प्रधानमन्त्रीको ‘बर्थ डे’ खर्च ५० लाख !

‘भ्रष्टाचार भएको प्रमाण ल्याए कारबाही गरिहाल्छु,अनुहार हेर्दिन। प्रधानमन्त्री ११ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भएको आफैं देखेमा वा कसैले प्रमाण ल्याएमा कारबाहीको कदम चाल्ने बताएका छन्। सोमबार दिउँसो ट्वीटरमार्फत उनले नातागोता वा आफन्त भन्दैमा कारबाही नरोकिने पनि जिकिर गरे। भ्रष्टाचार भएको आफैँ देखेमा, प्रमाणबाट पुष्टि भएमा, सञ्चार माध्यम वा कसैले गहन खोजीबाट ल्याएमा आफूले कारबाहीको कदम चाल्ने उनले बताए।’
प्रधानमन्त्रीको यो भनाइ उनी आफैँले यो बेलासम्म कतिपालना गरे भन्ने गिन्ती हुन बाँकी छ तर विवरणहरुले बताउँछन् यसको पालना भएको छैन। खोज्दै गइयो भने भ्रष्टाचार प्रधानमन्त्रीको भान्सासम्म नै पुगेको पाइनेछ। प्रधानमन्त्री निवासमा त प्रत्येक दिन नै भोज चलिरहेका अवस्थाले निवासको खर्च कति हो भन्ने प्रश्न उठ्छ नै।
खर्चको हिसाव आधार
प्रधानमन्त्रीको भान्सा र भोजमा कति खर्च हुन्छ भन्ने केही समय यता हिसावका आधारहरु कमै भेटिन्छन्। तर खोज्दै जाँदा नपाइने नै होइनन्। नेपाली कांग्रेसका सभापति तथा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नियुक्ति पछिको पहिलो निर्णयमा यस्तो खर्च देखाउनै पर्ने निर्णय गरेका थिए। त्यसपछि हो प्रधानमन्त्री कार्यालयबाट हुने भुक्तानी वेभ साइटमा राखेरमात्र हुने व्यवस्था सुरु भएकोे। यसले एउटा नयाँ र पारदर्शीताका लागि अनुकरणीय परम्परा बसाएको थियो। पछिल्लो समय यसलाई वेवास्ता गरिएको छ र विलका भुक्तानीहरु सुटुक्क नै हुने गरेका छन्।
पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले पनि यसलाई मानेका थिए। उनको त्यो पहिलो कार्यकाल जो नौ महिनाको रह्यो त्यसमध्येको ६ महिनाभित्रै भोज भतेरमा ३ करोड रकम खर्चेका थिए। त्यसबेला प्रकाशित समाचार अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा महिनैपच्छिे भोजभतेर हुने गरेको थियो। यी भोजभतेरका लागि प्रधानमन्त्री ओलीले त्यसबेला छ महिनामै ३ करोड खर्च गरेका थिए। सरकारले प्रधानमन्त्रीका लागि डेढ करोड रकम यस्तो प्रयोजनका लागि छुट्याएको थियो। तर छुट्याइएको रकम भन्दा दोब्वर बढि रकम ओलीले ६ महिनाभित्र खर्च गरे। ओलीको भोजभतेरका लागि अर्थमन्त्रालयले थप ३ करोड रकम निकासा दिएको थियो त्यो बेला। ओलीले एमालेभित्र पनि आफ्नो गुटभित्रका करिव ५ सय नेता कार्यकर्तालाई केही दिनअघि बालुवाटारमा भोज दिएका थिए।
त्यसलगतै बसेको पार्टी केन्द्रीय समितिका बैठक पनि बालुवाटारमै बसेका थिए। बैठक सकिएको दिन बालुवाटारमा भोज गरिएको थियो। यी सवै भोजमा बालुवाटारबाट मात्र ३ करोड रकम खर्च भएको छ।
एउटा पत्रिकाले सम्पादकीय नै लेख्यो–उनी प्रधानमन्त्री बनेको केही दिनमै आयोजित भोजलाई लिएर सर्वत्र आलोचना भयो। आलोचना थाम्न हम्मे परेपछि वाक्पटु ओलीले भोजको खर्च आफूले व्यक्तिगतरूपमा बेहोर्ने बताए। आलोचना मत्थर भएपछि उनले त्यो खर्चको बिल पनि सरकारी ढुकुटीबाटै भराए। भोजप्रेमी ओलीले हरेक पार्टीमा राज्यकोषबाट पाँचदेखि दस लाखसम्मको बिल तिराउने गरेका छन्। राज्यकोषको दुरूपयोग तथा फजुल खर्चको यो भन्दा उत्कृष्ट उदाहरण अर्को के हुन सक्ला!
