइरहँदा ओली हात बाँधेर बस्ने छैनन्, उनले पनि ठोस कदम चाल्नेछन्, आफ्नो अवस्था सुदृढ बनाउन प्रयत्न गर्नेछन् ।
ओली सरकार विरुद्ध छायाँ युद्ध सुरु भइसकेको छ । यो युद्धले कोतपर्वको रुप नलिओस् भनेर कामना मात्र गर्न सकिन्छ, त्योभन्दा धेरै केही गर्न सकिन्न । 


 


 

ताजा खबर