को गएनन् राष्ट्रकविलाई शुभकामना दिन

२०७५ असोज ७ आइतबार २१:४३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् ।

लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेर आज एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिएका हुन् । 

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोह सकाएर बसेका घिमिरेलाई दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म लैनचौरमा भेट्घाटको कार्यक्रम मिलाइएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई बिहानै राष्ट्रकवि निवासमा भेटेर शुभकामना दिएकी थिईन् भने अरु व्यक्तित्वले भने लैनचौरमा पुगेर शुभकामना दिएका थिए। 

राष्ट्रकवि भेट्न अपरान्ह ४ बजे पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फुलको पुष्हार र फलफूल दिँदै दोसल्ला ओढाएर सुस्वास्थ्य र दीर्घायुको कामना गरे। 

शिक्षामन्त्री गिरीराजमणि पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शताब्दीपुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरेलगायतले शुभकामना दिए। 

यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, काङ्ग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसद रामचन्द्र पोखरेल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, कलाकार, पत्रकारले, वकील तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । दुई हजारभन्दा बढी व्यक्तिले उनलाई शुभकामना दिई दिर्घायुको कामना गरेका थिए । 

कवि तथा गीतकार कालिप्रसाद रिजाल छन्दबद्ध कवितामा भावपूर्ण र लोकप्रिय कविता लेख्ने व्यक्ति राष्ट्रकवि घिमिरे भएको बताउँछन् । “छन्दवद्ध कवितालाई आधुनिकता प्रदान राष्ट्रकवि घिमिरेले नै गर्नुभएको हो,”–रिजाल भन्छन्। राष्ट्रकवि घिमिरे नेपालको काव्यजगतको शीर्ष पुरुष भएको रिजाल बताउँछन् ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मा राष्ट्रकवि घिमिरे नेपाली साहित्य जगतको तारा भएको बताउँछन्। “राष्ट्रकविको सम्मानका लागि काठमाडौँ विश्वविद्यालयले विश्वविद्यालयका हरेक कार्यक्रमका अगाडि राष्ट्रकविको गीतलाई गाउने गरेको छ,”–उनी भन्छन् । 

गीतकार एवं साहित्यकार डा बमबहादुर थापा ‘जीताली’ राष्ट्रकवि घिमिरे परिश्कारवादी लेखन र स्वच्छन्दतावादी विचारका कविको रुपमा व्याख्या गर्दछन् । “घिमिरे कविता लेखनका शिरोमणि हुनुहुन्छ,”–उनी भन्छन् । 

साहित्यकार एवं नेपाल शिक्षा परिषद्का सदस्य–सचिव रमा शर्मा राष्ट्रकवि घिमिरेको नेपाली वाङ्मय जगतमा ठूलो देन रहेको बताए। “घिमिरेका रचना प्रकृतिप्रेमी, हृदय छुने, मर्मस्पर्शी रहेका छन्,”–पौडेलले भने। १०० वर्षसम्म लेखनलाई निरन्तरता दिनसक्नु घिमिरेको उल्लेखनीय उपलब्धी भएको उनी चर्चा गर्छन् । 

घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ राष्ट्रनिर्माता, राजेश्वरी, आफै बासुरी आफै मुरारी, पापी आमा, आदि कविता सङ्ग्रह प्रकाशित छन् । भने हाल “ऋतम्भरा” महाकाव्य लेख्दै हुनुहुन्छ । १०० वर्ष पुग्दासमेत उहाँको लेखन शैली थाकेको छैन । 

मस्र्याङ्दी वाड्यम प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन विभिन्न कार्यक्रम गर्ने जनाएको छ । प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिक जन्मशताब्दीभर राष्ट्रकविका नाममा हुलाक टिकट, अभिनन्दन, ग्रन्थ प्रकाशन, कविता महोत्सवलगायतका कार्यक्रम गर्ने बताए। 

यसैगरी काठमाडौँ महानगरपालिकाले यही असोज १३ गते राष्ट्रकविलाई शुभकामना दिन लागेको छ । काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारी महानगरले राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गरी राष्ट्रकविलाई शुभकामना तथा सम्मान प्रदान गर्न लागेको बताए। रासस

ताजा खबर