आरजू देउवाको महत्वाकांक्षाको उडान 

२०७५ भदौ २६ मंगलबार १६:५०:०० मा प्रकाशित

 आरजू देउवाले धनगढीमा तीन करोड रुपैयाँको घर किन्ने घोषणा गरिन् । वैना पनि गरिन् । घर किन्नुको उद्देश्य थियो, सांसद पदमा निर्वाचित हुने । तर, वैनाले काम गरेन । आरजूले चुनाव हारिन् । त्यसपछि विरलै मात्र उनी धनगढी पुगेकी छिन् । नजिकै कञ्चनपुरमा निर्मला पन्तको हत्या प्रकरणले देश तातिरहेको छ । आरजू कञ्चनपुर पनि पुगेकी छैनन् । 

आरजूको पुग्ने गन्तव्य अर्कै छ । त्यो गन्तव्य हो पार्टी केन्द्रको पदाधिकारी । पदाधिकारीमा पनि उनले ताकेको उपसभापति पद हो । 

प्रभावशाली आरजू

०५० सालमा राप्रपाको महाधिवेशन उद्घाटन समारोह काठमाडौंको दशरथ रंगशालामा थियो । मञ्चको व्यवस्थापनमा दुईजना फुर्तिला महिलाहरु सक्रिय थिए । एउटी थिइन् प्रतिभा राणा । अर्की थिइन् प्रतिभाकै छोरी आरजू राणा । आकर्षक व्यक्तित्वका धनी यी आमाछोरीसँग धेरै मानिस प्रभावित भए । दुवैको शालिन र भद्र प्रस्तुति हेर्न लायक थियो । 

महाधिवेशनमा आएका भारतीय नेताहरु याक एण्ड यति होटलमा बसेका थिए । ती नेताहरुसँग भेट्न मिडियाकर्मीहरु पुगे । मिडियासँग पहिलो डिल गर्ने व्यक्ति थिइन् आरजू । उनको रुपरंग मात्र आकर्षक थिएन, वौद्धिकता र डिलिङ शैली पनि आकर्षक थियो । नेपाली मिडियाले मजासँग आरजूलाई चिनेको त्यही बेला हो । 

त्यसपछि आरजू राप्रपाभित्रको राजनीतिक परिदृष्यबाट हराइन् । प्रतिभा भने नेतृका रुपमा उदाइन् । 

अचानक आरजूको चर्चाले देश तरंगित भयो । कारण थियो- गृहमन्त्री शेरबहादुर देउवासँग विवाह । देशका गृहमन्त्रीको विवाह चर्चित बन्ने नै    भयो । त्यसमाथि बेहुली पनि उत्ति नै प्रभावशाली, आरजू देउवा । 

विवाह चर्चित हुनुको तेस्रो कारण थियो, लमी । यो विवाहको लमी थिइन् नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लक । सामान्यतया राजदूत जस्तो उच्च कूटनीतिक पदको व्यक्तिले आफू राजदूत भएको मुलुकमा केटा र केटी मिलाइदिने, विवाह गराइदिने गर्दैनन् । जुलियाले शेरबहादुर र आरजूको हकमा कूटनीतिक सीमा भुलिन् । 

शेरबहादुर आरजू दम्पत्तिको पहिलो तथा एकमात्र सन्तान जयवीर देउवाको जन्म हुँदा यो दम्पत्ति प्रधानमन्त्री निवास वालुवाटारमा थियो । प्रधानमन्त्री बनेर पुत्रलाभ गर्ने ०७ सालपछिका पहिलो व्यक्ति बने शेरबहादुर देउवा । 

यो दम्पत्तिलाई भविष्यमा अन्य कीर्तिमानहरुले पनि प्रतिक्षा गरिरहेको थियो । तर, त्यसबेला यो कसैलाई थाहा हुने कुरा थिएन ।

राजनीतिमा आरजू

माइती खलकको राप्रपामा संलग्नताका कारण आरजू सामान्य रुपमा राजनीतिमा देखिएकी थिइन् तर राजनीतिमा कहिल्यै लागिनन् । उनी एनजीओ चलाउन व्यस्त हुन थालिन् । देउवा प्रधानमन्त्री हुँदा पनि उनले कुनै राजनीतिक संलग्नता देखाइनन् । पार्टी राजनीतिमा फिटिक्कै रुची देखाइनन् । उनी कसैसँग राजनीतिक गफगाफ समेत गर्दिनथिन् । 

राजनीतिक गफ समेत नगर्ने आरजूले भविष्यमा राजनीतिमा छलाङ हान्नेछिन् भन्ने कसैले कल्पना गरेका थिएनन् । तर, जसले आरजू र शेरबहादुरको विवाह जुलियाले जुराइदिएकी हुन् भन्ने बुझेका थिए, तिनले भने आरजू कुनै उपयुक्त मौकाको खोजीमा छिन् भन्ने ठहर गरेका थिए । 

राजा ज्ञानेन्द्रको पालामा कांग्रेस विभाजित भयो, शेरबहादुरले पार्टी फुटाए । त्यसपछि आरजू राजनीतिको मैदानमा खुलेआम देखा परिन् । लोकतान्त्रिक आन्दोलन सफल भएपछि पार्टी एकीकरण भयो । संविधानसभा चुनाव भयो । पार्टीमा गिरिजाप्रसाद कोइरालाको हाइहुकूम चल्थ्यो । पहिलो संविधानसभामा सभासद बनाउन देउवाले एक नम्बरमा पेस गरेको नाम थियो- आरजू देउवा । 

