प्रधानमन्त्रीको राष्ट्र संघ यात्रा खर्च : ओली १३ करोड, खिलराज छ गुना बढी, अरुको यस्तो छ

२०७५ असोज १२ शुक्रबार १७:१७:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघ महासभालाई सम्वोधन गर्दा दुइ मिनेटको एक करोड खर्च भएको छ । प्रधानमन्त्री ओलीले हाल जारी राष्ट्र संघको ७३ औं महासभामा भाग लिने क्रममा भएको खर्चको विवरण हेर्दा भ्रमण खर्च सरदर सम्वोधनमा लागेको समयको आधारमा दुइ मिनेटको एक करोड रुपैंयाँ हुने प्रधानमन्त्री कार्यालय सूत्रले बताएको छ । उनको यो भ्रमण १३ दिनको हो । सम्वोधन २५ मिनटको । यस्तो सम्वोधन एउटा औपचारिक काममात्र हो । 

 देशको प्रतिनिधित्वका लागि यस्ता सभाहरुमा प्रधानमन्त्री या सरकारको कुनै प्रतिनिधिले भागलिने परम्परा छ । यस्ता मञ्चमा प्रधानमन्त्रीको उपस्थिति र सम्वोधनले देशको गरिमा बढाउँछ भन्ने मान्यताले नेपालका प्रधानमन्त्रीहरु नै राष्ट्र संघ महासभामा जाने परम्परा छ ।  

यही सभामा दुइवटा छिमेकी देश भारत र पाकिस्तानले प्रधानमन्त्रीको साटो परराष्ट्र मन्त्री पठाएका थिए । ती देशका प्रतिनिधि मण्डल सदस्यको संख्या १० पनि नाघेको थिएन ।

यता प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको संख्या नै अन्योलमा राखिएको छ । भ्रमण अवधि १३ दिनको भन्ने त निश्चित भयो तर भ्रमण दलका सदस्य संख्या भने खुलाईएको छैन । अनौपचारिक रुपमा सार्वजनिक भएको सूचना अनुसार भ्रमण दलमा दुइ दर्जनको संख्यामा सदस्यहरु सहभागी थिए । केहीपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले गरेको आधा दर्जनको टोली पनि प्रधानमन्त्रीको टिममा मिसिएको बुझिएको छ । यो समेत थपिँदा राष्ट्र संघमा जाने टोलीको संख्या तीनदर्जनको हाराहारी पुगेको देखिन्छ ।  

यो सभामा कुनै पनि देशको प्रतिनिधित्वको संख्या ५ जनाको मात्र हुन्छ । यसमा सभाले एकजना पनि थप्न दिँदैन,पाँच बाहेक त्यो सभाले कसैलाई चिन्दैन पनि । बाँकी व्यक्तिको काम घुमघाम र किनमेल मात्र हो भन्ने अनुभवीहरु बताउँछन् ।  

  १३ दिनको खर्च १३ करोड 

एउटा हिसावले देखाउँछ १३ दिनको यो भ्रमणमा खर्चपनि १३ करोड नै भएको देखिन्छ । विगतमा प्रतिनिधिमण्डलको कार्यक्रम स्वीकृत गर्दा नै खर्चको विवरण पनि अनुमोदित र सार्वजनिक हुन्थ्यो । यो पटक त्यस्तो भएन । प्रतिनिधि मण्डलमा सहभागी व्यक्तिको नाम पनि खुलेन । मुख्य चारपाँचजनाको नाम दिएर ‘सहितको टोली’ भनियो । त्यो ‘सहित’मा कतिजना परे भन्ने पनि खुलाईएन ।    

देउवाको भ्रमणमा ८ करोड 

ओली नेतृत्वको यो सहभागिता ७३ आंै महासभाको हो । अघिल्लो वर्ष प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन यस्तै २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका थिए । ३ असोजमा न्युयोर्क गएर राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्केका उनको खर्च करिव आठ करोडको थियो नौ दिनको भ्रमणमा । जानुभन्दा अघि करिव पाँचकरोड स्वीकृत र पछि खर्च बढेको भनी तीन करोड थपिएको जनाइएको थियो त्यसबेला । तीनकरोड भनेको तीनलाख डलर थपिनु हो । 

हिसाव राख्ने अनुसार स्वीकृत रकमको लेखाजोखा हँुदैन । टिपोटकर्ताले जति देखाइदियो त्यसैमा भर पर्नुपर्छ ।  टिप्समा एकहजार दिइयो र दुइ हजार देखाइदियो भने नेपाली रुपैयाँ एकलाखकै तलमाथि हुन्छ । यसकारण पनि यस्ता भ्रमणको खर्चकति हो भन्ने यकिन हुँदैन र जतिबढे पनि प्रधानमन्त्रीको भ्रमणको खर्च भएको हुँदा कसैले आँैला उठाउने अवस्था नै आउँदैन । जानकार सूत्रका अनुसार सम्वन्धित पक्षबाट जति देखायो त्यही अनुसार भुक्तानी गर्नुपर्ने हुन्छ ।  