सरकारको आम्दानीको मूलस्रोत भनेको जनताले तिर्ने कर हो। प्रधानमन्त्री निवासमा हुने खर्चमा गरीब नेपालीले तिरेको करको हिस्सा हुन्छ नै। यसको दुरूपयोग हुनु ठूलो भ्रष्टाचार हो, जनतामाथि अन्याय हो। यो भावना प्रधानमन्त्री निवासमा भोज खाने र खुवाउनेमा नआएको देखियो। भोजभतेरका अतिरिक्त प्रधानमन्त्रीको भान्सामा समेत अनियमितता भएको आशंका गरिएको छ। रकम बढाएर फर्जी बिल बनाउने तथा आगन्तुकको संख्यासमेत बढाउने गरेको सम्बद्ध अधिकारीको भनाइ पत्याउने हो भने त बालुवाटार भ्रष्टाचारको ठूलो अखडा बनिसकेको बुझ्न सकिन्छ। यस्तो अवस्थाको छानबिन गरी दोषीमाथि कडा कारबाही नगर्ने हो भने राज्यकोषको लुट झनै बढ्नेछ।
तीन महिनामा डेढकरोड
अघिल्ला प्रधानमन्त्री सुशील कोइरालाले एक आर्थिक वर्षमा यस्तो खर्च जम्माजम्मी एक करोड १३ लाखमा पु¥याएका थिए। त्यसबखत देशले नयाँ संविधान जारी गर्दैथियो। लामो संघर्षपछि आउन लागेको नयाँ संविधाबारे सबैको जिज्ञासा रहनु स्वाभाविक थियो। यसकारण पनि भेटघाट, छलफल तथा संवाद बाक्लै हुनु आवश्यक थियो, हुन्थ्यो पनि। तर, खर्च भने अहिलेको भन्दा करिब एक चौथाइले भ्याउँथ्यो। यसको अर्थ के हुन्छ भने, ओलीका भोजभतेर सहयोगी फर्जी बिल बनाउँछन्, सहभागीको संख्या बढाउँछन् र राज्यकोष लुट्छन् र प्रधानमन्त्री त्यसमा आँखा चिम्लिदिन्छन्। त्यसैले सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई खाजा, भोजभतेरलगायत खर्च (विविध शीर्षक)मा छुट्याएको डेढ करोड रुपैयाँ तीन महिना पनि नहुँदै सकियो र रकम अपुग भएपछि अर्थमन्त्रालयले थप डेढ करोड निकासा गरिदियो।
यो रिपोर्ट ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलाको हो। यसले निवासमा हुने भोजको खर्च कति हुन्छ र कुन प्रधानमन्त्री कति सस्ता महँगा भन्ने पनि खुलाउँछ।
सरकारी आवास नीजि जस्तो
प्रधानमन्त्री निवास, बालुवाटार सरकारी आवास हो तर यो कसरी नीजिमा परिणत हुँदै छ भन्ने उदाहरणको थुप्रो नै लागि सकेको छ। यो गति बढ्दै गयो भने यो एउटा सामाजिक संस्था जस्तो हुने छ र यही परम्पराले निरन्तरता पायो भने कालान्तरमा सत्तारुढ दलले आफ्नो पार्टी कार्यालय समेत राख्नुपर्ने छैन। जस्तो, भदौ २७ गते नेकपाको सचिवालय बैठक यहीँ बस्यो। सचिवालय भन्नाले सचिव बस्ने घर भन्ने बुझाउँछ। अर्थात् प्रधानमन्त्रीको सरकारी निवास कुनै दलको सचिवालयमा रुपान्तरित भयो। यहाँ स्पष्ट हुनुपर्छ कुनै पनि दलको सचिवालयले सरकारको काम गर्दैन, गर्न पनि हुँदैन। त्यसो हो भने प्रधानमन्त्रीको निवास कसरी सचिवालय बन्यो? यो सोझै बलमिच्याइँ नै हुनु पर्छ, आफुृले जेगर्दा पनि हुुन्छ भन्ने मान्यता स्थापित गर्ने सन्दर्भको।
भदौ २३ गते एउटा विवरण बन्यो– प्रधानमन्त्री निवास बालुवाटारमा ‘ओली’ वंशको भेला, ५०० जति उपस्थित। ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीका बुवा मोहनप्रसाद र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गरियो। पिता, आफु र श्रीमती एकैठाउँ एउटै निकायबाट अभिनन्दित !
