हात्ती गोठालालाई १० लाखको बीमा

२०७४ श्रावण ७ शनिबार १६:०६:०० मा प्रकाशित

रत्ननगर,चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जभित्र हात्तीमा काम गर्ने सबै हात्तीसारे हात्ती गोठाला का लागि पहिलो पटक बीमा गरिएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार कुनै घटना भइहालेमा १० लाख पाउने गरी उनीहरुको बीमा गरिएको हो । 

पहिलो पटक बीमा गरिएपछि निकुञ्जमा कार्यरत एक सय १९ जना हात्तीसारे खुसी भएका छन् । बीमाले हात्तीसारेलाई काममा लाग्न थप प्रेरणा मिल्ने विश्वास लिइएको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार एक सय ५५ जना दरबन्दी रहेकोमा अहिले एक सय १९ जना कार्यरत छन् । उनीहरुको प्रिमियम समेत ‘जुलोजिकल सोसाइटी अफ लण्डन’ ९जेडएसएल० को नेपाल कार्यालयले तिरेर बीमा गरिएको हो । 

जेडएसएल नेपालका कार्यक्रम व्यवस्थापक डा भगवानराज दाहालले उनीहरुका लागि लाग्ने रु एक लाख ८१ हजार ५५७ कार्यालयले बेहोरेको बताए।

चितवनसँगै नेपालका अन्य संरक्षित क्षेत्र पर्सा, बाँके बर्दिया, शुक्लाफाँटामा समेत बीमा भएको उनले बताए। 

हरेक वर्षको प्रिमियम उक्त संस्थाले नै तिरिदिने छ । यसअघि हात्तीसारेको कुनै घटना भएमा क्षतिपूर्ति वापत निकुञ्जले दुई लाखसम्म दिइने गरिएको थियो । अब उनीहरुको मृत्यु भएमा १० लाख पाइने र घाइते भएमा रु १० लाखसम्मको उपचार खर्च पाइने गरी प्रिमियम इन्सुरेन्स कम्पनी नेपालमा बीमा भएको निकुञ्जले जनाएको छ । 

निकुञ्जमा कुनै जंगली जनावरलाई नियन्त्रणमा लिन र वन एवम् वन्यजन्तुको सुरक्षा गस्तीमा हात्तीको प्रयोग गरिन्छ । त्यही हात्तीको रेखदेख र सञ्चालनका लागि यहाँ हात्तीसारे राखिएको छ । नेपालकै एकमात्र हात्ती प्रजनन् केन्द्र समेत चितवनको सौराहामा छ । रासस 

ताजा खबर