 यस्तो छ खर्च विवरण
 देउवाको भ्रमण क्रममा पूर्वस्वीकृत भएको खर्चको विवरण यस्तो थियो – 

– प्रधानमन्त्री र उनकी धर्मपत्नीका लागि न्युयोर्क पुगेर स्वदेश फर्कंदा फस्र्ट क्लासको हवाई खर्च : प्रतिव्यक्ति २० हजार ६ सय ५० अमेरिकी  डलर ।

– न्युयोर्क पुगेर स्वदेश फर्कंदासम्म उपप्रधानमन्त्री, मन्त्री र भ्रमण दलका अन्य १५ सदस्यका लागि लाग्ने खर्च : ७४ हजार ४ सय ५० अमेरिकी डलर ।

– भ्रमण दलका थप चारजना सदस्यको काठमाडौं–न्युयोर्क–काठमाडौंका लागि १० हजार ८ सय अमेरिकी डलर ।

– नेपालबाट सीधै ओमन पुगेर काठमाडौं फर्कनेको हवाई भाडा ३ हजार ४ सय डलर ।

– प्रधानमन्त्रीसहित २४ सदस्यीय भ्रमण टोलीको काठमाडौं–न्युयोर्क–काठमाडौंको हवाई भाडा : एक लाख २९ हजार ९ सय ५० अमेरिकी डलर ।

– प्रधानमन्त्रीको खाना, खाजा र पकेट खर्च प्रतिदिन ३ सय डलर (नौ दिनमा २७ सय डलर) ।

– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको खाना, खाजा र पकेट खर्च प्रतिदिन  २ सय डलर ।

– उपप्रधानमन्त्रीको निजी सचिवको खाना, खाजा र पकेट खर्च प्रतिदिन  १५० डलर ।

– भ्रमण टोलीका अन्य १८ जनाको खाना, खाजा र पकेट खर्च प्रतिव्यक्ति प्रतिदिन  १५० डलर ।

– संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन तथा महाशाखा प्रमुखका लागि आठ दिनको खाना, खाजा र पकेट खर्च प्रतिव्यक्ति प्रतिदिन : १५० डलर ।


– परराष्ट्रसचिव शंकरदास वैरागीको ११ दिनको खाना, खाजा र पकेट खर्च प्रतिदिन १५० डलर ।

– न्युयोर्क जाँदा ट्रान्जिट अवधिमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य सदस्यहरूको होटेल खर्च ४५ सय डलर ।

– संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रिभोज तथा सम्मान खर्च – एक लाख ३१ हजार पाँच सय डलर ।

– संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधानमन्त्रीको उपस्थितिमा हुने तेस्रो संविधान दिवस तथा स्वागत कार्यक्रम खर्च  २७ हजार डलर ।

– उपप्रधानमन्त्रीले आयोजना गर्ने सार्क सदस्य राष्ट्रहरूको परराष्ट्रमन्त्री बैठक खर्च  आठ हजार डलर ।

– प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसंघ मुख्यालय र अमेरिकी सरकारलाई दिने उपचार खर्च  दुई हजार डलर ।

– भ्रमण दलका सदस्यहरूका लागि भ्रमण बिमा गर्न लाग्ने खर्च : २५ सय ७५ डलर ।

– न्युयोर्कमा प्रधानमन्त्री सहभागी हुने भेटघाट, बैठक र अन्य खर्च दुई हजार डलर । 

– मानवअधिकार परिषदमा नेपालको उम्मेदवारीको समर्थन जुटाउन प्रचारप्रसारका लागि हुने खर्च  २५ हजार डलर । 

– भैपरी खर्च : चार हजार डलर । 

नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागत तथा रात्रिभोजका लागि गर्ने खर्च : ११ लाख रुपैयाँ ।

– भ्रमण दलमा संलग्न २१ सदस्यको होटेल खर्च : २० लाख रुपैयाँ 

– प्रधानमन्त्रीले नेपाली समुदायसँग गर्ने अन्तरक्रिया र भोजका लागि  २५ लाख रुपैयाँ ।

– भ्रमणका क्रममा खटिएका राजदूत तथा दूतावासका कर्मचारीको दैनिक भ्रमण भत्ता गरी जम्मा २ लाख रुपैयाँ ।

