चिनियाँ जहाज कसलाई भाडामा दिंदैछ निगम ?

२०७५ भदौ २२ शुक्रबार २१:१९:०० मा प्रकाशित

काठमाडौं, २२ भदौ । सहुलियत ऋणमा ४ वटा तथा उपहार स्वरुप पाएको चिनियाँ जहाजमा समस्याहरुको चाङ रहेको भन्दै नथाक्ने नेपाल वायुसेवा निगम (नेवानि) व्यवस्थापनले उक्त जहाजहरु निजी कम्पनीलाई भाडामा दिने प्रक्रिया थालेको छ ।

हाल राष्ट्रिय ध्वजाबाहकसँग २ वटा एमए–६० र ४ वटा हार्बिन वाई–१२ई जहाज गरि जम्मा ६ वटा चिनियाँ जहाज रहेको छ । एमए–६० मार्फत् भद्रपुर, विराटनगर र धनगढिको उडान भर्दै आएकोमा हालसम्म राष्ट्रिय ध्वजाबाहकले दुबै जहाज एकै पटक उडाएको छैन । त्यस्तै वाई–१२ई मार्फत् पोखरा, भैरहवा र सिमराको लागि अनियमित उडान गर्दै आएको छ । कम्तीमा एउटा एमए–६० र २ वटा वाई–१२ई जहाज सधैं ग्राउन्डेड गर्ने बानी लागेको नेवानि व्यवस्थापनले यि जहाजबाट घाटा भएको आँकडा देखाउने गरेको छ ।

निजी विमान कम्पनीहरुले आन्तरिक उडान मार्फत् कुस्त मुनाफा कमाइरहेको परिप्रेक्ष्यमा नेवानि भने यि जहाजको कारण मासिक साढे २ करोडको हाराहारी घाटामा रहेको तथ्य सार्वजनिक गरिरहेको छ ।

नेपालको हवाइ क्षेत्रमा उपस्थिती कायम गर्न  एमए–६० र हिमाली भेगमा हवाइ सुविधा दिने उद्देश्यले सरकारको पहलमा खरिद गरिएको उक्त वाई–१२ई जहाजहरु चलाएर ‘टाउको दुखाउनु’ भन्दा निजि कम्पनीलाई भाडामा दिन आतुर नेवानि व्यवस्थापनले जहाज अरुलाई चलाउन दिनको लागि अनौपचारिक पहल सुरु गरिसकेको जानकारी आएको छ ।

नेपालकै निजि विमान कम्पनीहरुले नै उक्त जहाजहरु संचालन गर्न खोजिरहेको बताइए पनि यती एयरलायन्सले नै उक्त जहाजहरु भाडा लिने प्रक्रियामा रहेको श्रोतले बताएको छ ।

यती एयरलायन्सको भगिनि संस्था तारा एयरले नेपालको हिमाली क्षेत्रमा नियमित उडान गर्र्दै आएको छ । उक्त चिनियाँ जहाजहरु लिइ यतीले बजार विस्तार गर्न खोजेको बताइएको छ । नेवानि भने चिनियाँ जहाज पन्छाएर नयाँ जहाज किन्ने दाउमा रहेको जानकारी प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय उडान तर्फ वाइडवडी जहाजहरु आएपछि नयाँ गन्तव्य अष्ट्रेलिया, जापान, यूरोप र अमेरिका उडान गरिने भन्ने गरेको भएपनि उक्त जहाजहरु पहिले नै उडान गरेकै क्षेत्रमा सिमित पारिरहेको छ ।

नयाँ जहाज किनेर तहल्कै मच्चाउने जसरी प्रचार गर्ने गरेपनि नेवानि व्यवस्थापनको ‘काम भन्दा कुरा बढि’ भएको कुरा कर्मचारीहरुले नै भन्ने गरेका छन् ।

 

ताजा खबर