सामाजिक संजालमा विरोध
यो घटना सामाजिक सञ्जालमा छायो नै। सर्वसाधारणले त प्रतिकृया दिए नै, धुरन्धर विद्वान मानिएकाको पनि मन रोकिएन। बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास भएकाले त्यहाँको सेवासुविधा उनका लागि मात्रै हो। तर पटक पटक प्रधानमन्त्री ओलीले पार्टीका कार्यक्रमदेखि लिएर विभिन्न अन्य कार्यक्रमसमेत गर्दै आएसँगै उनी आलोचित हुँदै आएका थिए यस पहिले पनि। त्यसैकारण पनि होला सामाजिक संजालमा यसको चर्को विरोध भयो। राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले ट्वीटरमा व्यङ्ग्य लेखे ‘ओली बन्धुहरूको भेला, भोज, मोज पनि बालुवाटार दरबारमा? अब ओली बन्धुहरूको व्रतबन्ध, बिहा र वनभोजदेखि द्युत क्रीडा पनि त बालुवाटारमै हुने होला। ठीकै हो, भेला ओली सरका बन्धुहरूको, रैरकम राज्य कोषको । भन्छन् नि– लूटको धन, फुपूको श्राध्द। घरिघरि प्रम बन्न पाइन्न, मौकामा खाने हो!’
त्यसमाथिको प्रतिकृया झनै रोचक आयो। यो भनेको सर्वसाधारणले यो एउटा घटनालाई कसरी लिएका रहेछन् भन्ने एउटा जनमत नै हो। संग्रौलाको यो भनाई ट्वीटरमा राखेको १३ घण्टामा ११९ पटक रि–ट्वीट भएको छ। ५३४ लाइक्स आएको छ भने २६ रिप्लाई आएको छ। यो भनेको धेरै ठूलो प्रतिकृया हो।
वंश भेला लगत्तै तीजको दर
वंश भेलाको तीन दिन पछि भदौ २६ मा एउटा अर्को कार्यक्रम भयो बालुवाटारमा तीज उल्लासका नाममा। गाउँमा तीज कहिले हो कहिले शहरमा एक महिना पहिले...भन्दै मनाइएको यो उत्सवमा स्थानीय तहका महिला जनप्रतिनिधि, सांसददेखि मन्त्री पत्नीहरूसहितको उपस्थिति थियो। यसको चाँजोपाँजो मिलाएकी थिइन् प्रधानमन्त्रीपत्नी राधिका शाक्यले। प्रधानमन्त्री निवासको दर लरतरो हुने कुरा भएन उपस्थितिको संख्या कति हो भन्ने अनुमान गर्न सकन्छि, दुइतीन हजार त भयो नै होला। प्रधानमन्त्री पत्नीसँग जुनसुकै महिला निकट हुन खोज्छन् नै। त्यसमाथि आफुलाई प्रम निवासले नै दरखान बोलाइएको भन्ने भएपछि हैसियत बढ्ने नै भयो। निवासको यो दर पनि स्थाभाविक छ सरकारी नै हो।
यता वंश भेलाको कार्यक्रममा सहभागी सख्या ५०० को वताइएको छ। १२ वजेको कार्यक्रममा स्वाभाविक छ दिवा भोज भयो नै होला। पत्रकारलाई प्रवेश थिएन त्यसकारण किटानी नगरौं। यही कार्यक्रम कुनै पार्टी प्यालेसमा गर्दा न्यूनतम हजारको दरले पनि ५ लाख पर्न आउँछ। प्रधानमन्त्री निवासको खानादर न्यूनतम एक हजारदेखि दुइ हजारसम्मको हुने गरेको वताउँछन जानकारहरु। खाना जस्तो होस वील चाहिँ यस्तै दरमा भुक्तानी हुने गरेको पाइन्छ। प्रधानमन्त्रीको कार्यालयले भोज खर्चको भुक्तानी भनी तिरेको रकमबाटै यस्तो हिसाव देखिन्छ। खर्चको हिसावले पनि यो वंश भेला कति महँगो प¥यो राज्यकोषका लागि भन्ने अनुमान गर्न सकिन्छ। प्रधानमन्त्री निवासमा भएको कार्यक्रमको खर्च कुनै व्यक्तिले तिर्ने भन्ने कुरा हुँदैन। यद्यपि तत्काल आलोचनाबाट बच्न चाहिँ आफंैले व्यहोरेको भनिन्छ तर पछि कोषबाट नै खर्च हुन्छ। यस्तो कार्यक्रम भएको दुइतीन महिनापछि यस्तो भुक्तानी सुटुक्क गरिन्छ जसको सर्वसाधारणले भेउ पनि पाउँदैनन्। यस्तै छन् विगतका अनुभव।