यो सबै जोड्दा कुल भ्रमण खर्च हुन्छ  पाँच करोड रुपैयाँ । यो पूर्वअनुमानको स्वीकृत खर्च हो । यथार्थमा यसमा झण्डै आधा नै थपिने चलन  देखिन्छ । विशिष्टस्तरको भ्रमण भएको हुँदा खर्चमा सीमितता हुँदैन । जसको फाइदा खर्च गर्ने र त्यसको टिपोट गर्नेले  लिन सक्छन् ।


प्रचण्डको भ्रमण खर्च

यस्तै महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहलको भ्रमण भएको थियो ०६५ असोजमा । यो ६३ औं महासभाको कुरा हो । महासभामा भाग लिन जाँदा जोसुकै विवाहित प्रधानमन्त्रीले पत्नी लान्छन् । तर प्रचण्डले त्यसमा अर्को एक सदस्य थपे पुत्र ।

पुत्रको यो सहभागितामा एउटा विशेषण थपियो विशिष्ठ प्रतिनिधि भनी । त्यसैपनि प्रचण्डले आफ्नी पत्निलाई उपनेताको दर्जा दिएका थिए । यसले खर्चमा खासै फरक ल्याउने चाहिँ थिएन । तर छोरालाई विशिष्ठ प्रतिनिधिको दर्जा दिएपछि चाहिँ खर्च बढाएको थियो । 

प्रचण्डको आवासका लागि न्यूयोर्कको सबैभन्दा महँगो होटेल ग्र्याण्ड ह्यात रेसिडेण्टमा नौ दिनका लागि सुइट रुम बुकिङ भएको थियो । त्यसकै छेउमा अर्को त्यस्तै रुम बुकिङ भयो विशिष्ठका लागि । यो नौ दिनको नौ लाख खर्च थपिएको अवस्था थियो दिनको हजार डलरका दरले । यस्तो दर्जाले अरु सबै खर्च पनि बढाए जसले गर्दा यो टोली १२ सदस्यको भएपनि खर्च चाहिँ ठूलो हँुदै गयो । खानापान देखिका सबै भत्ता यही अनुसार बढ्ने भए । 

यो अतिरिक्त खर्चबारे टोली प्रमुखसँग भनिँदा ‘मिलाउनू’ भन्ने आदेशपछि मिलाइयो र खर्च देउवाको पालाकै जस्तो बन्न गयो ।

खिलराजको खर्च छ गुना बढी

यसपछिको अर्को सभामा भागलिन गए मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी । उनको होटल खर्च दैनिक २ लाख ३० हजारका दरको थियो । 
 उनको यो भ्रमणमा ३ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेर सो अनुसार स्वीकृत भएको थियो । तर पछि कति खर्च भयो त्यसको हिसाव किताव देखाइएन । त्यसबेला परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार सबैभन्दा ठूलो खर्च रेग्मीको गाँसबासमा लागेको थियोे । उनको लागि दैनिक २३ सय अमेरिकी डलर  रुपैयाँ तिरेर पाँचतारे होटलको ’सुइट’ बुक गरिएको थियो । रेग्मी र श्रीमती शान्तादेवीले खानाको लागि दैनिक ८० हजार (जनही २०० डलर) रुपैयाँ लिएका थिए ।

गाडी भाडा बापत ३ लाख ५० हजार (३५०० डलर), भैपरी खर्च बापत बढीमा ५० हजारको सीमा तोकेर मन्त्रिपरिषद्ले निर्णय गरेको थियो  त्यसबेला । भ्रमण दलका अरुले होटल खर्च बापत तह अनुसार १२ हजार ५ सय रुपैयाँ (१२५ डलर) देखि २५ हजार (२५० डलर) सम्म पाउँछन् । लन्च र डिनरका लागि उनीहरुले बढिमा १० हजार रुपैयाँ (१०० डलर) पाएका थिए ।

त्यसबेला अर्थका एक सहसचिवका अनुसार ‘दैनिक भ्रमण भत्ता नियमावलीले तोकेभन्दा रेग्मीको खर्च छ गुना बढी’ थियो । ‘दैनिक भ्रमण भत्ता बढीमा तीन सय डलर मात्र लिन पाइन्छ,’ भ्रमण भत्ता नियमावलीलाई उदृत गर्दै ती अधिकारीले भने, ‘खाना खर्चबापत त्यसको चालिस प्रतिशत अर्थात् १ सय २० डलर ।’

नेतृत्व नै यस्तो उदार भएपछि भ्रमण दलका अरु सदस्यको हकमा पनि भ्रमण भत्ता नियमावलीको हु–बहु पालना नहुनु स्वाभाविक थियो । यसले रेग्मीको निकै आलोचना गरायो ।  तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले प्रष्टिकरण दिँदै भने ‘नियम मै अर्को व्यवस्था पनि छ विशेष परिस्थितिमा मन्त्रिपरिषद्ले छुट्टै निर्णय गर्न सक्छ ।’ राष्ट्रसंघीय महासभामा जाँदा यसपाला मात्र नभएर विगतमा पनि नियमावली तोकेको सीमाभित्र बस्न सम्भव नभएको जानकारी उनले दिएका थिए  ।  

