लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

२०७४ बैशाख १० आइतबार १०:२९:०० मा प्रकाशित

सोलुखुम्बु, १० वैशाख। सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन्। एमभी दुगड ग्रुपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु २ र लिखु ‘ए’ को गत बिहीबार शुभारम्भ गरिएको हो।

पान हिमालय इनर्जी प्रालिले लिखु १, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिले लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालीले लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन्। एउटै लिखु खोलामा लिखु १, २ र ‘ए’ गरी कुल १५७ मेगावाट क्षमताका परियोजना एकैसाथ निर्माण अघि बढाइएको कम्पनीले जनाएको छ।

तीनवटै आयोजनाको कुल लागत अनुमानित रु २१ अर्ब छ। आयोजनाहरूबाट उत्पादित बिजुली खरिद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ। परियोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतका लागि लक्ष्मी, सिद्धार्थ, सिटिजन बैंक र बैंक अफ काठमाडौँ लुम्बिनी बैंकहरूसँग ऋण सम्झौतासमेत भइसकेको छ । यी आयोजना १५ जुलाई २०२० सम्ममा निर्माण सम्पन्न गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहेको जनाइएको छ।

यसैगरी प्रवर्द्धकले थप आयोजना निर्माण गर्ने योजना पनि सार्वजनिक गरेको छ। रासस

ताजा खबर