सानो निहूँमा ठूला भोज
पहिलो पटक जस्तो भएको थियो दोस्रो पटक त्यसको चार गुना बढी हुनेगरी यस्तो भोज आयोजना भएको पाइयो। केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका फागुन ३ यता बालुवाटार एक प्रकारले भोजगृह मै परिणत भएका टिप्पणीहरु आइरहेका छन्। एउटा सानो निहूँ पायो भोज आयोजना भैहाल्यो। फागुन ७ मा एमाले र माओवादी एकताको प्रस्ताव सार्वजनिक भएको दिनदेखि यो वंश भेलाका दिनसम्म आइपुग्दा साना ठूला गरी तीन दर्जन जति भोजको आयोजना भैसकेका जानकारी आइरहेका छन्।
जस्तो फागुन आठ र ११ गतेका बीचमा तीन वटा भोज भए, दुइवटा रात्री र एउटा दिवा। प्रधानमन्त्रीले विश्वासको मत लिँदा अर्को भोज, पार्टीले प्रधानमन्त्रीलाई मन्त्री छान्न अधिकार दियो,त्यस खुशियालीमा पनि भोजै भयो। नयाँ वर्षको उपलक्षमा अर्को र राष्ट्रपतिका निर्वाचन भएपछि त्यो उपलक्षमा अर्को। यति हुँदाहँुदै जेठ ३ गते पार्टी एकताको घोषणा भयो। एकतापछि त्यसको खुशीयालीमा फेरी अर्को भोज। त्यसपछि केन्द्रिय समिति छनौट भयो ४४३ जनाको, त्यो खुशियाली पनि भोजले नै मनाइयो। स्थायी समितिका सदस्य छानिए। यो अर्को निहुँ थियो भोजको। स्थायी समितिको बैठक बस्यो। पहिलो बैठको निहुँमा अर्को भोज र केन्द्रिय समितिको बैठक बस्यो त्यो पनि भोजकै निहूँ बन्यो।
यसका अतिरिक्त पार्टीभित्र पदाधिकारी र सदस्य छनोटले असन्तुष्टी खडा भयो, त्यसलाई मिलाउन पनि भोज नै। खेलाडीहरुले कुनै खेल जिते त्यसमा पनि दिवाभोज,प्रधानमन्त्रीबाट कलाकारहरुलाई केही निर्देशन दिन मनलाग्यो त्यसमा पनि अर्को भोज। हुँदैजाँदा भानुजयन्ती पनि रात्री भोजबाट नै मनाइयो। त्यसैभित्रको अर्को हो ओली वंशको साधारण सभा पनि बालुवाटारमा सम्पन्न गरिएको घटना। मासिक १५ लाखको खाजा
बालुवाटारमा प्रधानमन्त्रीको नाममा खाजा खर्च मात्रै मासिक १५ लाखको हुँदो रहेछ। त्यसमा भोजको खर्च छुट्टै।
बालुवाटारमा दिएको एउटा रात्रीभोजका लागि करिब १० लाख खर्च भएको प्रधानमन्त्रीको कार्यालयले तिरेको बीलबाट देखिन्छ। वर्ष फरक हो तर प्रधानमन्त्री उही। वर्ष ०७३ को उपलक्षमा ०७२ चैत्र ३० मा प्रधानमन्त्री ओलीले नयाँ वर्ष मनाउन एकै साँझ ९ लाख ६७ हजार ७ सय ८७ रुपैँया खर्च गरे। यसको वील त्यो वर्षको असार १९ मा तिरिएको थियो। शंका लागेमा त्यसबेलाको वील भौचर हेर्न सकिन्छ। एउटै भोजमा यति रुपैयाँ तिरेको रसिद सो कार्यालयमै छ। सो कार्यक्रम बालुवाटारमा भएको र प्रधानमन्त्रीसमेत सरिक भएकाले खर्च प्रधानमन्त्रीका नाममा देखिएको हो।