समानुपातिकबाट आरजू सभासद् बनिन् । दोस्रो संविधानसभामा पनि सभासद् नबन्ने कुरै थिएन, बनिन् । कुनै प्रधानमन्त्रीकी पत्नी सांसद बन्न सकेका थिएनन्, आरजूले यो कीर्तिमान पनि बनाइन् ।

महत्वाकांक्षाको उडान

पति शेरबहादुर पार्टी सभापति बने । प्रधानमन्त्री पनि बने । आरजूको महात्वाकांक्षाले उडान भर्न थाल्यो । विगतमा देउवाको काममा कुनै हस्तक्षेप नगर्ने आरजूको नयाँ रुप देखिन थाल्यो । पछिल्लो पटक देउवा प्रधानमन्त्री बन्दा वालुवाटारमा कसैको हाइहुकूम चल्थ्यो भने आरजूकै चल्थ्यो । आरजू बिना पात पनि नहल्लने अवस्था थियो । आरजूको ढोकाबाट पास भएको काममात्र देउवाले सदर गर्न थाले । 

पहिले आरजूले भनेको देउवाले मान्दैनन् भन्ने धेरैलाई लागेको थियो । त्यसैले आरजूले अतिरिक्त मानभाऊ पाउँदिनथिन् । तर, पछिल्लो पटक देउवा प्रधानमन्त्री बनेपछि आरजू शक्तिशाली भइन् । आरजूको वरिपरी एउटा ठूलो घेरा तयार भयो । त्यो घेराका मानिसहरुले आरजूलाई ‘कांग्रेसको भावी सभापति’, ‘नेपालको पहिलो महिला प्रधानमन्त्री’ भन्दै उकास्न थाले । 

परिणाम के भयो भने आरजूले समानुपातिक छाडेर प्रत्यक्षमा चुनाव लड्ने निर्णय गरिन् । जानकारहरु भन्छन्, आरजूलाई प्रत्यक्ष नलडेर समानुपातिकमा बस्न देउवाले धेरै नै सम्झाएका थिए तर आरजूले मानिनन् । ‘म उम्मेद्वार बने भनें ठाडै चुनाव जित्छु’ भन्ने अहंकारमा आरजू चुर्लुम्मै डुबिन् । 

उम्मेदवार बनिन् । तीन करोड रुपैयाँमा घर किन्ने घोषणा गरिन् । तर, चुनाव हारिन् ।

अब के ?

अब के ? यो प्रश्नको जवाफ आरजूका लागि सरल छ । अब पार्टी पदाधिकारी । सकभर उपसभापति । 

यही अवस्था रहिरह्यो भने आउँदो महाधिवेशनबाट शेरबहादुरको बहिर्गमन हुनेछ । त्यसपछि आरजूको राजनीतिक भाग्यको सूर्यास्त हुनसक्छ । आरजूसँग प्रतिभा र क्षमता छ, पठित र विद्धान पनि छिन् तर कहिले क्षमता देखाइनन् । विद्यावारिधी गरेकी छिन् तर उनको विद्धताको छनक संविधानसभा र संसदमा कसैले देख्न पाएनन् । त्यसैले क्षमता भएर पनि आरजूको छवि बन्न सकेन ।

‘ठाउँमै पुगेर’ क्षमता देखाउने सोचेकी होलिन् आरजूले । त्यो ठाउँ पार्टी पदाधिकारी पद हुनसक्छ । 

कांग्रेसभित्र अहिले गुटको राजनीति पेचिलो बन्न थालेको छ । चारवटा गुट स्पष्ट देखिएको छ । देउवाले कुन गुटसँग गठवन्धन गर्छन् भन्ने अहिले नै निक्र्याैल हुन सक्दैन । देउवाले सभापति पद छाडेर अन्य पदहरुमा आफ्ना गुटका लागि वार्गेनिङ गर्नुपर्छ भन्ने धारणा आरजूको वृत्तबाट आउन थालेको छ । रामचन्द्र पौडेल समूहमा आरजूको यो धारणा पुगिसकेको छ । उता शशांक कोइराला समूह पनि आरजूको नाममा खासै आपत्ति जनाइरहेको छैन तर सर्त छ देउवाको विदाई ।

मुख्य कुरा, आरजूलाई पदाधिकारी पदमा सेट गराउन देउवा स्वयं इच्छुक देखिएका छन् । यो आशयको कुरा उनले रामचन्द्र पौडेलसँग गरेको चर्चा कांग्रेसभित्र अहिले व्यापक छ । देउवाको रुची पनि आरजूलाई उपसभापति बनाउने छ भन्छन् कतिपय उनका भित्रियाहरु ।

तर, कांग्रेसभित्र जो कोही भन्छन्, महाधिवेशनमा चुनाव लडेर आरजू उपसभापति या कुनै पदाधिकारी बन्न सम्भव छैन । मनोनीत कोटा नै आरजूले ताक्नुपर्ने छ । 

प्रत्यक्ष निर्वाचित भएर सांसद बन्छु, मनोनीत सांसद बन्दिन भन्ने अडान आरजूले लिएकी थिइन् । महाधिवेशनमा पनि प्रत्यक्षबाटै जित्छु, मनोनीत पद खाँदिन भन्लिन् आरजूले ? कांग्रेसभित्र यो प्रश्नको जवाफ खोजिँदैछ ।


 

ताजा खबर