स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु
उनैले केहीबर्ष अघिसम्म चुसेका
मेरा स्तनहरु छाम्थिन्
मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्
अँगालो हाल्थिन्
गालामा गाला जोड्थिन्
र मेरी आमा भनेर जोडले म्वाईँ खान्थिन्
मभित्र उर्लन्थ्यो
प्रेम, माँया र स्नेहको बाढी
म उकुसमुकुस हुँदै
ममताको भर्भराउँदो ज्वालामा दन्कन्थे
र उन्लाई टाँस्थे छातीमा
चुप्पा दिन्थे गाला र ओठहरुमा
हामी सपनातिर लाग्थ्यौँ दुवैजना ।
आजकाल उनी मलाई अँगालो हाल्न आउन्नन्
गालामा गाला जोड्न आउन्नन्
मेरी आमा भनेर म्वाईँ खान आउन्नन्
सपनामा मात्र आउँछिन्
केवल सपनामा मात्र
र प्रश्न गर्छिन्
अनगिन्ती निर्दोष प्रश्नहरु !
आमा मलाई किन जन्मायौ ?
दिदीहरुलाई किन जन्मायौ ?
तिमी किन जन्मियौ ?
मेरी हजुरआमा किन जन्मिन् ?
तिम्री हजुरआमा किन जन्मिन् ?
हजुरआमाका पनि हजुरआमाहरु
किन जन्मिए ?
किन उनीहरुले हजुरबाहरु, बाहरु, काकाहरु
दाजु र भाइहरुमात्र जन्माएनन् ?
हँ आमा !
किन उनीहरुले लोग्नेमान्छेहरु मात्र नजन्माएका !
कि त हामीहरुलाई मात्र जन्माउनु पर्थ्यो
कि त लोग्नेमान्छेहरुलाई मात्र जन्माउनु पर्थ्यो
हैन र आमा !
मैले त बुझिन आमा !
यो कस्को दोष हो ?
यो कस्तो दोष हो ?
आमा भनन
किन चढायो शुलीमा
मेरो कलिलो जोवनलाई
त्यो लोग्नेमान्छेको पिचासी हातले ?
किन डस्यो मलाई त्यसले
र फेरि किन टोकी टोकी मार्यो मलाई ?
तिमीले पनि त्यस्तै लोग्नेमान्छे जन्माएकी छौ ?
यदि त्यसो हो भने
जुनी जुनीसम्मलाई मेरो श्राप छ ।
आमा.....!
मेरी आमा भनिदेऊ है
काकीहरुलाई, दिदी बहिनीहरुलाई
आमा हुने सबै सबैलाई
त्यस्ता बिषालु सापजस्ता
लोग्नेमान्छे चाहिँ
कहिल्यै कहिल्यै पनि नजन्माइदेऊ भनेर ।