साख फर्काउँदै सौर्य एयरलायन्स, नेपालगञ्जमा पनि उडान सुरु

२०७५ भदौ १८ सोमबार ११:३३:०० मा प्रकाशित

काठमाडौं, १८ भदौ । आर्थिक समस्याका कारण लामो समयदेखि बन्द रहेको सौर्य एयरलायन्सको केहि फ्लाइट भदौ ४ देखि पुनः संचालन गरेको छ ।

सौर्य एयरलायन्सले भैरहवा र विराटनगरको फ्लाइट उक्त दिन पुनः संचालन गरेको थियो । त्यस्तै आइतबारदेखि नेपालगञ्जमा पनि उडान थालेको सौर्यले पहिलो दिननै कुल सिट क्षमताको ९० प्रतिशत यात्रु पाएको छ ।

यो सँगै दशैंको सिजनमा सौर्य यात्रुलाई फ्लाइटहरु बढाएर सुविधा दिने सम्भावना पनि बढेको छ ।

नेपालको आन्तरिक उडानमा सौर्य एयरलायन्स र श्री एयरलायन्सको आगमन पूर्व दशैं तथा तिहार जस्तो प्रमुख चाडमा हवाइजहाजको टिकट नपाइने, पाएपनि चर्को मूल्य तिर्नुपर्ने जस्तो बाध्यता थियो । यसको विपरित अघिल्लो वर्ष यि दुबै नयाँ एयरलायन्सको आगमनले यात्रुलाई विगत्को तुलनामा सहज तथा सुपथ भएको थियो ।

हाल सौर्यले दशैं अघि विगत्मा संचालन गरिरहेको क्षेत्रमा जहाज उडाउने क्रम शुरु गरेसँगै यो वर्ष पनि यात्रुलाई केहि सहज हुने अनुमान गरिएको छ ।

पछिल्लो समयमा आर्थिक अवस्था बिग्रदै गएपछि पुरानो व्यवस्थापनले सौर्यलाई बिक्रि गर्ने प्रक्रिया थालेको थियो । लामो वार्तापछि गैरआवासीय नेपाली (एनआरएन) श्याम अधिकारीसहितको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयरको व्यवस्थापन जिम्मा लिइ सौर्य एयर सञ्चालन गर्ने टुङ्गो लागेको थियो ।

सौर्यका वर्तमान अध्यक्ष दीपक पोखरेलले बिक्रि गरेको सौर्यको नयाँ समूहले बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड सकारेको थियो ।
सौर्यको नयाँ व्यवस्थापनले दशैं अगाडि नै थप २ वटा जहाज ल्याएर कुल ४ वटा जहाजले आन्तरिक तथा भारतका विभिन्न शहरमा उडान भर्ने लक्ष्य लिएको छ । यसले यात्रुलाई हवाइजहाजमा नयाँ विकल्प दिने विश्वास गरिएको छ ।

ताजा खबर