माओवादी र सुरक्षाकर्मीको चेपुवामा पर्दाको डरलाग्दो अनुभव 

२०७५ भदौ १७ आइतबार १३:२३:०० मा प्रकाशित

हाम्रो देश नेपालमा दुई ठूला भनेर चिनिएका कम्युनिष्ट पार्टी थिए अनि उनीहरु एक भैसके अरे । उनीहरु नेपाली पात्रो अनुसार २०७५ जेष्ठ ३ गते (सन् २०१८ मे १७) एक भएर महान काम गरेका छन् अरे । हो हो महान काम त झापा विद्रोहका रुपमा परिचित कार्यक्रम गर्नु भएका पार्टी र अर्को करिब करिब १० वर्षसम्म खुकुरी, भाला, बन्दुक, बारुद, ग्रिनेट, बम आदि बोकेर नेपालका अधिकांश ग्रामिण भेगमा पहुँच राख्ने, गर्जन ठूलो भएको पार्टीवीच अव उप्रान्त एकै पार्टी भएछन् । आज सुन्ने गरेका छौं कि यिनिहरुको सिद्धान्त पनि पहिल्यै मिल्थ्यो अरे अनि यिनका बिचार त झनै समान थियो अरे । लक्ष्य त भन्नै पर्दैन थियो अरे, दुबै कम्युनिष्ट भएर एक भएका अरे धेरै नै हसाउँछन् यिनका मान्छेहरूले पनि । 

आज एक मेरो फरक अनुभव मलाई चिन्ने र मेरो लेख हेर्ने सबैजनालाई सुनाउन मन लागेर उजगार गर्दै छु । विदेशमा बसेर अध्ययन गरेको भन्ने बहाना मसँग थियो । त्यो वर्ष नेपाल आवत जावतका लागि पैसा पनि कमाईसकेकोले गर्दा ४ वर्ष विदेश बसेर स्वदेश फर्कने अवस्था त्यो पनि दशैंं मनाउने अवसर भनौंकि घरमा बुढी र छोरो त्यसैगरी बाबा आमासँग पनि भेटघाट हुन्छ भन्ने सोचेर उताको देशमा उपहारको रुपमा ससाना चिज चाहिं नयाँ र अधिकांश पुरानो सामान हालेर ठूलै सुटकेस बोकेर आएको थिएँ । थानकोट कट्ने बेलाबाटनै यता नेपालका सैनिक तथा प्रहरी भन्ने मानव जस्तै देखिनेहरुले त्यो सुटकेस खोलेर लथालिङ्ग पारिसकेका थिए । मलाई पनि केरकार गर्नु पर्छ भनेर मसँग भएको आईडी कार्ड पासपोर्ट टिकट जाँचे पश्चात थानकोटमा नै रोक्न पर्ने कारण नभएकाले गोर्खा जान दिने भन्ने निर्णय गरेका त होलान नी । लागियो आफू त गोर्खातिर । 

दशैं अवधिभर सरकार पक्ष र अर्का महान युद्ध गर्ने पक्षवीच युद्ध विराम भएको भन्ने हल्ला सुनेको थिएँ । उसो भए ठीकै छ भन्ने लागेको थियो । मेरी आमाले महान युद्धगर्ने पक्षलाई खाना बनाएर खुवाउने काम गरेका दिनहरु प्रशसस्तै छ भन्ने थाहा थियो । त्यसैगरि महान युद्ध गर्ने सापहरु हाम्रो परिवार बस्ने घरमा बन्दुक सहित सुत्दा मेरो बुबा भने नजिकैको खोल्सामा गएर ती जङ्गली सापहरु आराम गर्नुपर्ने वातावरण मिलाउनु पथ्यो अरे । कुन भाई चाहिं सेन्ट्रि बस्नु पर्ने अरे कतैबाट शत्रु आएमा मेरो बुबाले ग्रिनेड पड्काएर शत्रुलाई परास्थ गर्नुपर्ने जिम्मेवारी थियो भन्नु हुन्थ्यो । 
बुबाले यो ग्रिनेट बोकेको घटनाको बारेमा यसरी सुनाउनु भएको थियो । बाबु हो मलाई यसो गर्न आउँदैन भन्दा ओई बुढा यसरी पड्का भन्थे अरे । कति राम्रो भद्र व्यवहार हो त्यो । अन्य के के बोक्न लगाए ती महान क्रान्ति गर्नेले त्यस अवस्थाको बारेमा सोध्नका लागि आज बुबा हामीसँग हुनुहुन्न । ती महान युद्ध तथा परिवर्तनका लागि हिंडेकाहरुले यदि शत्रु आएर तिन्लाई प्रतिकार नगरेमा बुबालाई झनै नराम्रो हुन सक्छ भन्थे अरे ।

