सुगतको अधिनायकवादी हुकुम: समाचार शेयर गरे कारबाही

२०७५ भदौ २७ बुधबार १२:२८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको पालामा नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त हुनुभएका महाप्रबन्धक सुगतरत्न कंशाकार वाईड बडी खरिदको ६ अर्ब ५९ करोड रुपैयाको घोटालाबाट बच्न निगममा अधिनायकवादी पद्धति लागू गर्न उद्यत देखिनुभएको छ ।

निगमको आर्थिक नियमावलीको ठाडो उल्लंघन गर्दै निगमले दलाल कम्पनीहरुमार्फत करिब ६ अर्ब ५९ करोड घोटाला गरि ल्याएका दुईवटा वाईड बडीको खरिद प्रक्रिया र निगमको व्यस्थापनका गम्भीर त्रुटीहरुको बारेमा सूचनाहरु सार्वजनिक भएपछि आफ्नो लाज जोगाउन उहाँले अधिनायकवादको शुरुआत गरिदिनुभएको हो ।

उहाँले भदौ २४ गतेको मितिमा एक सर्कुलर जारी गर्दै निगमकाबारेमा आएका समाचारहरु सामाजिक सञ्जालमा शेयर गरेरमा कारबाही गरिने पत्राचार गर्नुभएको छ । उहाँले निगमको कर्मचारी सेवा शर्त विनियमावलीको दफा ७४(९)मा निगमको बारेमा कुनै पनि नकारात्मक टिकाटिप्पणी गर्न नपाउने व्यवस्था भएको र सो गरेमो नियमको दफा ९२ (क)को खण्ड ख अनुसार एक तह तल घटुवा गरिने चेतावनी दिनुभएको छ ।

आफूले २४ अर्बको खरिदमा नेपाल सरकारले बनाएको आर्थिक नियमावलीको ठाडो उल्लंघन गर्नुभएका महाप्रबन्धक कंशाकारलाई भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको मन्त्र जप्ने प्रधानमन्त्री , उहाँका मन्त्री र प्रशासनले कारवाही गर्न नसकेकोले निगममा उहाँको आदेश उल्लंघन गर्नेमाथि कारबाही गर्ने नैतिक हैसियत उहाँले गुमाई सक्नुभएको छ ।

लापरवाही चरमोत्कर्षमा

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्टिय ध्वजाबाहक निगमलाई महाप्रबन्धक कंशाकारले निजी कम्पनी जसरी संचालन गर्न थाल्नुभएको छ । गत आईतबार निगमको दुबाई उडनुपर्ने न्यारोबडी विमानको निर्धारित उडान नै रद्ध गरेर मलेसिया उडाइएको घट्नाले निगम व्यवसायिक उडान देशको प्रतिष्ठा अभिबृद्धि गर्न नभएर महाप्रबन्धक कंशाकारको इच्छापूर्तिको माध्यममा रुपान्तरित हुन पुगेको पुष्टी भएको छ ।

आइतबार राति दुबईको लागि उड्नु पर्ने ए३२० नाइन एन एकेडब्लु विमान उडान नै रद्ध गरेर मलेसिया पुगेपछि दुबई र नेपालमा धेरै यात्रुलाई निगमले होटलमा आफ्नै खर्चमा राख्नुपरेको छ ।

निगमले दुबाईको  निर्धारित  उडान रद्ध गरेर मलेसियाको लंकावी शहरमा भएको पाटा ट्राभल मार्ट २०१८ मा सहभागी हुने पत्रकारसहित २६जना नेपाली प्रतिनिधिहरु लिएर मलेसिया उडान गरेको थियो ।१ सय ५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कुल १०२ जना टिकट काटेका थिए ।

 

मलेशियामा नेपाली कामदार जान भिसा सिफारीश प्रक्रियामा समस्या उत्पन्न भएकोले अहिले मलेशिया जाने जहाजले यात्रु पाउदैनन् ।

यता पूर्वनिर्धारित तालिकाअनुसार विमान दुबई नउडेर मलेशियाका लागि उडेपछि दुवाई जाने प्रतिक्षामा रहेका २२० जना यात्रुहरु समस्यामा परेका थिए । आशा न्यूज(http://aashanews.com)का अनुसार, राती दुबईको उडान रद्द भएपछि ती मध्ये ६३ यात्रुलाई सिनामंगलको होटलमा राखिएको थियो । उता दुबईतर्फपनि यही विमानको टिकट काटेका १५० भन्दा बढी यात्रुलाई स्थानीय होटलमा राखियो ।

ताजा खबर