इलाममा गीत शिविर हुँदै 

२०७५ असोज ७ आइतबार १५:५६:०० मा प्रकाशित

काठमाडौं । गीतकार सङ्घ नेपालले इलाममा गीत शिविर तथा बृहत् बिचार गोष्ठीको आयोजना गरी श्रष्टाहरुको जमघट गर्ने भएको छ ।
कवि तथा गीतकार बसन्त थाम्सुहाङ्गका अनुसार,दशैं अघिको मनमोहक शीतल मौसममा स्रष्टाहरुको सिर्जजशील जमघट गरेर महान पर्वहरुको स्वागत गर्न लागिएको हो । बसन्त यो भेला आयोजक समितिका संयोजक हुन्।

यही असोज ११ गते इलाम नगरपालिकाको गौतम बुद्ध सभा कक्षमा देशभरका गीतकार मात्रै होईन पूर्वोत्तर भारतका असम,कालेबुङ,सिक्किम,दार्जिलिङ्ग र सिलिगुडी क्षेत्रबाट पनि ठूलो संख्यामा स्रष्टाहरु भेलामा सहभागी हुने तय भएको संयोजक बसन्त थाम्सुहाङ्गले बताए । 

 आयोजकका अनुसार, प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भेलाको उद्घाटन गर्ने भएका छन् । दुई दिनसम्म चल्ने सर्जक जमघटमा  समालोचक महेश पौडेलले गीत लेखनको वर्तमान अवस्था र व्यावसायिकताका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

इलाम नगरपालिकाको व्यवस्थापन सहकार्यमा आयोजना हुने गोष्ठीमा वरिष्ठ गीतकार रत्नशमशेर थापा र एस्पी कोइराला जस्ता स्थापित गीतकार सहभागी हुने छन् ।
 

ताजा खबर