कस्तो राम्रो संस्कार सिकाएर बनाएका ती महान युद्ध गर्ने मानव जस्तै देखिने जातीहरु को रहेछन आजसम्म कुनै पनि कोणबाट पनि सहज रुपमा लिन सकेको छैन । भोलि पल्ट ती जङ्गली खाले हिंडेपश्चात अर्का मानवको जस्तै रुप भएकाहरु गाउँ पसेर उदण्ड मच्चाउँथे अरे बुबालाई धेरै दिननै यता उता लिएर जासुस गर्न पनि लगाए अरे । गरिनस् भने सिधै माथितिर जान्छस् भनेर धेरै ठूलो पिडा दिए भन्नु हुन्थ्यो । 

दशैंको अष्टमीको दिन विहान ९ वजेतिर घरमा खसी काटेर त्यसको १, २ परिकार खाएर दिउँसो ३ वजेतिर घरको आँगनमा छोरासँग खेलिरहेको थिएँ । त्यतिनै बेला आर्मी भन्ने जातका २ जना केटा र पुलिस भन्ने मानिस नै जस्तो देखिने ३ जना अनि १ जना जासुसको टीम घर नजिकैको गल्लिमा हिंडदै थिए र हाम्रै घर नजिकै आए पछि मतिर फर्केर ओई विष्णे दमाईको घर चिनेको छस् भनेर सोधे । मेरो जवाफ विष्णे दमाई चाहिं होईन सार्की दमाई चाहिं चिनेको छु भनेर जवाफ फर्काएँ । सानो छँदा लुगा सिलाउनका लागि सार्कि दमाईको घरमा चाहिं गएको थिएँ । त्यसपछि त्यो हल्लार अरे उस्ले उठा सालेलाई भनेर सिधै गल्लीमा झारेर हल्लारले नै घुच्चुकमा (पछाडी टाउकोमुनी) २ मुक्का हान्यो र उस्को औंलामा औंठी पनि थियो जस्तो लाग्छ । दुई मुक्का पाए पश्चात झिलिक्क भएको थियो त्यस पश्चात यस्लाई लिएर हिँड केटा हो भन्यो म पनि विना चप्पल लागें दमाईको घरतिर । अगाडि २ जना मानवरुपी शैनिकका केटा र पछाडी ३ जना मानवरुपी पुलीसले मलाई वीचमा राखेर दमाई गाउँतिर लिएर हिंडे ।

