इटहरी र धरानका युवतीलाई प्रदीपले बाँडे गुलाबको फूल

२०७५ भदौ १८ सोमबार ११:०३:०० मा प्रकाशित

धरान । करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागी आउँदैछौं भन्ने जानकारी पाएर बिराटनगरबाट दिउँसो ११ बजेनै आएकी अस्मिता नाम गरेकी एक युवतीले प्रदीपलाई हेर्नकै लागी तीनघण्टा कुरिन् । दुईबजे कन्सर्ट सुरु भएपछि प्रदीपले पनि स्टेजबाटै धेरै युवतीलाई गुलाबको फूल बाँडे । जसमध्ये अस्मिताले पनि गुलाबको फूल पाइन् ।

चलचित्र ‘रोज’ टिम यतिखेर मोफसलको प्रमोशनल टुरमा छ । नायक प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिमले आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गरे । इटहरी पछि साँझ ५ बजे धरानको भानुचोकमा कन्सर्ट सम्पन्न भएको थियो । नायक प्रदीपकै लागी भेट्न आएका युवा युवतीहरुलाई प्रदीपले स्टेजबाटै थुप्रै गुलाबको फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए । प्रदीपले लगातार केहिदिन देखी देशका बिभिन्न ठाउँमा गरिएको कन्सर्ट भन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए । ‘म यो भन्दा अघिका चलचित्रका लागी पनि यसैगरी कन्सर्टका लाग िआएको थिए, त्यतिखेर पनि दर्शकले निकै ठुलो साथ दिनुभएको थियो, आजपनि त्यो भन्दा ठुलो साथ पाएँ’ प्रदीपले भने । यस्तै उनले थुप्रै फ्यानहरुसँग तस्बिर खिचाएका थिए ।

चलचित्रकी नायिका मिरुना र परमिताले पनि चलचित्रको बिषयमा जानकारी गराएका थिए । धरान पुग्दा नायिका मिरुनालाई उनका फ्यानले बिशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्ना आएका थिए । मिरुनाले धरानको स्टेजबाट म धरानकी चेली भनिरहँदा धरानबासीको हुटिङ खुबै सुनिन्थ्यो । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले चलचित्र ‘रोज’को ‘फूल हैन’बोलको गीत गाउँदा दर्शक मज्जैले नाँचेका थिए । यस्तै हाँस्य कलाकार दिनेश काफ्ले र सन्ध्या थापाले कार्यक्रम सञ्चालन गरेका थिए । दिनेशका कमेडी सम्वादले दर्शकले थप मनोरञ्जन लिइरहेका थिए ।

चलचित्र युनिट आज (सोमबार) झापा पुगेको छ । आज झापाका दमक र बिर्तामोडमा कन्सर्ट सकेलगत्तै मोफसलको कन्सर्ट सकिने चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगरले जानकारी दिए । बुद्धिका अनुसार काठमाडौंमा मंगलबार दुईठाउँमा कन्सर्ट गरेसँगै देशब्यापी कन्सर्ट सकिनेछ । उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको यो चलचित्र यहि भदौको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । 

ताजा खबर