सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

२०७५ भदौ २३ शनिबार ०७:५६:०० मा प्रकाशित

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले ‘भूमे दर्पण’ पुस्तक सार्बजनिक गरेका छन् ।

उनको पुस्तकले रुकुम (पूर्व)को भूमे गाउँपालिकाको पर्यटकीय चिनारी दिएको छ । पुस्तकमा गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक युद्ध पर्यटन सम्बन्धी सामाग्री सचित्र पस्किएको छ । रंगीन कलेवरमा प्रकाशित पुस्तकमा पर्यटकीय नक्सा समेत समाबेश गरिएको   छ ।  

‘सिंगो गाउँपालिकालाई एकै झमटमा बुझ्न सजिलो होस् भनेर’, राना भन्छन्, ‘भूमे दर्पण लेखिएको हो । निःशुल्क वितरण गरिने पुस्तकबाट गुरिल्ला पदमार्गको प्रवद्र्धनमा टेवा पुग्नेछ ।’ 

पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । उसले पुस्तकसहित तीनवटा वृत्तचित्र निर्माण गरेको छ । हालै काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र पर्यटन मन्त्री रविन्द्र अधिकारीबाट पुस्तक र वृत्तचित्र सार्बजनिक गरिएको थियो ।  

भूमेलाई युद्ध पर्यटन गन्तव्यका रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष रामसुर बुढा बताउँछन् । ‘हाम्रो गाउँपालिका प्राकृतिक तथा साँस्कृतिक हिसाबले समेत समृद्ध छ तर’, बुढा भन्छन्, ‘मुलतः हामीले युद्ध पर्यटनमै जोड दिएका छौं ।’ 
 

ताजा खबर