जसले  साइबर सेना (ह्याकर्स) मार्फत  विश्वलाई चुनौति दिइरहेका छन्

२०७५ भदौ २२ शुक्रबार १०:४६:०० मा प्रकाशित

यो वर्ष अगष्टमा हरेक वर्ष जस्तै अमेरिकाको लस भेगसमा एक विशेष मेला लाग्यो । यो मेला थियो ह्याकर्सको । जसमा साइबर विज्ञदेखि  बच्चासम्म सबै उमेरका मानिहरुले आफ्नो ह्याकिङ क्षमता प्रदर्शन गरिरहेका थिए । लस भेगसमा हरेक वर्ष ह्याकर्सहरु भेला हुन्छन् । अमेरिकाका साइबर विज्ञहरु यो मेला हेरेर ह्याकर्सको दिमागले कसरी काम गर्छ भन्ने कुरा निगरानी गर्छन् । 

जतिबेला अमेरिकामा ह्याकर्सहरुको मेला भइरहेको थियो, त्यसैबेला ह्याकर्सले भारतका बैंकमा साइबर हमला गरेर करिब तीन करोड डलर रकम लुटेका थिए । विश्वभर सरकारी वेबसाइटदेखि निजी कम्पनीमा साइबर हमला भइरहन्छ । 
रुसी पत्रकार अन्द्रेइ भन्छन, सन २००८ मा जर्जियामा भएको साइबर हमलामा रुसका सरकारी ह्याकर्सको हात थियो । ह्याकर्स रुसका गुप्तर एजेन्सीका कर्मचारी थिए । रुसको सरकारले फ्रिलायन्स ह्यारमाथि खासै भरोसा गर्दैन, त्यसैले उनीहरुले साइबर सेना तयार गरेका छन् । जर्जियामा रुसका सरकारी साइबर सेनाले नै हमला गरेका थिए । 
वर्तमान अवस्थामा रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना रहेको बताइन्छ । रुसका साइबर सेनामाथि अमेरिकी राष्ट्रपति निर्वाचनमा समेत हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ । नेटो र पश्चिमी देशका मिडिया नेटवर्क पनि रुसका ह्याकर्सको निशानामा रहेको बताइन्छ । रुसको साइबर सेनालाई फेन्सी बियरको नाम दिइएको छ । यसलाई रुसको सैनिक गुप्तचरले चलाउने गर्छन् । यही साइबर सेनाकै माध्यमबाट रुस विश्वलाई आफू साइबर साम्राज्यको बादशाह भएको सन्देश दिइरहेको रुसी पत्रकार अन्द्रेइ बताउँछन् । 

साइबर सेना भएको मुलुकमा रुस एक्लो मुलुक भने होइन, इरान पनि ह्याकिङको संसारमा एउटा ठूलो खेलाडी मानिन्छ । सन १९९० को दशमा इन्टरनेटको सुरुवातसँगै इरानले आफ्ना नागरिकलाई साइबर हमलाका लागि तयार गर्न सुरु गरेको थियो । 
इरानमा सामाजिक सञ्जाल सरकार विरुद्ध आवाज उठाउने एउटा शक्तिशाली मञ्चका रुपमा प्रयोग हुन्छन् । इरान सरकारले सामाजिक सञ्जालमा अनुगमन गरिरहेको हुन्छ । इरानमा ह्याकर्सको प्रयोग सरकारले आफू विरुद्ध बोल्नेहरुका विरुद्ध प्रयोग गर्छ । 

सन २००९ मा जब इरानमा सरकार विरोधी आन्दोलन भइरहेको थियो, सरकारले ह्यासर्कको माध्यमबाट सरकारी विरोधी सामाजिक सञ्जालका एकाउन्ट ह्याक गरेर आन्दोलनमा कसको हात छ भन्ने कुरा पत्ता लगाउँदै उनीहरुलाई जेल चलान गरेको थियो । ह्याकर्सहरुकै माध्यमबाट ईरानले आफू विरुद्ध भइरहेको आन्दोलनलाई शान्त बनाउन सफल भएको थियो । इरानको साइबर सेनाले सामाजिक सञ्जालमा नियन्त्रण गर्न सक्ने क्षमता राख्छ । जानकारहरुका अनुसार इरानको साइबर सेना त्यहाँको रिभुलेसनरी गार्डसहरुले चलाउने गर्छन् । 

अमेरिकी थिंक ट्यांक कार्नेगी एन्डोमेन्टका लागि काम गर्ने करीम भन्छन्, ईरान तेस्रो दर्जाको साइबर शक्ति हो । अमेरिका, रुस, चीन र इजरायल  साइबर शक्तिको हिसाबले पहिलो दर्जामा पर्छन् । युरोपेली मुलुकका साइबर सेना दोस्रो दर्जामा पर्छन् । इरान प्रायः साइबर हमलाको निशानामा परिरहन्छ । विशेष गरी अमेरिका र इजरायलबाट ईरानमाथि साइबर हमला भइरहन्छ । सन २०१२ मा ह्याकर्सले इरानको तेल उद्योगमा साइबर हमला गरेर हार्ड ड्राइभबाट डाटा उडाइदिएका थिए । यसमा पनि अमेरिका वा इजरायलको संलग्नता भएको आशंका गरिएको थियो ।

ईरानले यसको बदलामा तीन महिनापछि आफ्नो दुश्मन सउदी अरेबीयामाथि साइबर हमला गरेर तीस हजार कम्युटरका डाटा उडाइदिएका थिए । 
उत्तर कोरियामा सरकारी सेना अन्तर्गत साइबर ह्याकर्स सेना नै रहेका छन् । उत्तर कोरियाको गुप्तरच एजेन्सी आरजीबीले ह्याकर्स सेनालाई चलाउने काम गर्छ ।  उत्तर कोरियामा १३ देखि १४ वर्षको उमेरमा नै बच्चाहरुलाई ह्याकिङ सम्बन्धी तालिम दिइन्छ । स्कुलबाट प्रतिभाशाली बच्चाहरुलाई छनोट गरेर ह्याकिङ खुफिया सेनामा भर्ना गरिन्छ । 
गणित र इन्जिनियरिङमा उत्कृष्ट विद्यार्थीलाई सफ्टवेर इन्जिनियरिङ तालिम दिइन्छ । उनीहरु या ह्याकर बन्छन् या सफ्टवेर इन्जिनियर । उत्तर कोरियाले आफ्ना अधिकांश विद्यार्थीहरुलाई चीन वा अन्य एशियाली मुलुकमा आइटी पढाउन पठाउने गर्छ । यसको उद्देश्य आफ्नो विद्यार्थीले साइबर विश्वलाई राम्रोसँग बुझ्न सकोस भन्ने मनसाय रहेको जानकारहरु बताउँछन् । 
अध्ययन पुरा गरेपछि अधिकांश विद्यार्थी चीन वा अन्य मुलुकमै बसेर ह्याकिङ सम्बन्धी काम गर्छन् । उत्तर कोरियाली ह्याकर अन्य देशमा बसेर पैसा कमाउँदै आफ्नो देश पठाउने गर्छन् ।  उत्तर कोरियाली ह्याकर्सहरुले ८० हजार देखि एक लाख डलर लिएर फ्रिलाइन्स ह्याकिङको काम गर्छन् । उनीहरुको निशानामा क्रेडिट कार्ड तथा बैंक खाता हुने गर्छन् । जानकारहरुका अनुसार करिब दुई देखि तीन हजार उत्तर कोरियाली ह्याकर फ्रिलायन्सका काम गर्छन् । बीबीसीबाट अनुदित ।


 

ताजा खबर