रेग्मीको यो भ्रमण ०७० को हो । मुख्यसचिव पौडेलले त्यसबेला अर्को पोल खेलेका थिए – ‘पोहोर साल प्रधानमन्त्री बाबुराम भट्टराई, परार नारायाणकाजी श्रेष्ठ, झन् परार भीम रावल जाँदाभन्दा केही पनि बढि गरिएको छैन ।’ 

महासभाको बेला न्यूयोर्कका होटलहरु महँगिने, सरकार प्रमुखको ओहदाको गरिमा ख्याल गरेर सारा बन्दोवस्त मिलाउनुपर्ने हुन्छ । पौडेलले त्यसबेला भने, ‘सबै खर्च नेपाल सरकारले बेहोर्नुपर्ने हुँदा जति फारु गरेपनि हाम्रो नियमावलीले तोकेको सीमाले पुग्दैन ।’

  टिप्स पनि राज्यकोषबाटै !

केही अरु पनि नमूना हेरौं विशिष्ठ व्यक्तिहरु भ्रमणका नाममा कतिसम्म खर्च गर्छन् भन्ने । 

पछिल्लो समय अर्थात दोस्रो पटक  प्रधानमन्त्री भएका  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डलले संयुक्त अरब इमिरेट्स (यूएर्ई) भ्रमणमा ३९ लाख रुपैयाँ (३५ हजार पाँच सय ७७ अमेरिकी डलर) खर्च स्वीकृत भएको थियो तर पछि त्यतिनै हुने गरी अर्को रकम थपिएको वताउँछन सम्वन्धित क्षेत्रका जानकारहरु । यो खर्च स्वीकृत हुँदा नै भनियो – ‘भ्रमणको कार्यक्रममा फेरबदल भइ वा अन्य कारणले कुनै शीर्षकमा बढी खर्च हुन गएमा बचत भएको शीर्षकबाट अपुग भएको शीर्षकमा खर्च गरी हिसाब मिलान गर्ने वा भ्रमणकै सिलसिलामा यूएईमा थप कार्यक्रम गर्नुपर्ने भएमा तत्सम्बन्धी खर्च बचत भएको शीर्षकबाट मिलान गर्ने र अपुग भएमा थप गर्ने ।’ यूएईको राजधानी अबुधाबीमा हुने विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । यो भ्रमणको खर्च विवरण यस्तो थियो – 

– मोबाइलको सिम कार्ड र रिचार्ज कार्ड वापत ६ सय डलर ।

– उपहार तथा प्याकिङ खर्च दुई हजार चार सय डलर । 

– बक्सिस खर्च एक हजार डलर । प्रतिनिधिमण्डलको स्वास्थ्य बिमा खर्च चार सय डलर । 

– युएईमा रिसेप्सन खर्च एक हजार आठ सय डलर । 

– सवारी साधन भाडा एक हजार तीन सय डलर ।

– काठमाडौ–अवुधावी–काठमाडौ बिजनेस क्लासको अति विशिष्ट एवम् विशिष्ट पदाधिकारीको हवाई भाडा चार हजार दुई सय डलर ।

– काठमाडौ—अवुधावी—काठमाडौ इकोनोमी क्लासको प्रतिनिधिमण्डलका सदस्यको हवाई भाडा आठ हजार सात सय ७७ डलर ।

 एक्लैले ४० लाख 

दुइवर्ष अघि प्रवासी नेपालीहरूको एमाले समर्थित सङ्गठन प्रवासी नेपाली समाजद्वारा आयोजना गरिने विशेष सम्मेलनमा मुख्य अतिथिका रूपमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली संयुक्त राज्य अमेरिका गएका थिए । यो बेला पनि उनको एक्लै खर्च ४० लाख भएको त्यसबेला नै सार्बजनिक भएको थियो । बाल्टिमोरमा आयोजना भएको सम्मेलनमा उनको भव्य स्वागत भएको थियो यसको सम्पूर्ण खर्च भने अमेरिकाका लागि एमालेका कोटाका राजदूत अर्जुन कार्कीले गरेका थिए । करिव ४० हजार डलर खर्च भएको भनिएकोमा यो खर्च राज्यकोषको थिएन तर एउटा राजदूतले एउटा भ्रमणमा यतिठूलो रकम कसरी खर्च गरे भन्ने प्रश्न त्यसबेला पनि उठेको थियो र आजसम्मनै यो निरुत्तरित नै छ ।  


 

ताजा खबर