बालुवाटारको यस्ता भोजको खर्च व्यवस्थापन गर्ने काम प्रधानमन्त्रीको सचिवालयले गर्छ। घोटाला यहीबाट सुरु हुँदोरहेछ। बालुवाटार सचिवालयले खर्च भएको भन्दा दोब्बर तेब्बरसम्म थप बिल भरेर भुक्तानी लिने गरेको विवरण एउटा उजुरीमै आयो। तर त्यसको सुनुवाइ भएन। यो अघिल्लो पटकको कुरा हो। बालुवाटार सचिवालयकै एक सदस्यले यस्तो उजुरी गरेका थिए। उजुरीकर्ताले वालुवाटारका लागि सामान मगाउने र चिनी, चियादेखि लान मिल्नेसम्मका वस्तु केही सचिवालय सदस्यहरुले राति नै आफ्नो घरतिर लाने गरेको भन्दै उजुरी परेको थियो। खरिद गरिएका सामानको बिलसमेत दोब्बर–तेब्बर बनाएर भर्ने गरेको आरोप उक्त उजुरीमा लगाइएको थियो।
पछिल्लो समय विभिन्न बैठकको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ७१ हजार भुक्तानी गरेको छ। यो एकमहिनाको खर्च हो। सबै भौचर एक ठाउँमा राखियो भने प्रधानमन्त्री निवास बालुवाटारको मासिक खाजा खर्च २० लाखभन्दा बढी हुने गरेको छ। यो विशेष समय बाहेकका नियमित खाजाखर्च भनी कैफियत लेखिएका अन्तर्गतको रकम हो।
माथि उल्लेख भएजस्तो विशेष भोजमा एकपटकमा १० लाखका दरले हिसाव हुँदा मात्रै यो वर्षको वितेको छ महिनाका ३० वटा भोजको कूल रकमको जोड अंक ३ करोडको हाराहारीमा हुन आउँछ। प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पत्तिबाट भोज खुवाएर गुटबन्दी गरेको भन्दै केही समयअघि एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालले त्यसै गुनासो गरेका नहोलान्। बालुवाटारका भोजका बारेमा त अखवारहरुले सम्पादकीय नै लेखेर सुझाव दिनुपरेको कुरा आफैंमा गम्भीर बिषय हो।
जन्म दिनमा त कक्टेल नै
एउटा कक्टेल पार्टीको प्रतिव्यक्ति नूनतम दुइ हजारको हिसाव आउँछ। यस्तो भोज पनि बालुवाटारमै भयो। प्रधानमन्त्री ओलीबाट एकै दिन दुवटा भोज दिइएको दिन हो फागुन ११ गते। यो उनको जन्मदिवसको अवसर थियो। त्यस दिन दिवा र रात्री गरी दुवै भोज भए बालुवाटारमा। यसमा उनको जन्म दिनमा शुभकामना दिनेहरु सबै आमन्त्रित भएको वताइएको थियो त्यसबेला। अनुमान गरौं यसको संह्या कति होला र बील कति बन्यो होला। यस्तो भोज आयोजना भएको केही दिन अघिमात्र सरकारी कार्यालयलाई उनले फजुल खर्च गर्न नपाउने आचारसंहिता पारित गराएका थिए। यता उनैले आफ्नो ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा ककटेल पार्टीबाट मनाए। त्यसदिनको रात्री भोज अपरान्ह ४ वजे सुरु भएको थियो। मन्त्रालयका सचिव, राजनीतिक दलका नेताहरुदेखि एमाले कार्यकर्ताहरुको भीड लागेको थियो।
ओलीको जन्मदिन मनाउन बालुवाटारमा ५ सय जनालाई बोलाईएको त सचिवालयले जनाएको थियो। यो भोजको अनमोल क्याटरिङले खानाको व्यवस्था गरेको थियो। एउटा हिसाव अनुसार यी भोजमा मात्रै करिव ५० लाख रुपैयाँ सकिएको अनुमान छ। क्याटरिङलाई बुझाइको वा उसले भुक्तानी मागेको बीलबाट नै खर्च कति हो बुझ्न सकिन्छ। यो जन्मदिनको भोजमा अनमोल क्याटरिङले ह्विस्की, बियर र वाइनको समेत व्यवस्था गरेको थियो। जानकारहरुका अनुसार मदिराको नाम नलेख्न भन्दै त्यसको सट्टामा हलुका पेय भन्न लगाइएको थियो, त्यसकारण नै बीलमा हलुका पेय भन्ने आयो।
पार्टीको काम सरकारको खाजा !
