निर्माण व्यवसायी महासंघको अध्यक्षमा ४ जनाको दाबी

२०७५ भदौ २८ बिहीबार १०:५५:०० मा प्रकाशित

काठमाडौँ, २८ भदौ । निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताए । महासङ्घका महासचिव रामशरण देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताएका छन् ।

अध्यक्षका अर्का दाबेदार हुमनाथ कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरुपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताए ।

अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत रवी सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताएका छन् । महासङ्घमा करीब १२ हजार निर्माण व्यवसायी आबद्ध रहेका छन् । महासङ्घको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म राजधानीमा हुँदैछ । रासस

 

ताजा खबर