फेसबुकबाटै सहयोग जुटाएर खेलमैदान निर्माण

२०७४ बैशाख ११ सोमबार ०९:२९:०० मा प्रकाशित

म्याग्दी, ११ वैशाख । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् ।

बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।

मोना कतारका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक सङ्कलन समितिले सङ्कलन गरेको रु चार लाख १५ हजारमध्ये खेलमैदानको ढलान र घेराबारमा रु चार लाख १० हजार खर्च भएको समितिले जनाएको छ ।

भलिबल खेलमार्फत क्लबले जिल्ला र राष्ट्रिय रुपमै पहिचान बनाउन सफल भए पनि व्यवस्थित खेलमैदानको अभाव भएकाले प्रवासमा रहेका स्थानीयवासीबाटै सहयोग जुटाएर खेलमैदानको मर्मत गरिएको आर्थिक सङ्कलन अभियानका संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रवासमा रहेका स्थानीय युवाको सक्रियतामा सहयोग जुटाएर भलिबल कोर्टबाहेकको अन्य चारतर्फको खेलमैदानलाई ढलानसहित स्तरवृद्धि गर्दै घेराबारसमेत गरिएको क्लबका अध्यक्ष चिरञ्जीवी सुवेदीले जानकारी दिए।

खेलमैदानको पुनःनिर्माण भएपछि खेलाडीलाई खेलकुदका गतिविधि गर्न सहज भएको छ भने स्थानीय सल्लेरी नरवृद्धि आधारभूत विद्यालयका विद्यार्थीलाई समेत खेल विकासको लागि सहजता मिलेको छ । रासस

ताजा खबर