एकतिहाइ गैरकानूनी शैक्षिक परामर्शदाता महिला तस्करी गर्छन्

२०७५ असोज ३ बुधबार १२:४७:०० मा प्रकाशित


काठमाडौं, ३ असोज । नेपालका करिब २५ सय शैक्षिक परामर्शदाता रहेको र यसमध्ये एक तिहाइ अवैध रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । यसरी अवैध रुपमा संचालन भएको परामर्शदाताले ठगी गरेको तथा मानव तस्कर गरेको उजुरी परेको पनि मन्त्रालयले जनाएको छ । 

नक्कली कागजपत्रहरु तयार गरि विदेश पठाउने बहानामा यस्ता परामर्शदाताले मानव तस्करी गरी विदेशी मुद्रा आर्जन गरिरहेको पाइएको छ । 

करिब ३२ हजार विद्यार्थीहरुले नो अब्जेक्शन सर्टिफिकेट लिएर विदेशमा भाषा, होटल म्यानेजमेन्ट जस्ता विषयमा पढ्न पठाउने बहानामा ति विद्यार्थीहरुपनि मानव तस्करको जालोमा फसिरहेको तथ्य मन्त्रालयलाई उद्दृत गर्दै तथ्य द हिमालयन टाइम्सले सार्वजनिक गरेको छ । उक्त पत्रिकाले नो अब्जेक्शन सर्टिफिकेटको प्रयोग अवैध धनलाई वैध बनाउन प्रयोग गरिरहेको पनि उल्लेख गरेको छ । 

त्यस्तै बिहेको आडमा पनि नेपालबाट महिलाको तस्करी हुने गरेको छ । बढि उमेरका, अपाङ्ग तथा ग्रामिण क्षेत्रका कोरियन सँग बिहे गरेर गएको नेपाली महिलाहरु कोरिया गएको तथ्य राष्ट्रिय मानव अधिकार आयोगको ओसारपसार सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०१८ मा उल्लेख छ । 

करिब १२ सय नेपाली महिलाहरु कोरियामा बिहे गरेर गएकोमा अधिकांस यस्तै तस्करहरुको फन्दामा परेकाले दुखि जिवन जिउन बाध्य रहेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१४–१५ सम्ममा विदेशीसँगको बिहे दर्ता काठमाडौंबाट हुने गरेको र यसरी विवाह गर्ने महिलालाई विवाह भिसा दिइने गरेकोमा यस क्रममा व्यापक अनियमितता हुने गरेको थियो । विभिन्न तप्कामा रहेका एजेन्टले यसको फाइदा उठाउँदै ठुलै चलखेल गर्ने गरेका थिए । यस्तोमा हाल सरकारले नागरिकता भएकै जिल्लाबाट बिहे गर्नुपर्ने प्रावधान ल्याइ यस किसिमको अनियमितता रोक्ने प्रयास गरेको छ । 

पछिल्लो समय नेपालबाट मानव तस्कर मात्र हुने होइन तस्कर समुहले नेपाललाई नै मानव तस्करीको ट्रान्जिट बनाउने गरेको तथ्य पछिल्ला प्रमाणहरुले पुष्टी गरेका छन् । 


 

ताजा खबर