ओली प्रधानमन्त्री नियुक्त भएदेखि यता एमाले र माओवादी बीच धेरै ठूला दलगत राजनीतिका काम भए। यसकालागि केन्द्रिय स्थायी पोलिटव्यूरो जस्ता बैठकहरु पनि थुप्रै बसे। जो स्वाभाविक पनि हो। तर यी मध्ये कुनै पनि बैठक पार्टी कार्यालयमा भएनन्। सबै सरकारी निवासमै सम्पन्न भैरहेका छन्। बैठकहरुमा चियानास्ता हुने नै भयो। कतिपय अवसरमा त त्यसले नधानेर रात्री भोजनै गर्नु परेका विवरणहरु माथि आइसकेका छन्। सामान्यतया प्रधानमन्त्री निवासको खाजा भनेको दुइचार सय मूल्यको हुन्छ नै। प्रत्येक पटक यस्ता बैठकमा सयपचास मान्छे हुन्छन् नै। पदाधिकारी तिनका स्वकीय सचिव र अन्य सहयोगीले पनि खाना वा खाजा त खानै प¥यो। साधारण मान्छेले यस्ता पदाधिकारीलाई विवाहमा निम्ता गर्दा त एकजना वरावर घटीमा पनि पाँचजनाको हिसाव गर्नु पर्ने हुन्छ भने पार्टीका बैठक त्यो भन्दा झन बढी हुने भयो नै। यसैकारण हो बैठकको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले मासिक पाँच लाख (४ लाख ७१ हजार) रुपैयाँ तिर्नु परेको अवस्था पनि। यो हिसावबाट हेरियो भने प्रधानमन्त्री ओलीको छ महिनाको कार्यकालमा उनको खाजा खर्चका लागिमात्रै राज्यले ३० लाख व्यहोरिसकेको देखिन्छ।
करोडको त पानी नै
अरु त अरु, पत्याउनै नसकिने खालको अर्को खर्च देखियो बालुवाटारमा। मासिक १५ लाखको पानीले धोइँदो रहेछ यहाँका बाहनहरु। यसमा अनौठो कुरा केहो भने बालुवाटारको भान्सामा धाराको पानी चलाइँदैन। अत्यन्त महँगो ब्राण्डको मिनरलवाटर यहाँका भान्सामा प्रयोग हुने पानी हो। नेपाली जनताले खानेपानी भनी जुन ट्यांकरमा पानी मगाइन्छ बालुवाटारमा यो चाहिँ गाडी धुन मात्र प्रयोग हुँदोरहेछ। यी सबैको बील जोडिँदा महिनाको १५ लाख र ओली यहाँ प्रवेश भएको दिन देखि गणना हुँदा ९० लाख भन्दा बढी त पानीमा नै खर्च धैसकेको विवरणहरुले वताउँछन्। खानेपानीको धारा त छ तर चलाइँदैन। गाडी धुनकालागि ठूलो डिपवोरिङ पनि छ तर कहिल्यै चलाइँदैन। राज्यकोषबाट नै खुरुखुरु पाइन्छ भने किन यस्तोकाम गर्ने भन्ने मान्यता नै स्थापित भएको हुनुपर्छ बालुवाटारमा।
आम नेपाली भन्दा बालुवाटारका नेपाली छुट्टै हुन भन्ने भोजमा पस्कने परिकार, त्यहाँ सरसफाइ र भान्साका लागि प्रयोग हुने पानी देखिका यावत विवरणहरुले त्यस्तै अनुभूत गराउँछन्। मितव्ययिता भनिरहिएको बेला त यस्तो भैरहेकोछ भने खर्चमा खुला गरिँदा कस्तो होला अनुमान गर्न सकिन्छ।