अगाडीका २ केटाको पछि पछि लागेर २५ मिनेट हिंडेपछि म सार्की दमाईको घरमा पुगें र विष्णु दमाईको घर कता हो भनेर सोधें । उस्ले त्यहि गाउँको तल तिर पर्ने उस्को घर देखाईदियो र अन्त्यमा विष्णु दमाईको घरमा पुगियो । विष्णे दमाई पनि दङ्ग पर्दै थियो र त्यहाँ पुग्ने वित्तिकै त्यो हल्लारले ओई बोका लिएर किन नआएको भनेर विष्णे दमाईको गालामा २ चड्कन हान्यो र मलाई मुख छोडेर मा... चलाई बाईमात्रा लगाएर गाली गर्दै मेरो छातीमा दुई मुक्का हान्यो । म भने विष्णे दमाईको आँगनमा लडें । बुबा पनि आत्तिंदै हुनुहुन्थ्यो, मेरि बुढी पनि अव बुढालाई मार्ने भए भन्दै हस्याङ फस्याङ गर्दै त्यहिं आई पुगेकी रहिछन् । ती मानव जस्तै देखिने पागलहरु हिंडने बाटोमा कोहि हिंडन हुँदैनथ्यो अरे । विष्णे दमाई भने बोका लिएर २ जना केटाको पछि र अरु ३ जनाको अगाडी लागेर हिंड्यो । म भने उनिहरु सबैको पछि लागेर फर्किएँ । बुबा पनि सँगै हुनुहुन्थ्यो, म केहि समय अगाडी हल्लारको मुक्काले अमिलो पाराले दुखिरहेको थियो । अव भने पछि लागेर गएमा फेरी ठोक्छन् होला यति पिटाईले नै पिडा दिएको छ भन्ने सोच्दै बोका लिएर गएको बाटो छोडेर तल्लो बाटो तिर लागें ।  २ दिन पछि काठमाण्डौ फर्किएर विदेश जानु पर्ने टिकट थियो । त्यस दिन पश्चात आजसम्म तिनिहरुसँग भेट भएको छैन् । 

ओई मानवको जस्तै अनुहार भएका जङ्गलीहरु हो ! तिमीहरुको त्यो पार्टीका महान क्रान्तिका लागि हाम्रो परिवारको सदस्यको त यति धेरै योगदान रहेको छ । मत जिउंँदै छु मेरो बुबा आफ्नो स्वास्थ्यको कारणले हामीमाझ हुनुहुन्न । हाम्रै गाउँका ३ जना आफन्तलाई चाहिं मानवरुपी प्रहरी र आर्मीले छातिमा ताकेर सिध्याईदिए । मेरा दाई, भाईहरुले जेल­नेलको सजाय धेरै नै भोगेको मलाई जानकारी छ । मेरो माईलो मामालाई पनि उनिहरुले नै सिध्याईदिए । मेरो त्यो विगतको एक दिनले त मलाई आजसम्म नमज्जा लागि रहेको छ भने मेरो भन्दा कैयौं गुणा वर्षौं कष्ट गर्नु भएकाहरु आज कोहि भने खाडी र मलेसियामा जिविकोपार्जनका लागि संघर्ष गरिरहेका छन् भन्ने सुनेकोछु । कोही भने अपाङ्ग भएर दयनीय अवस्थामा जिविकोपार्जन गरिरहेका छन् भन्ने सुनेको छु । तपार्इंहरुको कष्ट, योगदान रगत र पसिना केका लागि थियो त्यो भने मलाई थाहा छैन, तर आज तपाईंको कठोर योगदानले धेरैनै महान विचारधारा लिएका महासयहरु रमाउँदै हिंडिरहेका छन् । तपाईंहरुको अवस्था हेर्दा मलाई भने नमज्जा लागेको छ तर गर्न सक्ने भने केहि छैन । 

आज ती दुई कम्युनिष्ट नाम भएका, सुन्दै डरलाग्दा, पार्टी एक भैसकेका छन् र सिमित मानिस तथा तिन्का नजिकका अनुचरहरुले र अन्य सामाजिक आचरण ठीक नभएकाहरुले त फाईदा लिईसके । यहि परिपाटी अझै ५ वर्ष जति नै रहन्छ जस्तो लागेको छ । बाँकी जो आजका मितिसम्म अन्य पेशा लिनु भएको छैन र जसले सहन सक्ने समाथ्र्य राख्नुहुन्छ, अव भने गाउँघरमा गएर भेडाबाख्रा पालेर बस्नुहास्, कोहिले भने खेतिपाती गर्नुहोस् । परिवारका सदस्यलाई अवका दिनमा चाहिं खुशी दिनुहोस् । नत कहिल्यै राजनीतिको बारेमा अध्ययन गर्नुभएको, न आफ्नो स्वविवेकले निर्णय गर्ने क्षमता नै थियो तथापि अर्काको लहलहैमा लागेर आफ्नो र परिवारको सदस्यको जिन्दगि भने बर्बाद पारिदिनु भयो । 
 

ताजा खबर